काठमाडौं । जिम्बाबेमा पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेर नेपाली क्रिकेट टीमले एक दिवसीय मान्यताको ऐतिहासिक सफलता पाएको एक वर्ष पूरा भएको छ । आईसीसीले नेपालले एक दिवसीय मान्यताको ऐतिहासिक सफलता वर्ष दिन पुगेको भन्दै ट्वीट गरेपछि नेपाली क्रिकेट समर्थकले फेरि एक पटक जिम्बाबेमा नेपाली क्रिकेटरहरुले खेलेको सनसनीपूर्ण खेल सम्झिए ।
यसपछि नेपाली क्रिकेटरले वर्षभर खेलेका खेल, क्रिकेटमा नेपाल सरकारले देखाएको चासो र ओडीआई यात्राका समीक्षा पनि गरे । ओडीआईको मान्यतापछि भएको खेलमा नेपाली क्रिकेटरहरुको विश्व रेकर्ड पनि सम्झिए ।
विशेषगरी, भर्खरै युएईसँगको टी–ट्वान्टी र एक दिवसीय सिरिजको ऐतिहासिक जित दिलाउने क्रममा यो वर्ष नेपाली क्रिकेटरले राखेको विश्व किर्तीमानीले विश्वको ध्यान तान्यो । दुवै सिरिजको पहिलो खेल हारेर पनि सिरिज जित्ने क्रममा नेपालका रोहितकुमार पौडेलले कम उमेरमा एक दिवसीयतर्फ अर्धशतक प्रहार गर्ने विश्व किर्तीमानी राखे । पौडेलले भारतका सचिन तेन्दुकलर र पाकिस्तानका शाहिद अफ्रिदीको किर्तीमान तोडेका थिए ।
अर्का डेब्यू ब्याट्स्यान सन्दीप जोराले टी–ट्वान्टीतर्फ कम उमेरमा अर्धशतक प्रहार गरे । यी दुई बाहेक ओडीआई मान्यतापछि कप्तान पारस खड्काको शतकीय प्रहार, एउटै खेलमा सोमपाल कामीको एउटै खेलमा पाँच विकेट नयाँ रेकर्ड बन्यो । ओडीआईको मान्यतापछि युएईसँगको दुई सिरिज जितेको नेपालले नेदरल्याण्डसँग दुई दिवसीयमा बराबरी खेल्यो । एसिया कप छनोटमा युएईसँग नेपाल पराजित भएको थियो ।
नेपालका लेग स्पिनर सन्दीप लामिछाने विश्वभरका फ्रेन्चाइज लिगमा अनिवार्य खेलाडी बनिसकेको रेकर्ड पनि यही वर्ष देखियो । तर, नेपाली क्रिकेटरले तलब नै नपाउने, क्यान निलम्बन फुकुवा नहुनुजस्ता रोग यो वर्ष पनि हल हुन सकेन । यद्यपी, नेपाली क्रिकेटरको उत्साह र मनोवल भने उच्च नै देखियो । हरेकजसो क्रिकेटरले अन्तर्वार्तामा भनिदिए– एक दिन नेपालले टेष्ट मान्यता पाएरै छोड्नेछ ।