सुखिलाल चौधरीउदयपुर । जिल्लाको कटारी नगरपालिका २ देवीधापस्थित सडकमा बम फेला परेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज आव्हान गरेको नेपाल बन्दलाई प्रभाव पार्नेका लागि बम राखिएको हुन सक्ने आशंका गरिएको छ ।
मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ (चुनढुंगा) सप्लाई गर्ने शिवम् मल्टिपर्स प्रा.लि.को गेट अगाडि शंकास्पद वस्तु राखिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । उक्त वस्तुडिस्पोजलका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए । सेनाको वेलसोत स्थित कालिसिद्धि इन्जिनियरिङ गणको टोली उक्त वस्तु भएको स्थानमा जाँदै गरेको छ ।
नेकपा नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि देश तरङ्गित भएको छ । जनयुद्धका सहयात्री रामबहादुर थापा ‘बादल’को प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाएपछि नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबारका लागि आह्वान गरेको नेपाल बन्दले यातायात संचालन नहुँदा जन जिवन प्रभावित भएको छ ।
नेता–कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै नेपाल बन्दको आव्हान गरेको हो । सरकारले लगातार दमन गर्न थालेको भन्दै विप्लव समूहले गरेको बन्दले उदयपुरबाट छुट्ने छोटो तथा लामो दुरीको सवारी साधन नचल्दा सर्वसाधारण मर्कामा परेका छन् ।
यस्तै उदयपुरका सदरमुकाम गाईघाट, बेल्टार, रामपुर, मुर्कुची तथा कटारीमा विहानै देखि यातायातको साधन चलेको छैन भने बजार, पसल र विद्यालय समेत बन्द हुन पुगेको छ । ग्रामीण क्षेत्रबाट सचालन हुने सम्पूर्ण यातायात ठप्प रहेको प्रहरीले जनाएको छ ।