हेटौडा । मकवानपुरमा ४१ हजार लेयर्स कुखुरा नष्ट गरिने भएको छ । हेटौंडा उपमहानगरपालिका ७ को एक किसानको कुखुरामा बर्डफ्लु भेटिएपछि बर्डफ्लू प्रभावित क्षेत्रका ४१ हजार कुखुरा नष्ट गरिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा व्यवसायी र किसानसहितको उपस्थितिमा झन्डै ४ घन्टा लामो बसेको बैठकले उचित क्षतिपूर्तिसहित संक्रमित क्षेत्रका लेयर्स कुखुरा मार्ने निर्णय गरेको हो । शुक्रबारको बैठकले क्षतिपुर्ति निर्धारणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ । जसमा किसानको प्रतिनिधित्व गर्ने मकवानपुर कुखुरा व्यवसायी संघले जिउँदो लेयर्स ९ सय, व्रोईलर ४ सय, दाना प्रति केजी ६५ र अण्डा प्रतिगोटा ११ रुपियाँ मूल्य निर्धारण गरि जिल्ला बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समितीलाई बुझाउने भएको छ ।
बैठकले बर्डफ्लू संक्रमित पाइएको ७ नागश्वतीका कुलप्रसाद चौलागाईले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सीमा निर्धारण गरी ४१ हजार ५०० कुखुरा नष्ट गरिनेछ । सिमाक्षेत्र बाहिर रहेका कुखुरा फर्ममा पशु चिकित्सकको टोली परिचालन गरी रोग नियन्त्रणको लागि नमूना संकलन गर्ने र रोग प्रमाणित भए नष्ट गरिने छ ।
रोग प्रभावित क्षेत्रमा फागुन १३ अगाडि एच नाइन (गम्वारो, रानिखेत)सहितको संक्रमण देखिएको रिपोर्ट भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जानकारी दिएको थियो । संक्रमित क्षेत्रमा रहेका ५० किसानले ७ करोडको लागतमा एक लाख कुखुरा पालन गरेका थिए । बैठकले संक्रमित क्षेत्रलाई रेड एरिया घोषित गरेको छ । बैठकमा पशु सेवा बिभागबाट बरिष्ट पशु चिकित्सक रामकुमार कार्की, डाक्टर बिकेश राउत र प्रबिधिक प्रकाश मगरसहित उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडा, हेटौंडा उपमहानगरका उपमेयर मीना लामा कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीसहित किसानहरु सहभागी थिए ।
फ्लू संक्रमण देखिएको कुलप्रसाद चौलागाईको फर्मका ६ हजार कुखुरा मरेका थिए । अनपेक्षित रुपमा कुखुरा मरेको किसानको गुनासोपछि गाउँमा पशु चिकित्सकको टोली संक्रमित क्षेत्र पुगेको थियो । टोलीले संक्रमित क्षेत्रबाट ५ वटा फर्मबाट १० वटा नमूना संकलन गरेपछि जाँचका लागि केन्द्रीय प्रयोगशाला पठाएको थियो । २५ दिनपछि रिपोर्ट आउँदा किसानको खोर रित्तिसकेको थियो ।