भीम चौधरी
कैलाली । टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा फैसला सुनाईएको हो।
उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले चौधरीसहित १२ जनालाई जन्मकैद फैसला गरेको हाे। जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले यस्तो फैसला गरेको हो। अन्य १२ जना ३ वर्ष कैदको सजायपछि छुट्नेछन् । घटनामा दोषी मानिएका लक्ष्मण थारुलाई ३ वर्ष कैद सजाय सुनाइएको छ । ३ जनाले सफाइ पाएका छन् । एक नाबालकलाई रिहाइ गरिएको छ ।
गत बुधबारदेखि सुरु भएको बहसमा वादीतर्फका न्यायाधीवक्ता र प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए। मंगलबार वादी तर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु प्रसाद पौडेल र प्रतिवादी तर्फबाट ६ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए ।
प्रतिवादी तर्फबाट कानुन व्यवसायी गंगाराम उपाध्याय, वीरबहादुर जेठारा, गम्भीर सिंह ऐर, गजेन्द्रबहादुर केसी, नाथुराम महतो र प्रयागराज भट्टले बहस गरेका थिए। बहस सकिए पनि समय अभावका कारण हिजो फैसला हुन सकेको थिएन । यो घटनाको आठौं पेसीमा बहसमा प्रवेश गरेको थियो। १२औं पेसीमा यसको फैसला हुन लागेको कैलाली जिल्ला अदालतले जनाएको छ। घटनाको सुनुवाइमा भएको ढिलाइलाई मध्यनजर गर्दै अदालतले मुद्दालाई गत बुधबारदेखि निरन्तरता दिएको थियो।
घटनामा मृत्यु भएकाहरुः
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेनेपाल प्रहरीका प्रहरी निरीक्षक बलराम विष्टनेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहोरासशस्त्र प्रहरी हवल्दार रामबिहारी थारुसशस्त्र प्रहरी सहायक हवल्दार ललित साउदप्रहरी जवान लक्ष्मण खड्काप्रहरी जवान लोकेन्द्र चन्ददुई वर्षीय बालक टेकबहादुर साउद
कसरी भएको थियो घटना ?
तत्कालिन सुदूरपश्चिमका नौ वटै जिल्ला मिलाएर एक प्रदेश बनाउनुपर्ने माग गर्दै अखण्ड सुदूरपश्चिम आन्दोनल चर्किरहेका बेला थरुहट/थारुवान संयुक्त संघर्ष समितिले कैलाली कञ्चनपुरसहितलाई समेटेर थरुहट प्रदेश बनाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको थियो।
सो क्रममा आन्दोलनरत थरुहट(थारुवान संयुक्त संघर्ष समितिले भदौ ७ सरकारी कार्यालयहरुमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम थियो। तर, निषेधाज्ञा तोडेर आन्दोलनकारी अघि बढेपछि आन्दोलन हिसांत्मक भएको थियो। छुरा, भाला, बन्चरोसहित घरेलु हतियार बोकेर १० हजार बढीको संख्यामा सडकमा आएका आन्दोलनकारीले जानकी गाउँपालिका ९तत्कालिन मुनुवा गाविस पशु हाट बजार नजिक० सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए।
सो क्रममा सुरक्षाकर्मीको विभत्स तरिकाले हत्या गरिएको थियो भने घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको थियो।