भोजपुर । भोजपुर जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको मैयुङ आन्तरिक पर्यटनका लागि आकर्षणको केन्द्र बन्न थालेको छ ।
यहाँ रहेको भूलभूले ताल मैयुङको प्रमुख आकर्षणको रुपमा रहेको छ । खोटाङ र भोजपुरको संगम स्थलको रूपमा समेत रहेको मैयुङको भूलभूलेताल चारैतिर लालीगुराँस, चाँप, हाँसपोखरी र आफैँमा प्राकृतिक सौन्दर्यले भरिभराउ रहेको छ । चौरमा घोडाको टापले थपिएको सौन्दर्यले आन्तरिक पर्यटकहरुलाई लोभ्याउने गरेको छ ।
नयाँ वर्ष र दशैंतिहार जस्ता चाडपर्वको विदाका बेला भोजपुर, खोटाङ, संखुवासभालगायत आन्तरिक र बाह्य पर्यटकहरूको उल्लेख्य सहभागिता हुने गरेको छ । राजधानी काठमाडौं,चितवन र पोखरा लगायतका ठूला शहरबाट समेत रमणीयस्थल खोज्दै प्रकृतिप्रेमीहरु यहाँ आउने गरेका छन् ।
यो समयमा बाटा वरिपरि फुलेका लालीगुराँसले मैयुङको सौन्दर्य अझ बढेको छ ।
समुद्रीसतहबाट तीन हजार तीन सय ३३ मिटरको उचाइमा रहेको मैयुङबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा, मकालु, महालंगुर, तथा कञ्चनजंघाजस्ता विश्व प्रसिद्ध हिमशृंखला देखिने गर्दछ ।
मुन्दुम ट्रेल अन्तर्गत पर्ने मैयुङ डाँडा क्षेत्रमा सुन्दर मावि पोखरी जलजले मात्तिम डाँडा दिल्पानागी, घोडनागी, हाँसपोखरी, सातदोबाटोलगायतका ठाउँ पर्दछन् ।
तस्बिर साभार : किरणसाम्सोङ राईको फेसबुक पेजबाट