मुस्ताङ । जिल्लामा हिमपातको कारण ६ सय ६२ भेडाच्याङ्ग्रा र ६० चौँरीगाई मरेका छन् । केही दिनअघिको हिमपातले उल्लेखित भेडाच्याङ्ग्रा र चौँरी मरेका हुन् ।
हिमपातले ल्होमानथाङको चुम्जुङमा ङुटुक गुरुङले पालेका ४५० भेडाच्याङ्ग्रा, हिमा लामाको ६० भेडाच्याङ्ग्रा, सोनाम गुरुङ, वाङ्दी गुरुङ, खुङ्गा गुरुङका ६० चौँरी, कोरला नाका नजिकैको खर्कमा ५२ भेडाच्याङ्ग्रा मरेको प्रहरीले जनाएको छ।
भेडाच्याङ्ग्रा र चौरी चरन क्षेत्रमा हिउँ पर्दा घाँसपात खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर मरेका हुन् । त्यो ठाँउका बासिन्दाले भेडाच्याङ्ग्रा र चौरीलाई आम्दानीको मुख्यस्रोत बनाउँदै आएका छन् । आम्दानीको मुख्य स्रोत मरेपछि कृषक चिन्तित भएका छन् । बाक्लो हिउँ जमेकाले हिँडेर अन्यत्र लैजान नसकिएको, घाँस खान नपाएको र चिसोले वस्तुभाउ मरेका कृषक सोनाम गुरुङले बताउनुभयो ।
सडकमा हिउँ जमेकाले उपल्लो मुस्ताङ यातायात सेवाबाट पनि सम्र्पक विच्छेद भएको छ । जिल्ला समन्वय समिति, स्थानीय तह र वडाका जनप्रतिनिधि तथा सुरक्षा निकायले हिउँले अवरुद्ध सडक खुलाउन र पशुधनको क्षति विवरण सङ्कलन शुरु गरेका छन् ।
तल्लो मुस्ताङको नमखु, मार्फा लेक र धौलागिरि चौँरीपालन समूहको खर्कमा पनि हिउँका कारण चौँरीगाईका बाच्छा, बाच्छी र भेडा, च्याङ्ग्राका पाठापाठी मरेका छन् । मुस्ताङबाट निर्वाचित प्रतिनिधि र प्रदेशसभाका सांसदले हिमपातका कारण अस्तव्यस्त र कष्टकर बनेको जनजीवनलाई सहज बनाउन तथा क्षति ब्यहोरेको कृषकलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।