काठमाडौं । रुसमा विवाहोत्सवको बेला विवाह दर्ता गराउन दुलहा र दुलही दुवै पक्षबाट कम्तीमा एक–एकजना साक्षी बस्नुपर्छ । साक्षीलाई स्वीदेतेल (свидетель) भनिन्छ भने विवाह दर्ता गर्ने कार्यालयलाई छोटकरीमा जाग्स (загс)। अधिकांश मानिसहरुले शुक्रबार वा शनिबार मात्रै विवाह गर्ने भएकोले विवाह दर्ताकालागि जाग्समा पालो लिन केहि महिना अगाडि नै नाम लेखाउनु पर्ने हुन्छ ।
विवाहोत्सवमा दुलहाले कालो सुट लगाएको हुन्छ भने दुलहीले निक्खर सेतो विवाह पोशाक । अनि साक्षी बस्नेले टाउकोमा रातो फेटा जस्तो लगाउनुपर्दछ भने काँधमा जनै बाँधे जस्तो गरेर छड्के रातो पेटी लगाउँछन् । दुलहा–दुलही, साक्षीहरु र अन्य आफन्त तथा इष्टमित्रहरु विवाह दर्ता कार्यालय जाग्समा पुग्छन् । त्यहाँ एउटा सानोतिनो समारोह नै सम्पन्न हुन्छ । जाग्सका पदाधिकारी समक्ष उभिएर दुलहा दुलहीलाई खुशीराजीसँग विवाहबन्धनमा बाँधिने निर्णय लिइएको हो भन्ने एक किसिमको प्रतिज्ञाजस्तो गराइन्छ । त्यसमा भनिएको हुन्छः म फलानाको श्रीमती अर्थात् श्रीमान बन्न तयार छु र जीवनसाथी बनेर रहनेछु ।
यस्तो प्रतिज्ञापत्रमा र विवाहदर्ता रजिष्टरमा दुलहा र दुलहीले हस्ताक्षर गरेपछि साक्षीहरुले पनि हस्ताक्षर गर्छन । दुलहाले दुलहीको दायाँ हातको एक औलामा सुनको बाटुलो औंठी लगाइदिन्छ र दुलहीले पनि दुलहाको औंलामा सुनको औंठा लगाइदिन्छे । त्यसपछि उनीहरुले एक अर्कालाई अनिवार्य रुपमा चुम्बन गर्नुपर्छ । अनि मात्र नवदम्पत्तिलाई दाम्पत्य जीवन सुखमय होस् भन्ने शुभकामना व्यक्त गर्दै जाग्सका अधिकारीले विवाह दर्ताको प्रमाणपत्र दिन्छन । त्यसपछि सबैले नवदम्पत्तिलाई पुष्प गुच्छाहरु दिएर शुभकामना व्यक्त गर्दछन् ।
जाग्सबाट फर्कने बेला नवदम्पत्ति र साथमा रहेका आफन्त, साथि–संगातीहरु रिबन र फूलले सिंगारिएका गाडीमा चढेर नगर परिक्रमा गर्छन । मस्कोको क्रेमलीन पर्खालनेर रहेको अज्ञात सैनिकको स्मारकमा बलिरहेको अखण्ड ज्योतिनेर उनीहरु पुष्पगुच्छा अर्पण गर्दछन् । यसैगरी भिक्ट्री पार्कमा पुगेर विजेता ग्रिगोरीको स्मारकसमक्ष पनि पुष्पगुच्छा अर्पण गर्ने चलन छ । पहिले मस्कोको केन्द्रमा रहेको रेड स्क्वाएरस्थित लेनिन समाधि अगाडि पनि फूल चढाउने चलन थियो । नेता र कविहरुको शालिकमा पनि फूल चढाइन्छ ।
नवदम्पत्ति र विवाहोत्सवका सहभागीहरु मस्को राजकीय विश्वविद्यालय अगाडी रहेको गगनचुम्बी भवनअगाडीको भराविए गोरी (भंगेरे डांडा) को डीलमा गई मस्को नगरको दृश्यावलोकन पनि गर्दछन् । यस्तो नगर परिक्रमापछि मात्र नवदम्पत्ति आफ्ना सहयात्रीहरुका साथ विवाहोत्सवको उपलक्ष्यमा साँझ आयोजना गरिने विवाहभोजमा सामेल हुन्छन् । रेष्टुरां वा घरमै यस्तो विवाहभोज सम्पन्न हुन्छ, जसमा दुलहा र दुलही दुवैतर्फका पाहुनाहरु सहभागि हुन्छन । भोजको क्रममा सहभागी पाहुनाहरुले पालैसँग नवदम्पतिको सुखसमृद्धिको कामना गर्दै टोस्ट प्रस्ताव राख्दछन् । हरेक टोस्ट प्रस्तावपछि पाहुनाहरुले खानपिन गर्न छोडी गोर्का (तीतो) भनेर नारा लगाउँछन् । दुलहा दुलहीले त्यतिबेला चुम्बन लिनै पर्ने हुन्छ । अनि मात्र पाहुनाहरुको मदिरापान र खानपिन शुरु हुन्छ । रुसको बसाइकालमा म पनि कैयौं पटक यस्ता विवाहोत्सवमा सरिक भएको छु । केहि साथीहरुको विवाहमा दुलाहा पक्षबाट साक्षि बनेर मैले हस्ताक्षर समेत गरेको थिएँ ।
सबैको दाम्पत्य जीवन सुखद रहोस, सफल रहोस !‘रुसको सम्झना’ (अप्रकाशित) का अंशहरु
जीवा लामिछानेको फेसबुकबाटः