पृष्ठभुमिःयस बर्षको आठ मार्चका लागि बिश्वब्यापी नारा “समान सोचौ, स्मार्ट बनौ ,परिर्वतनका लागि नयां आविश्कार गरौ” -(Think equal, Build smart, Innovate for change) भन्ने रहेको छ । आज यही नारासहित १०९ औ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाइदैछ । प्रत्येक वर्ष महिलाहरुले आठ मार्चलाई अधिकार स्थापनाको कोसेठुगांको रुपमा मनाउदै आएका छन । विश्वमा महिला अधिकार स्थापित गर्दै उनीहरुको सामाजिक, राजनितिक, तथा सांस्कृतिक विकासको लागि विश्वब्यापीरुपमा अन्तरराष्टिय महिला दिवस मनाउने गरिन्छ । महिला दिवस मनाउनुको मूल उद्देश्य समाजमा देखिएको र भोग्दै आएको लंैगिक विभेदको अन्त्य गर्नु हो । यसका लागि , पारिवारिक, सामाजिक, सांस्कृतिक, आािर्थक र राजनितिक क्षेत्रमा महिलाको भूमिका बराबरी हुनुपर्ने कुरा नै हाम्रा मुल मुद्घा हुन, जुन अझैसम्म पनि पुर्णरुपमा प्राप्त हुनसकिरहेका छैनन् । हिजो परिवार भित्रको चौघेरो नाध्न नसकिरहेका महिलाहरु आज भिन्नै स्थान बनाउन केही मात्रामा सफल छन् ।
यसका पछाडि हाम्रोसंघर्षको लामो इतिहास साक्षि छ । यसको पृष्ठभूमिलाई हेर्दा ८मार्च महिलाहरुले आन्दोलनको शुरुवात गरेको दिन र अधिकारलाई स्थापित गरेको दिनको रुपमा मनाईन्छ । खास गरि मार्च ८ सन १९११ बाट बिश्वभर मनाउन थालियो । आधारभूत आवश्यकता अर्थात गासवास–कपासको मागबाट उठेको आन्दोलन आज लैंगिक विभेदको अन्त्य, राजनीतिक सहभागिता र सहअस्तित्वको खोजिमा संघर्षरत छ । ८मार्चको महत्व यसले प्राप्त गरेका उपलब्धिसंग गाँसिएको छ ।
नेपालको सन्दर्भमा
सतिप्रथाको अन्यदेखि शुरु भएको नेपाली महिला आन्दोलन शिक्षा, रोजगारी, स्वास्थ्य सुविधा, राजनीतिक, आर्थिक, सामाजिक लगायत समाजका सवै वर्ग, तह र क्षेत्रमा समान सहभागिताका लागि आन्दोलन गर्दै अगाडि बढ्दै छन् । तर पनि दाइजो प्रथा, छाउपडी प्रथा, बोक्सी जस्ता अन्धविश्वासबाट सिर्जना भएका समस्याहरुबाट नेपाली महिलाहरु अहिले पनि पीडित छन् । केही समय यता बलात्कार र महिला हिंसाका घटना झन्झन् बढीरहेका छन् । असमानताको विभेद पनि कायमै छ । एकातिर महिलालाई हेप्ने सामाजिक कुसंस्कार कायमै छन् भने अर्कोतिर राज्यको महत्वपुर्ण पदमा महिलाहरुको महत्वपूर्ण उपस्थिती पनि छ । यो हेर्दा लाग्छ, महिलाका राजनितिक अधिकार प्राप्त भएका छन । पेशा–ब्यबशाय, राजनितिदेखि न्यायिक क्षेत्रसम्म महिलाकै सम्माानजनक उपस्थिती देखिएता पनि ज्ञान– बिज्ञान, प्रविधि, विचार र चिन्तनका क्षेत्रमा नेपाली महिलाहरुको उपस्थिति कमजोर देखिन्छ ।
विश्व पल–पल परिर्वतन हुँदैछ । अझै पनि हाम्रा सामाजिक मूल्य–मान्यताले पुरुषहरुलाई सर्वाधिकार सम्पन्न र निर्णायक क्षमता भएका, घरमूलि तथा महिलालाई सहायकको रुपमै हेर्ने गर्दछ । बदलिँदो परिस्थितिभित्र महिला झन्–झन आधुनिक दासताको बन्दीका रुपमा रुपान्तरित हुँदैछन । पूँजीवादी दुनियाँले महिलालाई अझ दास बनाउँदै छ । स्वभिामान र महिलाको आफनो पहिचान अझै पनि चुनौतीका बिषय छन् । आफ्नो पहिचानमा बाँच्न चाहने स्वभिमानी महिलाहरु या त एक्लिएका छन या त अवसरबाटै टाढा पारिएका छन् । तिनै चुनौतिहरुको सामना गर्दै आज महिला पत्रकार, डाक्टर, इन्जिनियर, पाइलट, बकिल, न्यायाधिश, शिक्षक, कलाकार, उद्यमी, खेलाडी देखि लिएर विभिन्न पेशाका क्षेत्रमा जोखिम मोलेर भएपनि आगाडि बढ्ने प्रयास गरिरहेका छन् । विश्वमा आएको विज्ञान र प्रविधिको परिर्वतनसंगै महिलाहरुले पनि आफूलाई ‘स्मार्ट’ सावित गर्नका लागि चाहिने सिप र क्षमताको बिकास गर्नू आजको आश्यकता बन्दैछ ।
चुनौतीहरुःनेपालको संबिधानको भाग ३ को धारा १८ मा समानताको हक को ब्यबस्था गरिएको छ । यसर्थ कानुनमा महिला र पुरुष समान छन । कुनै कारणले पनि महिलालाई शोषण, हिँसा बिभेद र अन्याय गर्न नपाइने व्यवस्था स्पष्ट लेखिएको छ । अबको हाम्रो आन्दोलनको मुख्य कार्यभार भनेको संविधान र कानुनमा प्राप्त उपलब्धीलाई व्यवहारमा उतार्नु हो । विश्वमा भएका परिर्वतनहरुबाट नेपाल पनि अछुतो रहेन । बिशेषतः राजनीतिक पर्वितन छिटोछिटो देखिए । यसले महिलाहरुमा राजनितिक सुझबुझको चेतना त जगायो तर परिर्वतबाट प्राप्त उपलब्धिलाई प्रयोग गर्नका लागि महिलाहरुले आफुलाई योग्य र सक्षम साबित गर्न भने बाँकी नै देखिन्छ । महिलाका लागि कार्यक्ष्ोत्र, सामाजिक संस्कार र मूल्य–मान्यताका कारण बढी चुनौती एकातिर छन भने अर्कोतर्फ महिलाहरुका बीचमै पनि ठुलो विभेद छ । वर्तमान अवस्थामा देखिएका महिला क्षेत्रका चुनौतीहरुलाई बूँदागतरुपमा तल उल्लेख गरिएको छ–
१. महिला भएकै कारण अन्याय र हिंसालाई चुपचाप सहनुपर्छ भन्ने गलत मान्यताबाट माथि उठ्न नसक्नु ।
२. पूँजीवादी उपभोक्तावादमा फस्नु, त्यसैमा रुमल्लिइरहनु ।
३. भान्सा र बालबच्चा महिला मात्रैका जिम्मामा हुनु– महिलाहरु जहाँ पुग्दा पनि घरपरिवार, बालबबच्चा, चुलो–चौको सबैको व्यबस्थापन गर्दै अगाडि बढ्नु पर्नै । परिवारभित्र अन्य सदस्यहरु हँुदा पनि चुलो र चौको उनिहरुकै जिम्मामा रहनुले महिलालाई कार्यस्थलबाट होस या विभिन्न संस्थाका कार्यक्रम वा बैठक या कार्यक्रमबाट छिटो भाग्ने हतार भैरहन्छ । यसले उनीहरुको कार्यक्षमता अभिबृद्धिमा बाधा पुग्दछ ।
४.प्राविधिकक्षेत्रमा महिलाहरुको पहुँच कम हुनु ।
५.समय ब्यवस्थापनमा कठिनाई– महिलाका काम धेरै र समय थोरै भएकोले समय ब्यवस्थापनमा कठिनाइ भोग्नु परेको छ । घरभित्रका कामको साथै कार्यक्षेत्रको कामले उनीहरुमा दोहोरो भार बढेको छ ।
६.समाजको रिति रिवाज र परम्पराहरुका कारणले पनि उनीहरु सबै क्षेत्रमा खुल्लारुपमा अगाडि आउन सकिरहेका छैनन् ।७.पितृसत्तात्मक सोच र सास्कृतिक चिन्तन ।८. महिला साक्षरतामा कमी ।९. गरिवी, भोकमरी, जातपात– छुवाछुत र लैगिक विभेदका तमाम समस्यामा महिलाहरुनै बढी मारमा छन ।१०. महिला हिसां, दमन, बलात्कार र असुरक्षाजस्ता कुराहरुले महिलालाई हतोत्साही बनाएको अवस्था छ ।११. पारिवारिक हिसां बढदैछ ।
निष्कर्षःअव नेपाली महिलाले आफुलाई परिर्वतन गर्न जरुरी छ । यसका लागि महिलामा शैक्षिक र आर्थिक शसक्तिकरणको अभियान नै सञ्चालन गर्नु आवश्यक छ । अब हाम्रा सामजिक मूल्य मान्यताका आधारमा मानिसहरुले मलाई के भन्लान्, समाजले के साेच्ला भनेर बस्ने र आफूभन्दा पुरुषलाई नै बलबान र जान्न्ोसुन्ने बनाएर आफू पछाडी हट्ने साँेचलाई बदल्नै पर्छ । परिवारभित्र या बाहिर बराबरी हैसियतमा आफूलाई उतार्ने गरी ‘स्मार्ट’ बनाउन जरुरी छ । त्यो फूर्तिलोपन काममा, अध्ययनमा , प्रविधिक काममा, ब्यबहारमा र बोलीबचनमा समेत हुनु पर्छ । घरभित्रको काम, छोराछोरी र घरपरिवारको रेखदेख आफ्नो मात्र भन्ने साेचलाई बदल्दै साझेदारीको भावना स्थापित गर्न आवश्यक छ । ‘म राम्रो र स्मार्ट बने मेरो परिवार राम्रो र स्मार्ट बन्छ’ भन्ने भावनाका साथ अब अगाडि बढ्नु पर्छ ।
आर्थिक शैक्षिक तथा सामाजिक रुपमा समान हुने प्रयास गदै माथि उठ्नका लागि महिलाहरु अझ ससक्त, सक्षम र योग्य र जिम्मेवार बन्न जरुरी छ । वर्तमान संविधानले महिलालाई घरको चोघेरोबाट बाहिर निस्कने ठूलो वातावरण दिएको छ । यसैकारणले राजनीतिक, शैक्षिक र रोजगारीको क्षेत्रमा महिलाहरु निस्किएका छन तर पनि खुलारुपमा काम गर्नका लागि माथिका चुनौतीहरु सामना गर्न महिला आफैंले तयारी गर्नुपर्दछ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महान उपलक्ष्यमा सम्पूर्ण आमा दिदि, बहिनीहरुमा हार्दिक शुभकामना !