जोसेफ शाहीकाठमाडौं । भनिन्छ, गीत–संगीतको कुनै भाषा हुँदैन । यदि भाषा हुँदो हो त कोरियन भाषामा गाइएको ‘गङ्गनम स्टाइल’ नेपालमा यतिधेरै रुचाइने थिएन । र, नेपाली भाषामा गाइएको ‘रेशम फिरिरी’ विदेशी पर्यटकले गाउँदै हिँड्ने थियनन् अनि ‘कुटुम्ब’का धुनहरु सुनेर देश विदेशमा लाखौँ मन पुलकित हुने थिएनन् । यस्तो अद्भुत शक्ति भएर नै होला संगीतलाई ईश्वरको वरदान भनिएको, मनोरञ्जनको साझा स्रोत मानिएको । नेपालको सन्दर्भमा लोक, देउडा, आधुनिक, पप, रक–मेटल विधाका गीत संगीत प्रिय छन् । पछिल्लो समय कुनै निश्चित विधा भन्दा अंकगणितिय हिसाबमा लोक संगीत फ्युजन गरी तयार पारिएका गीत सर्वाधिक रुचाइएका छन् ।सन् २०१८ मा विभिन्न शैलीका गीत सार्वजनिक भए । तीमध्ये लोकशैलीका गीत बढी जनजिब्रोमा बस्न सफल भएको देखिएको छ ।१. लै लै...यो गीत भर्खरै रिलिज गरिएको चलचित्र ‘प्रसाद’को हो । सुनिरहुँ लाग्ने यो कालजयी गीतको संगीत सुवास भुषालले गरेका हुन् । उदयराज पौडेलको संगीत संयोजन र गणेश शाहीको शब्द लेखनले यो गीत थप सशक्त बनेको छ । गीतकारले लखेका र संगीतकारले संगीत भरेका प्रत्येक शब्दको भाव निचोरिने गरी केतनले नगाइदिएको भए यो गीत छोटो समयमै लोकप्रियताको शिखर सायदै चुम्थ्यो होला । यो गीतका गायक केतन क्षेत्रीको नाम झट्ट सुन्दा तपाईं हामी निकै कमले मात्र चिन्दछौँ होला तर यो आवाजले निकै ठूलो सम्भावना बोकेको छ । गीतको लिरिकल भिडियोलाई नै हालसम्म युट्युबमा झण्डै ९३ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् ।
२. सालको पातको टपरी हुने...सम्भवतः यो वर्ष सार्वजनिक लोक गीतमध्ये सबैभन्दा बढी रुचाइएको गीत हो । लोक गीतका पारखीबीच मात्र होइन आधुनिक र अन्य विधाका गीतका दर्शक स्रोताको पनि मन जितेको छ यो गीतले । नवराज पन्तले लेखेका शब्दहरु साँच्चिकै लोक संस्कृतिका दृष्टिले पनि निकै अर्थपूर्ण लाग्छन । बसन्त थापाको संगीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरले गीतलाई जीवन दिएको छ । आशीष अविरलको संगीत संयोजनले रहेको यो गीतको भिडियो पनी वास्तवमै तारिफ गर्न योग्य बनेको छ । यो गीतको आगमनपछि लोकगीत संगीतको जगेर्नामा एउटा इँटा नै थपिएको महसुस भएको छ । छोटो समयमै यो गीतलाई युट्युबमा १ करोड ८७ लाख ६७ हजार भन्दा बढी हेरिएकोक छ ।
३. जाउला रेलैमा...समाजमा व्याप्त जातीय विभेदविरुद्ध कलात्मक शैलीमा प्रस्तुत गरिएको गीत निकै मार्मिक छ । पछिल्लो पुस्ताका निकै लोकप्रिय गायक कमल खत्रीले आफ्नै शब्द, संगीतमा मन छुने गरी गाएका मात्रै छैनन्, अभिनयसमेत गरेका छन् । रिकेश गुरुङको संगीत संयोजन रहेको यो गीत कमल खत्रीको नितान्त फरक शैलीको गीत हो । यो गीतले जातीय छुवाछुतसँग जोडिएका अन्धविश्वास तोड्न निकै ठूलो भूमिका खेलेको छ । हालसम्म यो गीतलाई यूट्यूवमा ५२ लाख ६६ हजार पटक हेरिएको छ ।
४. पहिलो नम्बरमा...चलचित्र ‘छक्का पञ्जा–३’ मा समाहित यो गीत पनी निकै रमाइलो छ । वरिष्ठ गीतकार राजेन्द्र थापाले लेखेका शब्दलाई न्यायपूर्ण संगीत भरेका छन् चर्चित संगीतकार दीपक शर्माले । ‘छक्का पञ्जा–२’ मा पनि दीपकद्वारा सगीतवद्ध गीत ‘देखन चम्पा सर्वाधिक रुचाइएको थियो । उदयराज पौडेलको संगीत संयोजनमा डेबिड शंकर र विन्दु परियारको गायकीले गीत थप मार्मिक बनेको छ । यो गीतलाई हालसम्म युट्युबमा २ करोड ९५ लाख भन्दा बढी हेरिएको छ । यसअघि पनि छक्का पञ्जा–१ र २ मा रहेको सुर्केथैली खै, पूर्व पश्चिम रेललागायतका लोकशैलीका गीत जनजिब्रोमा बस्न सफल छन् ।
५.गोजीमा दाम छैन....लेखन र गायकीका हिसाबले चलचित्र ‘चंगा चेट’को यो गीतमा लोक संस्कृतिभित्रको पनि मौलिकता भेटिन्छ । मौलिकतालाई समेटेर यो गीतमा अहिलेका पुस्ताको पैसाकेन्द्रित सोचलाई बडो रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । चर्चित संगीतकार राजनराज शिवाकोटीले भरेको संगीतले हरिहर तिमल्सिनाले कोरेका मौलिक शब्द थप सिंगारिएका छन् । राजन इशानको संगीत संयोजन र राजनराज शिवाकोटी, मेलिना राई, गृश्मा शिवाकोटीको गायकीमा गीत निकै कर्णप्रिय छ । युट्युबमा २ करोड ९७ लाख ५९ हजार भन्दा बढी दर्शकहरुले हेरेका छन् । राजनराज शिवाकोटी मौलिक शब्द र लोक लयलाई टिपेर संगीत भर्ने सवालमा निकै माहिर ठहरिएका संगीतकार हुन् ।
६. बोल माया...यो गीतको भिडियो शुरुदेखि अन्तिमसम्म हेर्ने सबैका आँखा सायद ओभानो रहेनन् होला । वैदशिक रोजगारीको पीडा प्रस्तुत गरिएको यो गीत निकै हृदयविदारक छ । प्रकाश सपुतले लखेका शब्द निकै यथार्थपरक लाग्छन्, संगीत पनि उतिकै ओजस्वी छ । वरिष्ठ लोकगायक नारायण रायमाझी र शान्तिश्री परियारको स्वरले शब्दको भाव मजैले पोखिएको छ । आफैँमा एउटा फिल्म जस्तै लाग्ने यो गीतको संगीत संयोजन कमल सौरागले गरेका हुन् । यो गीतको शब्द, संगीत मात्र होइन, अभिनय र भिडियो निर्देशनसमेत प्रकाश आफैँले गरेका हुन् । सर्जक प्रकाश सपुत यो गीतपछि नेपाली लोक संगीतका सपुत नै सावित भए । यो गीतको भिडियो ९६ लाख ६५ हजार भन्दा बढी हेरिएको छ युट्युबमा ।
७. मन मगन...यो गीतबाट चर्चित गायक दीपक बज्राचार्यको धमाकादार ‘कम ब्याक’ भयो भन्दा फरक नपर्ला । दर्जनौँ चर्चित गीतका गायक दीपक बज्राचार्यलाई यो गीतको आगमनले थप व्यस्त बनायो । रिक्की शाक्यले लखेका शब्दमा दीपक बज्राचार्य आफैँले संगीत भरेका छन् भने संगीत संयोजन बज्राचार्यकै रिदम ब्याण्डले गरेका हो । निकै जोशिलो प्रकृतिको यो गीत बज्राचार्यका सार्वजनिक गीतभन्दा पृथक छ । मन मगनको भिडियोलाई हालसम्म १ करोड १५ लाख ७१ हजार भन्दा बढी हेरिएको छ युट्युबमा । रमाइलो त के छ भने, यो गीतको कभर भिडियोले राहुल शाहको डान्स क्र्यूलाई स्थापित गरिदियो ।
८. तिमी रोएको पल...चलिचित्र ‘ऐश्वर्या’को यो गीत निकै मर्मस्पर्शी छ । प्रेम समर्पणमा आधारित भएर आफैँ लेखेका शब्दलाई चर्चित संगीतकार अर्जुन पोखरेलले मनछुने संगीत भरेका छन् । सुगम पोखरेल र अन्जु पन्तको युगल गायनले यो गीतलाई जिवन दिएको छ । व्यावसायिक रुपमा औसत चलचित्र ‘ऐश्वर्या’को यो गीत भने हिटको सूचीमा दर्ता भयो । अधिकांश लोकशैलीका गीत चलचित्रमा बढी रुचाइएका बेला यो सुगम शैलीको गीत चर्चाको शिखरमा पुग्यो । गीतको भिडियो युट्युबमा २ करोड ३६ लाख ५२ हजार भन्दा बढी हेरिएको छ ।
९. पिरिम नलाउने....यो गीत छोटो समयमै अधिक रुचाइएको गीत हो । चर्चित संगीतकार दीपश शर्माले आफैँ कोरेका मौलिक शब्दमा लोक लय मिसाएर मन छुने संगीत भरेका छन् । नरेन्द्र वियोगीको संगीत संयोजनमा आशीष गौतम र मेलिना राईको गायकी निकै खुलेको छ । अधिकांश चलचित्रका गीत बढी रुचाइएका बेला यो सोलो गीत मनपराउनेको संख्या युट्युबमा अस्वाभाविक ढंगले बढिरहेको छ । युट्युवमा भिडियो १ करोड ८६ लाख ४४ हजार भन्दा बढी हेरिएको छ ।
१०. नाच फिरिरी...यो गीतले युवा गायक महेश काफ्लेलाई संगीत क्षेत्रमा स्थापित गरिदियो । उनी आफैँमा न कुनै चर्चित गीतकार हुन न संगीतकार । तर, आफैँले लखेको र संगीत भरेको गीतले उनलाई करोडौँ दर्शकमाझ परिचित बनाइदियो । रिकेश गुरुङको संगीत संयोजनमा मेलिना राई र महेशको युगल गायन निकै जमेको छ । यो गीतलाई चर्चाको यो शिखरमा पुर्याउन भिडियोको पनि निकै महत्वपूर्ण भूमिका रह्यो । स्वस्तिमा खड्का र निश्चल बस्नेतको अभिनयमा बनेको भिडियोको कथाबस्तु पनि निकै कलात्मक छ । हालसम्म युट्युबमा भिडियो ३ करोड ५८ लाख १६ हजार भन्दा बढी हेरिएको छ । जुन संख्या हाम्रो देशको जनसंख्या भन्दा बढी हो ।
सन् २०१८ मा विभिन्न विधाका दर्जनौँ मन छुने गीतहरु सार्वजनिक भए । यहाँ मैले युट्युबमा अधिक हेरिएका मात्रै होइन आम जनमानसमा रुचाइएका सिर्जनाहरु उत्कृष्ट १० भित्र राखेको छु । युट्युबमा धेरै पटक हेरिएका सबै गीत उत्कृष्ट गीत हुन भन्ने सवालमा म आफैँ सहमत छैन । तपाईं पनि नहुन सक्नुहुन्छ ।