यो कुरा कसैले पनि अस्वीकार गर्न सक्दैन कि जीवनमा सफलता पाउन आत्मविश्वास कति धेरै आवश्यक छ । जीवनमा सबै सफल व्यक्तिमा तपाईंले यो गुण देखेको हुनु पर्दछ । चाहे त्यो फिल्म अभिनेता होस् या क्रिकेटर । तपाईंको छिमेकी वा पढाउने गुरु । आत्मविश्वास सबैमा हुन्छ । तर कसैमा बढी हुन्छ भने कसैमा कम । यदि तपाईं पनि सफल बन्ने चाहनामा हुनुहुन्छ तर आत्मविश्वास कमी छ भने यसका लागि धेरै अभ्यासका तरिकाहरु छन् । जसलाई आफ्नो जीवनमा प्रयोग गरेर आत्मविश्वास बढाउन सक्नु हुन्छ ।
[caption id="attachment_100802" align="alignright" width="130"]
–दीपा कर्ण[/caption]
सबभन्दा पहिले त्यो काम गर्न शुरु गर्नुहोस् जुन आत्मविश्वासी व्यक्तिले गरिरहेको देख्नु हुन्छ । तपाईंको वरिपरि त्यस्तो मान्छे पक्कै पनि देख्नु हुन्छ होला, जसलाई देखेर तपाईंलाई लाग्छ कि यो मान्छे एकदमै आत्मविश्वासी छ । यस्तो मान्छेलाई ध्यान दिएर अवलोकन गर्नुहोस । र उनीहरुको केही क्रियाकलाप आफ्नो जीवनमा अनुकरण गर्नुहोस् । जस्तै, कक्षामा अगाडिको सिटमा बस्नु, कक्षामा सेमिनारमा प्रश्न सोध्नु त्यसको उत्तर दिनु, आफ्नो हिँडाइ र बसाइमाथि ध्यान दिनु, खुलेर बोल्नु, कसैसँग कुरा गर्दा आइ कन्ट्याक्ट गरेर बोल्नुहोस् ।
त्यस्तै, प्रत्येक दिन तपाईंले के के गर्नु भयो, त्यसलाई एउटा डायरीमा लेख्न शुरु गर्नुहोस् । र, हरेक रातमा त्यसमा आफूले दिनभर गरेको क्रियाकलाप लेख्दा तपाईं त्यो दिनको उपलब्धी अनुमान लगाउन सक्नु हुन्छ । यो डायरीको मदतले तपाईं आफ्नो मूल्यांकन आफैँ गर्नु हुन्छ र आत्मसुधार पनि । तपाईंले दिनभर के के उपलब्धि प्राप्त गर्नु भयो, त्यो पाटो डायरीमा उल्लेख गर्नुहोस् । यसबाट तपाईंमा आत्मविश्वास बढ्छ । अर्को दिन तपाईं अझै ऊर्जासहित काम गर्नु हुन्छ ।
अर्को तरिका के हो भने तपाईं आफ्नो उपलब्धिलाई सम्झिराख्नुहोस् । कुनै बेला के हुन्छ भने हामी यति धेरै नकारात्मक हुन्छौँ र हाम्रो आत्मविश्वास पनि यति धेरै घट्न जान्छ कि हामी आफूभित्र नकारात्मक पक्ष मात्र देख्न थाल्छौँ । आवश्यक छ कि हामीले आफ्ना उपलब्धि भुल्नु हुँदैन । तपाईंसँग जितेको कुनै मेडल छ वा अरु केही जो तपाईंले अवार्डको रुपमा पाउनु भएको छ भने त्यसलाई त्यस्तो ठाउँमा राख्नुहोस् जहाँ तपाईंको आँखाले सजिलैसँग देख्नसक्छ । र, देख्नेबित्तिकै तपाईंलाई यो महसुस होस कि तपाईं अरु भन्दा कम हुनु हुँदैन ।
त्यस्तै जुन विषयले तपाईंको आत्मविश्वास घटेर जान्छ, त्यो विषयमा पटक पटक अभ्यास गर्नुहोस् । त्यसबाट नपन्छनुहोस् । कतिपय मान्छे कुनै खास कारणले आत्मविश्वास महसुस गर्दैनन् । जस्तैः धेरैजसो मान्छे ‘स्टेज फियर’ हुन्छ भने कोही आफ्नो विपरीत लिंगका मान्छेसँग बोल्न अपठ्यारो मान्छन् । यदि तपाईं पनि यस्तै चुनौति भेट्नु हुन्छ भने त्यसको सामना गर्नुहोस् । र, त्यसको सामना गर्ने सबभन्दा राम्रो तरिका के हो भने जुन कुराबाट तपाईं जति धेरै नर्भस हुनुहुन्छ, त्यसलाई त्यति बढी दोहोर्याउनुस् कि त्यो तपाईंको ताकत बनिहालोस् । हुनसक्छ, तपाईंको यो प्रयासलाई धेरैले शुरुमा हल्का रुपमा लिन्छन्, कतिपयले जिस्काउलान् पनि तर विश्वास गर्नुहोस् यदि यो प्रयासलाई निरन्तरता दिँदै राख्नुहुन्छ भने त्यही मान्छेले एकदिन तपाईंका लागि उठेर ताली बजाउँछन् ।
अर्को तरिका के हो भने विशेष परिस्थितिमा विशेष तयारी गर्नुहोस् । सफलताका लागि आत्मविश्वास आवश्यक छ र आत्मविश्वासको लागि तयारी । जब कुनै समयमा तपाईंको अगाडि आफूलाई प्रमाणित गर्ने अवसर पाउनु हुन्छ भने त्यस अवसरको पूर्ण लाभ उठाउनुहोस् । उदाहरणका लागिजस्तै तपाईं कुनै विवाद, क्विज, नृत्य, गायन स्पर्धामा सहभागी हुँदै हुनुहुन्छ वा कुनै परीक्षा दिँदै हुनुहुन्छ वा कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने यस्तो हरेक अवसरका लागि यथेष्ट अभ्यास र प्रयास गर्नुहोस् । यो पक्का गर्नुहोस कि, तपाईंले आफ्नो तयारीमा केही कमी कमजोरी बाँकी त छोड्नु भएको छैन ?
अब नतिजा चाहे जेसुकै होस्, तपाईंको तयारीमा कसैले कुनै प्रश्न उठाउन सक्दैन । तयारी र आत्मविश्वास एक अर्काका परिपूरक हुन् । जति राम्रो तयारी हुन्छ, त्यति नै तपाईंमा आत्मविश्वास बलियो हुन्छ । जब यही तयारीले तपाईं सफल हुनुभयो भने यो जित तपाईंको सफलताका कथामा एउटा पाना बन्न जान्छ । जसलाई तपाईं पटकपटक पल्टाएर पढ्नसक्नुहुनेछ र आफ्नो आत्मविश्वास अझै बढी गतिमा बढाउन सक्नुहुने छ । र, विश्वास गर्नुहोस्, यी तरीका यदि तपाईंले अपनाउनु भयो भने निश्चित रुपमा तपाईं आफूले इच्छाएकोे सफलता प्राप्त गर्नुहुने छ ।(दीपा, जनता टेलिभिजनमा समाचार प्रस्तोता हुन्)