भगीरथ भण्डारी
इलाम । सन्दकपुर गाउँपालिकाको माईपोखरीस्थित एक होटलमा बिहिबार भएको आगलागिबाट ५ वटा होटल जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
शुक्रबार दिउसो स्थानीय चक्रदिप मुखीयाको भान्साबाट शुरु भएको आगोले १ करोड ४० लाख बढीको क्षती भएको अनुमान गरिएको छ ।आगलागिबाट चक्र मुखीयासहित निमदोर्जे शेर्पा, मिङमालमु शेर्पा, कमल मुखीया, र लाक्पा शेर्पाले संचालन गर्दै आएका काठबाट निर्मित होटल र सरसामान जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
चक्रदिप मुखीयाले संचालन गरेको सिम्रन होटल जल्दा ४२ लाख बराबरको सरसामान, २० तोला सुन, १० तोला चाँदी र १० लाख नगद नष्ट भएको जनाईएको छ । यस्तै निमदोर्जे शेर्पाको पेमु होटल जल्दा ४० लाख मुल्य बराबरको सरसामान, नगद ३ लाख र ६ तोला सुन नष्ट भएको छ । आगलागिबाट कमल मुखीयाको होटलसंगै १० लाख बराबरको सरसामान, ९ लाख २० हजार नगद , १ तोला सुन र १० तोला चाँदी जलेर नष्ट भएको छ ।
यस्तै आगलागिबाट स्थानीय लाक्पा शेर्पाले संचालन गरेको होटल जल्दा २९ लाख बढीको क्षती भएका छ भने मिङमादिकी शेर्पाको होटल जलेर नष्ट हुँदा ६ लाखको सरसामान, नगद ५० हजार र २ तोला सुन नष्ट भएको छ ।आगो नियन्त्रण स्थानीय , नेपाल प्रहरी , नेपाली सेना र इलाम नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ । आगो नियन्त्रण गर्न इलाम नगरपालिकाको दमकल ढिलो गरी पुगेको स्थानीय तथा होटल संचालकको गुनासो छ ।