एक समय नेपालका प्रथम चार्टर एकाउन्टेन तथा पूर्वमन्त्री कुबेर शर्मा र वरिष्ठ वकिल शिरोमणि कृष्णप्रसाद भण्डारीले सप्तरीको राजविराजदेखि ताप्लेजुङको फुङलिङसम्म पूर्वाञ्चल मधेस पहाडका जिल्ला सदरमुकाम ‘प्रेस मिट’ नौ दिने कार्यक्रम प्रस्ताव गर्नुभयो । न्यायाधीश, वकिल, सिडियो, सुरक्षा निकायका प्रमुखलाई भेटेर ‘अब दलहरुका नेतृत्वमा भर पर्ने समय ढिला भइसकेको छ । जिम्मेवार नागरिक आफैँ चनाखो भएर अगाडि आएनौँ भने राष्ट्र ठूलो भड्खालोमा जाकिने संघारमा आइसकेको छ’ भन्ने स्वरले सहमति गरेका थियौँ । त्यसपछि उत्साहित भएर पश्चिमाञ्चलको १५ दिने कार्यक्रम राखिएको साइत नजुरेको पनि दुई वर्षजति भइसकेको थियो । कुबेरजीसँग भेट नभएको पनि त्यति नै समय भइसकेको थियो । त्यसबीचमा संघीय गणतन्त्र नेपालको प्रथम तीन तह निर्वाचनको कुरो आयो । कांग्रेसले (देउवा)ले प्रचण्ड र ओलीको गठबन्धनलाई ‘अधिनायकवादी’ भनिरहेको थियो भने ओली र प्रचण्डले शेरबहादुर र कमल थापा, पशुपति शम्शरेहरुसँगको गठबन्धनलाई ‘प्रतिक्रियावादी’ जवाफ दिइरहेका समय चलिरहेको थियो ।
एक समय राजधानीमा जनआन्दोलनका सुप्रिम कमाण्डर गणेशमान सिंहको लौरो भनेर चिनिएका अथक राजनीतिक योद्धा हरिबोल भट्टराईले पनि ‘नेपाली कांग्रेस (बिपी)’ पार्टी स्थापना गरेर कलश चुनाव चिन्ह पाएर उम्मेदवारबाट टिकट बाँड्न थालेका र शेरबहादुरले जस्तै पूर्वपञ्च नेता डाक्टर प्रकाशचन्द्र लोहनीसँग गठबन्धन पनि गरेको समाचार आयो । कुबेरजीलाई कसैले सुनाइदिएछन्, ‘पंक्तिकार हरिबोल भट्टराईको टिकट बाँड्न व्यस्त रहेको’ हस्याङफस्याङ शैलीमा कुबेरजीको फोन आयो, ‘रेवतीजी ! तपाईं हरिबोलजीको बिपी कांग्रेसमा जानुभएको हो रे ।’ तथ्यमा त्यसबखतसम्म ‘बिपी कांग्रेस’ खुलेको, टिकट बाँड्न थालेको, भोट माग्न थालेको कुनै समाचार जानकारीसम्म थिएन ।
[caption id="attachment_81382" align="alignright" width="150"]
रेवतीरमण सुवेदी[/caption]
कांग्रेस सौरभले ठहर गरेजस्तै कुहिने, गन्हाउने र रोग फैलाउने चरणमै पुग्ने पक्का छ
‘के गर्नुभएको कुबेरजी (एक तटस्थ र ख्यातिप्राप्त खरो राजनीतिक विश्लेषक) ! मूर्दा सौरभले भनेको जस्तो प्राण गएको मानिसजस्तै विचार हराएर लास भएको कांग्रेसलाइ महादेवलाई सतिदेवीको लास बोक्न परेजस्तै बोक्न परेजस्तै रोक्न अभिसप्त हामीजस्ता कांग्रेसी कताबाट अरु पार्टीमा जान सक्छौँ ?’ ‘मलाइ कसैले झुटो कुरा सुनाएका रहेछन्,’ बताएर कुबेरजीले कुरो बुझिहाल्नु भयो । कांग्रेस अब झन पतनको भड्खालोतर्फ गइरहेको कुबेरजीले पनि राम्रोसँग देखिरहनुभएको थियो । हरियाली पार्टी खोल्नुअघि कुबेरजी पनि सत्याग्रहमा जेल जाने, कांग्रेस पार्टीको केन्द्रीय सदस्य, निर्वाचित सांसद हुने गर्नु भएको पंक्तिकारको कुराको मार्मिकता राम्रैसँग थाहा पाइहाल्नुहुन्थ्यो । कुबेरजी चुप लाग्नुभयो । तर पंक्तिकार भने चुप लाग्ने कुरा थिएन । जब नेपाली कांग्रेस निर्वाचित सभापति देउवाले माओवादी सुप्रिमो प्रचण्डकी छोरीलाई चुनावमा जिताउन आफ्नो पार्टीको उम्मेदवारलाई खारेज गरेर ‘रुख’ चिन्हमा भोट माग्नुको साटो ‘हसिया हथौडा’मा भोट मागे त सौरभले लेखिहाले, ‘प्राण हराएको मानिसजस्तै कांग्रेस अब विचार हराएको लास भयो । पहिले कुहिन्छ । गन्हाउँछ र रोग फैलाउन थाल्छ ।’ सौरभको काव्यलाई पंक्तिकारले अक्षरशः अनुशरण नगरेर केही सास फर्कने सम्भावना देखाएर ‘घाट पुग्नुअघिको ‘वाक्य बन्द’ मात्र गरेका थिए ।’ किनभने कतिपय घाट पुर्याउनुअघिको वाक्य बन्द भएको तुलसीको मठमा सुताएर दशदान बैतरणी सके कात्रो खोज्न थालिएको बिमारी पनि कुनै चमत्कार भएर उठेर अरु ५–१० वर्ष ठमठम हिँडेको कतिपय उदाहरण समाजमा भेटिने गरेका छन् ।
सौरभलाई कांग्रेस जीवन्तताबारे थप विश्वास नभए पनि पंक्तिकारका हकमा भने कांग्रेस पार्टी एक कमजोरी पनि हो । अत्येष्टिको अर्को विकल्प नहुँदा पनि आमाको मुखमा दागबत्ति दिन पीडा भएजस्तै हामीजस्ता कांग्रेसीलाई भने केही आश जोगिएको जहिलेसुकै पनि रहिरहँदो रहेछ । त्यसैकारण पनि घाटअघिको ‘वाक्यमा कांग्रेस’ भनेको हुँ ।’ होइन भने पछिल्लो ‘वाक्य बन्द’ को चालढालचाँहि यसो प्रकृति विचार गर्दा सौरभले ठहर गरेजस्तै कुहिने, गन्हाउने र रोग फैलाउने चरणमै पुग्ने पक्का छ । नगरपालिकाका सवारीसाधन जलाउनु र आफ्नै पार्टी कार्यालयमा आपसमा मुक्कामुक्की गरेर पुलिसको लाठी खान थाल्नुले त्यसलाई रोग फैलाउन थालेको जसले पनि भन्छन्–लेख्न सक्छन् ।
कांग्रेसको पछिल्लो चालढाल नियाल्दा ‘वाक्य बसेको’ चाँही मैले ‘वाइडबडी’ प्रकरणमा भनेको थिएँ । वाइडबडी एक उत्साहित र जाँगरिला उदयमान युवा नेतृत्व पर्यटनमन्त्री रवीन्द्र अधिकारी (अब स्वर्गीय) माथि अतिरञ्जनस्तरमै प्रमुख प्रतिपक्ष उफ्रिन थालेको थियो । त्यसो त लाउडा र धमिजाको पृष्ठभूमिमा ‘वाडडीबडी’मा उफ्रिन त्यति नैतिक बल पुग्दैन थियो । त्यसैकारण कांग्रेसका युवा नेतृत्व मनाउँदा धनराज, गुरुराज, विश्वप्रकाश, गगन थापा, प्रदीप पौडेल आदिइत्यादि रवीन्द्र अधिकारी विरोधी उफ्राइलाई सत्ताहडीका लागि दौडको फ्याँ फ्याँ र्याल चुहाइमात्र हो भन्ने गरेको थिएँ । तर पछि लहरो तान्दा पहरो गर्जर्दै जाँदा त्यसको चपेटामा पूर्वपर्यटनमन्त्री जितेन्द्र देवमार्फत पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नै तानिने तथ्य उजागर भएपछि कथित कांग्रेसी युवा नेतृत्वहरुको ‘वाक्य बन्द’ भएको सटिक टिप्पणी पुष्टि भएको थियो । गोविन्द केसीको मुद्धा हावामा हराएपछि र निर्मला पन्तको मुद्धा बुम¥याङ हुने देखिएपछि भ्रष्टाचार र कुशासनमा कांग्रेसलाइ बोल्न ठाउँ हुने कुरै थिएन । आज मुलुकमा भ्रष्टाचार र कुशासनको जुन दुन्दुमी मच्चिएको छ, त्यसको नामी कांग्रेस शासनसँग जोडिएको र त्यसैको वंशविस्तारका रुपमा माओवादीको उदय भएको अब प्राइमरी स्कुलका विद्यार्थीसम्म पाठ्यक्रम पुगिसकेको इतिहास अभिलेख भइसकेकै छ ।
एकसमय कांग्रेसमा एकजना ठूला नेतृत्वमा थिए खुमबहादुर खड्का । कुनै सयम उनी कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको झगडामा पल्ला भारी हुने हैसियत राख्दथे । शेरबहादुर देउवाले गिरिजाप्रसादसँग पार्टी फुटाउँदा खुमबहादुर निर्णायक फ्याक्टर भएका थिए । एकसमय उनी भ्रष्टाचारको मुद्दामा अदातलबाट अभियुक्त प्रमाणित भएर लामो समय जेल पनि बसे । उनी जेलबाट सजाय काटेर बाहिर निस्कदा पटनाबाट ट्रकमा माला ल्याएर स्वागत जुलुस गरिएको थियो । त्यसरी जेलबाट छुटेपछि पनि उनी कांग्रेसमा सुशील कोइराला र शेरबहादुर पार्टी क्याप्चरमा निर्णायक फ्याक्टर भएका थिए ।
कांग्रेसमका भेट्रान बुद्धिजीवी नेता कहलिएका डा. रामशरण महत र प्रदीप गिरीहरुले आ–आफ्ना खेमाका कस्तो भाषाबाट कलह झगडाको नयाँ बिउलाई मलजल शास्त्रार्थ गर्छन् ? भन्ने चाँहि मिडियासम्म आइपु्ग्न केही समय कुर्नुपर्ला
सौरभको भाषामा ‘शेरबहादुर देउवा सय हुन् भने रामचन्द्र पौडेललाई तीनमा थन्क्याउने खुमबहादुर नै थिए । स्वर्गीय खुमबहादुरको त्यो करामति शक्तिबाट कांग्रेसमा अहिलेसम्म पनि प्रभाव कायम रहेको देखिन्छ । हालका कांग्रेस महामन्त्री शशांक कोइरालालगायतका परिवारका शेखर कोइराला, सुजाता कोइरालाले पनि त्यस्तै खुमबहादुर शैलीको माला लगाएका देख्दा उनको यति सम्झना यहाँ आएको हो । कोइरालाहरुले एउटै माला भित्र तीनवटा टाउका एकैपटक उनेको टिभीको पर्दामा देखाउनुको खास तात्पर्य कांग्रेसको भावी सभापति हामी तीनमध्ये एक हौँ भन्ने हुँकार थियो ।
सयमा तीनमा थन्काइएका रामचन्द्र खेमाको त्यसखालको हुँकारलाई आरजुका राजा शेरबहादुर देउवालाइ सह्य हुने कुरै थिएन । उनले पनि वीरगञ्जमा १ सय २९ किलोको मालाभित्र आफ्नो मात्र एउटै टाउको उनेर ‘कांग्रेस पार्टी कोइराला परिवारको विर्ता होइन’ भन्ने हुँकार सार्वजनिक गरे । अब यी दुई हुँकारमा कांग्रेसमका भेट्रान बुद्धिजीवी नेता कहलिएका डा. रामशरण महत र प्रदीप गिरीहरुले आ–आफ्ना खेमाका कस्तो भाषाबाट कलह झगडाको नयाँ बिउलाई मलजल शास्त्रार्थ गर्छन् ? भन्ने चाँहि मिडियासम्म आइपु्ग्न केही समय कुर्नुपर्ला । तथ्यमा कांग्रेस यतिखेर जुन चुनौति र हालतमा छ, त्यसखालको माला उनाइमा आपसमा कुस्ती खेलिरहेका भेटिनु सौरभको भापामा लाज पचाएका बुद्धिजीबीबाट मात्र पक्षपोषण सम्भव हुन्छ । लाज नै गुमाइसकेपछि त बाँकी अरु कुरा के नै अर्थ रहन्छ र भन्ने सौरभको ठम्याइ ठिकै हो ।
अलिकलि राजनीतिमा चासो राख्ने प्रायः सबैलाई सम्झना हुनुपर्छ कि हाम्रो अहिलेको संविधान लेखन प्रक्रिया चलिरहेको समयमा तेश्रो विश्वका मुलुकहरुलाई विकासको एउटा नमूना देखाइदिएका मलेसियाका राजनेता मोहम्मद महाथीर नेपाल आएका थिए । त्यसबखत उनले नेपाललाई ‘दुईदलीय प्रणाली’मा जाने सल्लाह दिएका थिए । लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष दुवै सशक्त हुनु अपरिहार्य हुन्छ भन्ने उनको सल्लाह थियो । जानेर नजानेर न भन्दै हाम्रो आगामी राजनीतिक प्रणाली त्यसै दिशातर्फ अग्रसर हुँदैछ । सशक्त सत्ता त खडा भएको छ तर प्रतिपक्ष भित्रको मालामा उनिने आपसी कलहको स्वरुपले कांग्रेस भूमिकाच्यूत भएको प्रष्ट देखिन्छ ।
यस्तोमा पूर्वपञ्चहरुको पार्टी राप्रपा राजसंस्थाको नेतृत्वमा हिन्दुराष्ट्रको नारा बोकेर सशक्त प्रतिपक्ष हुने प्रक्रियामा अग्रसर भएको देखिँदै छ । यस्तोमा अब आउँदा दिनहरुमा यतिखेर ‘शेरेले सिध्यायो’ भन्दै टाउकोमा हात राखेर अलापविलाप गरिरहेका कांग्रेसीजनहरु अलिकति उग्रवादी खालका नेकपातिर र बाँकी रहेका राप्रपा तीन ध्रुवीकृत हुने प्रष्ट संकेत देखापर्दैछ । यसै स्थितिलाई मैले ‘घाटअघिको वाक्य बन्दमा कांग्रेस’ भनेको हुँ । जहाँसम्म हामीहरुजस्ता सिद्धान्त, विचारधारा बिपी, गणेशमान, भट्टराई, निधि, सिके भन्ने कांग्रेसजनहरु छन् । सौरभले भनेजस्तो माथि नै आइसकेको छ कि महादेवले सतीदेवीको लास बोक्नु परेको जस्तो भएर अभिसप्त भएका छौँ । चेतना भए । अस्तु ।