प्राचिन युगदेखिनै हाम्रो समाजमा महिलाको विशेष स्थान रहिआएको छ । पौराणिक ग्रन्थमा पनि नारीलाई पुजनीय र देवीतुल्य मानिएको छ । एउटा धारणा पनि छ,जहाँ नारीको सम्मान हुँदैन त्यहाँ लक्ष्मीको वास हुँदैन । दैवीशक्ति पनि त्यहि बस्छन जहाँ नारीले प्रतिष्ठा वा सम्मान पाउँछ । तर के नारीले सम्मान पाईरहेका छन त ? हुनत महिला,स्त्री,नारी शब्दहरु सुन्नेवित्तिकै स्पष्ट हुन्छ की मायाको खानी,ममताको सागर हुन नारी । नारीको अनेकौं रुप छन् । छोरी, स्वास्नी, प्रेमिका,आमा,बहिनी तर हर रुपदेखि उसँग जोडिएको कर्तव्य र जिम्मेवारी पनि तोकिएको छ । आमा ममताकी खानी जति अथाह गल्ती गरेपनि क्षमा गर्ने,बहिनीले भाईको स्वाभिमानलाई बचाउने,छोरी मानमर्यादा र प्रतिष्ठाको पुत्ला र श्रीमति अर्धाङ्गनी तर कामका लागि मात्र । वाह ! नारीको यी रुप जसमा उसले गर्नुपर्ने कर्तव्य र उसको जिम्मेवारीलाई हरेक पटक बोध गराईन्छ । हामी नारीलाई देवी भनेर पुज्छौं र लक्ष्मी भनेर घर भित्राउँछौं । तर उसको स्वतन्त्रता,सम्मान र ईच्छाको घाँटी थिच्छौं ।
छोरीलाई पाखा र छोरालाई काखा गर्छौं । कहिं नारी आफ्नो अधिकारबाट बञ्चित छन भने कहिं दाईजाको शिकार,कतै श्रीमानबाट तिरस्कृत छन भने कहिं आमाबुवाका लागि बोझ । कहिं बलात्कार जस्ता जघन्य अपराधको शिकार छन नारी भने कहिं जिउँदै जलाउनलाई नारीको चिता हुन्छ तयार । आफ्नो स्वतन्त्रताको घाँटी थिच्न नारीलाई नै बनाईन्छ लाचार । आज हाम्रो समाजमा नारीको अस्तित्वलाई मजाक बनाईएको छ । हाम्रो समाजमा बोक्सी नारी हुन्छन तर पुरुष हुँदैनन । आखिर किन ? हामीलाई जन्म दिएर यस संसारमा ल्याउने नारी तर त्यही नारीको अस्मिता किन लुटिन्छ ?
नव दुर्गाको नौ रुपको पूजा त हुन्छ तर त्यही नवदुर्गाको अर्को अवतार नारीलाई किन बलात्कार,शोषण,अपमान गरिन्छ ? र सबैभन्दा लाजमर्दो कुरा त त्यो नवदुर्गाकी नौ स्वरुपलाई पूजा गर्ने पुरुष नै हुन्छन । मैले अहिलेसम्म देखेकोमा हरेक माताको मन्दिरमा पूजा गर्ने पुरोहित पुरुष महानुभावलाई नै देखेकी छु । तर दुर्भाग्य त्यही नारीको अस्मिता लुट्ने पुरुष नै हुन्छन । मलाई के लाग्छ भने पुरुषको सत्ता र पुरुषमाथि आश्रीत बनाउनलाई नारीको अधिकार हनन गरियो । नारीलाई भोग र मनोरन्जनको वस्तु ठानिएको छ । नारीको शरीर मात्र नभई उसको मनमाथि पनि पुरुषले उसको अधिकार रहन दिएको छैन । म एउटा उदाहरण अझ के दिन चाहन्छु भने श्रीमतिको मृत्यु पश्चात श्रीमान बृद्धाअबस्थामा भएपनि यो समाजले उसलाई विवाह गर्न सल्लाह दिन्छ । तर त्यही श्रीमानको मृत्यु पश्चात श्रीमतिलाई आफ्नो बच्चाको मुख हेरी आजिवन एक्लै बस्न सल्लाह दिईन्छ । महिला कमजोर र असहाय रहेको कुरा उसलाई हरेक क्षण अनुभव पनि यसै समाजले गराईरहेको हुन्छ ।
सबभन्दा बढि दुःख तब महशुस हुन्छ जब आमा बुवाले छोरी अर्काको धन हो भन्छन यता ससुरालीमा सासु र श्रीमानले पनि उसमाथि शब्दको बाण चलाउँछन । अनि महिलाको आफ्नो घर कहाँ हो त रु ससुराली की माईत रुअहिले अधिकांश नारी रुढिबादी सोंच जस्तै सतिप्रथा,बालविवाह,दहेजप्रथालाई अन्त्य गर्दै अगाडी बढिरहेकी छिन । तर केही कुदृष्टि नजर भएका पुरुषले नारीलाई कमजोर बनाउन खोजिरहेका छन । मलाई लाग्छ अहिलेको अवस्थामा नारीलाई महत्वपूर्ण दुई कुराको खाँचो छ‘शिक्षा र सुरक्षा’ । किनभने महिला शिक्षा समाजको आधार हो,प्रतिबिम्ब हो । पुरुष शिक्षित हुँदा उ एक्लै शिक्षित हुन्छ तर महिला शिक्षित हुँदा उसको परिवार,समाज र सम्पुर्ण राष्ट्र नै शिक्षित हुन्छ । किनभने महिला आमाको रुपमा बालबालिकाको पहिलो गुरु हुन । अहिलेको युग परिवर्तनको युग हो र हामी सम्पूर्ण नारीले अब आफ्नो अधिकारलाई प्राप्त गर्न र स्वतन्त्र भई बाँच्न पाउनु नै पर्छ ।नारी दिवसको सबैमा शुभकामना ।