काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दले देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका क्रममा देशका विभिन्न जिल्लामा बम भेटिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको छ । अहिलेसम्म कुनै पनि ठाउँबाट मानवीय क्षति नभएको प्रहरीको भनाई छ ।
यी ठाउँमा भेटिए बम जस्तो देखिने शंकास्पद बस्तुपोखराका दुई ठाउँमा शंकास्पद बस्तु देखिएपछि सुरक्षा सतर्कता बढाइएको छ । सभागृहचोक र भण्डारढिकको खेलमैदान नजिकै अज्ञात समूहले शंकास्पद वस्तु राखेको र त्यसलाई निस्क्रिय पारिसकिएको छ ।
यता बिहानै गोरखा सदरमुकामका दुई ठाउँमा शंकास्पद वस्तु भेटिएका छन् । गोरखा नगरपालिका ६ क्याम्पसरोड र बाह्रकिलोमा कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो । बमको आशंकामा निस्क्रिय पार्न नेपाली सेनाको टोली त्यहाँ पुगेको छ ।
त्यस्तै रौतहटको चन्द्रपुर र व्रिन्दावन नगरपालिकाको सीमा क्षेत्रमा पर्ने हर्षाह चोकमा शंकास्पद वस्तु भेटिएको छ । बम रहेको आशंका गरिएपनि प्रेसर कुकरभित्र कागजका टुक्राहरु राखिएको भेटिएको छ ।
यसैबीच, बुटवलको कालिकाचौकमा आज बिहानशंकास्पद वस्तु भेटिएको छ । रुपन्देही स्थित सिद्धार्थ राजमार्गको बुटवल बेलहिया खण्डको कालिकाचौकको ट्राफिक ब्रेकरमाथि शंकास्पद वस्तु भेटिएको हो । बमजस्तै देखिने वस्तुलाई डिस्पोजल गर्न नेपाली सेनाको टोली त्यहाँ पुगेको छ ।
त्यसैगरी, मकवानपुरको हेटौँडा औद्यागिक क्षेत्रको गेटमा पनि शंकास्पद बस्तु फेला परेको र सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेर डिस्पोज प्रक्रिया शुरु गरेको मकवानपुर प्रहरीले जनाएको छ । पशुपतिनगर सडक खण्डमा शंकास्पद वस्तु फेला परेपछि सर्वसाधरण त्रसित बनेका छन् । थाहा नगरपालिकाको दामनमा ट्रक जलाइएको छ ।
यस्तै, उदयपुरको कटारीमा रहेको मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ (चुनढुंगा) सप्लाई गर्ने शिवम् मल्टिपर्स प्रा.लि.को गेट अगाडि शंकास्पद वस्तु राखिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । उक्त वस्तुडिस्पोजलका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताउनुभयाे ।
बाँकेको नेपालगञ्ज विमानस्थल गेट नजिक शंकास्पद वस्तु फेला परेको छ । त्यसलाई सेनाले निस्क्रिय पारेको छ । उता कैलालीको बढैपुर जंगलनजिक बुधबार राति बसमा आगजनी गरिएको छ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बासामा पार्किङ गरि राखिएको दुईवटा खाली ट्रकमा पनि आगजनीको प्रयास भएको छ । ट्रकको टायरमा मात्र आगलागी भएको प्रहरीले जनाएको छ ।