विष्णु कुमार शाही
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको मेघा बैंकबाट पहिलो पटक राउटेका ५ जनाले तलब बुझेका छन ।
सामाजिक कार्यकर्ताको जागिर खाएका राउटे समुदायका ५ जनाले पहिलो पटक तलब बुझेका हुन् । सामाजिक सेवा केन्द्र (सोसेक) ले अघिल्लो महिना तीन जना मुखियासहित पाँच जनालाई सामाजिक कार्यकर्ताको जागिर दिएको थियो । पहिलो पटक जागिर खाएको तलव बुझ्दा राउटे समुदायका अगुवा खुशि देखिन्थे ।
राउटे समुदायका मुखिया सूर्यनारायण शाही, दीलबहादुर शाही, वीरबहादुर शाही, पूर्व मुखिया महिनबहादुर शाही र राउटे युवा प्रकाश शाहीलाई जागिर दिइएको थियो । सुर्खेतको लेकबेशी नगरपालिकामा बस्दै आएका उनीहरु बुधबार पहिलो महिनाको तलव बुझ्न सदरमुकाम वीरेन्द्रनगर आएका थिए ।
‘बालबच्चालाई लिटो खुवाउने, अन्य समुदायसँग समन्वय गर्ने जिम्मेवारी पाएका थियौं, त्यो जिम्मेवारी पूरा गरेर तलब बुझ्न आएका हौं’ मुखिया सूर्यनारायण शाहीले भने, ‘पहिलो महिनाको तलवबाट आफू र श्रीमतीलाई लत्ताकपडा र केही खाद्यान्न किनेर लिन्छु ।’
अर्का मुखिया वीरबहादुर शाहीले समुदायका सबैलाई जागिर दिन अनुरोध गरे । ‘हामी मुखियाले मात्रै जागिर खाएर भएन, हाम्रा जनतालाई पनि जागिर दिनुप¥यो’ उनले भने, ‘सबैले जागिर पाए दैनिकी चलाउन सहज हुन्थ्यो ।’ फिरन्ते जिवन विताउँदै आएका राउटे समुदाय पछिल्लो समय आफ्नो पेशाबाट विमुख हुँदै आएको छ । काठका भाँडाकुँडा बनाएर अन्नसँग साट्ने यो समुदायले पछिल्लो समय काठका भाँडाकुँडा बनाउन छोडेको छ । पूर्व मुखिया महिनबहादुर शाहीले सामुदायिक वनहरुले रुख काट्न नदिने गरेकाले काठका भाँडाकुँडा बनाउने पेशा संकटमा परेको बताए । ‘सरकारले दिने भत्ता र दाताहरुको सहयोगमा दैनिकी चलाउने गरेका छौं’ उनले भने, ‘सबैलाई जागिर भइदिए धेरै सजिलो हुन्थ्यो ।’
सोसेकका अध्यक्ष हिरासिंह थापाले जागिर खाएका राउटे समुदायका अगुवाहरुले आफ्ना बालबालिकाहरुलाई पोषणयुक्त खाना खुवाउन सुरु गरेको बताउनुभयो । ‘राउटे समुदायका सबै बालबालिकाहरु कुपोषणयुक्त छन्, उनीहरुलाई कुपोषणमुक्त बनाउने हाम्रो उद्देश्य हो’ उहाँले भन्नुभयो, ‘जागिर खाएपछि अगुवाहरुले समुदायका बालबालिकाहरुलाई नियमित सर्वोत्तम पिठोबाट लिटो बनाएर खुवाउन थालेका छन् ।’
पछिल्लो समय राउटे बालबालिकाले पढ्न पनि थालेका छन् । सोसेकले पाँच जना राउटेलाई प्रति महिना १५ सयका दरले एक वर्षसम्म तलव दिने निर्णय गरेको छ । ‘राउटे समुदायको सशक्तिकरणका लागि उनीहरुकै अगुवाहरु परिचालन गर्दा राउटे समुदायमा सकारात्मक प्रभाव परेको छ ।