भोजपुर । अलैँचीको मूल्यमा भारी ह्रास आएपछि कृषक निरास बन्दै भएका छन् । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्य घटेको बताएका छन् । मूल्य घटेपछि ठेकेदारले अलैची प्रतिमन २० देखि २५ हजार रुपैयाँमा माग्न थालेका छन् ।
मूल्यमा घटेपछि अलैँची अहिले किसानको घरमै थन्किएको छ । आफूले अहिलेसम्म पनि अलैँची बिक्री नगरेको टेम्केमैयुङ गाउँपालिका–४ नागीका कृषक जयकुमार राईले बताउनुभयो । ‘अलैँचीबाट विगतमा राम्रो मूल्य पाएपछि हौसिएर धान खेतमा अलैँची लगाएँ’ उहाँले भन्नुभयो, ‘अहिले बजारमा मूल्य छैन भन्दै ठेकेदारले प्रतिमन २० देखि २५ हजारमा माग्छन् । अब त्यही मूल्यमा दिने हो भने परिश्रम नै उठ्दैन । त्यही भएर यस ठाउँका धेरै कृषकले अहिले पनि अलैँची बिक्री गरेका छैनन् ।’
‘विगतमा राम्रो आम्दानी हुनेजस्तो देखिएपछि गाउँका अन्य साथीलाई अलैँची लगाउने सल्लाह दिएँ’ उहाँले भन्नुभयो, ‘ तर अहिले तिम्रो कारण भात खाने खेत मासियो, आम्दानी छैन भनेर गाली गर्न थालेका छन् ।’ राईले तीन बगानमा १५० रोपनीमा अलैँची लगाउनुभएको छ । जिल्ला कृषि विकास कार्यालयले हामीलाई धेरै सहयोग गरेको छ । त्यसको कारणले पनि यसको खेतीमा लागियो तर मूल्य नपाउँदा असाध्यै गाह्रो भएको उहाँको भनाई छ ।
टेम्केमैयुङ–५ खावा चोलन्तीका कृषक चक्रबहादुर विष्टका अनुसार त्यस क्षेत्र क्षेत्रका एक सय भन्दा बढी कृषकले अहिले पनि अलैँची बिक्री गर्न सकेका छैनन् । ‘गत वर्ष हामीले प्रतिमन ३४ हजार ५ सय मा बेच्यौ तर यो साल २० देखि २५ हजारमा माग्छन् । त्यही भएर हाम्रो क्षेत्रमा उत्पादन भएको १५० मन बढी अलैँची बिक्री भएको छैन । अहिले मूल्यको कारण अलैँची कृषक निराश बनेको बताउँदै उहाँले भन्नुभयो, “यसको खेतीमा दिनानुदिन कृषकको सङ्ख्या बढिरहेको छ तर के गर्नु यस्तै मूल्य हो भने आफ्नो श्रम पनि उठ्दैन । अधिकांश कृषकले धानखेती हटाएर अलैँची लगाएका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष अलैँचीको उत्पादनमा आठ टनले वृद्धि भएको छ । गत वर्ष १९२ मेट्रिकटन अलैँची उत्पादन भएकामा यस वर्ष वृद्धि भएर २ सय मेट्रिकटन पुगेको कृषि ज्ञान केन्द्र कार्यालयका कृषि प्राविधिक युगमणि भट्टराईले जानकारी दिनुभयो । जिल्लामा ६५० हेक्टर क्षेत्रमा अलैँची खेती छ । अझै करिब एक हजार हेक्टर क्षेत्रफलमा विस्तार हुने चरण रहेको प्राविधिक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा अलैँचीको विस्तारका लागि छ पकेट, दुई ब्लक र छ स्थानीय तहको ३० वडामा अलैँची क्षेत्र कार्यक्रम सञ्चालन भइरहेको छ ।
जिल्लामा राम शाही, गोल शाही, डम्बर शाहीले जिर्मले जातको अलैची हुने खेती गरेका छन् । भोजपुरका दोभाने, कुदाककाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ वासिङ्गथर्पु, तिम्मा हेलौछा, गुप्तेश्वरलगायत १७ भन्दा बढी ठाउँमा मुख्य रूपमा अलैँची उत्पादन हुन्छ ।
ज्ञान केन्द्रको तथ्याङ्कानुसार मुख्य क्षेत्रका एक कृषकले वार्षिक १५÷१६ मनभन्दा बढी अलैँची उत्पादन गर्छन् । पहिलेको मूल्यानुसार तुलना गर्ने हो भने एक कृषकले अलैँची बेचेरै २० लाखभन्दा बढी आम्दानी गर्थे । चलेको मूल्यअनुसार भने एक कृषकलाई दुई÷चार लाख लिन पनि गाह्रो छ ।