काठमाडौं । साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार अनि हत्या भएको हो । यो घटनामा अपराधी पत्ता नलाग्दा अनुसन्धानमा दक्ष मानिएको नेपाल प्रहरीसमेत आलोचित बनेको छ । विभिन्न कालखण्ड पार गर्दै यहाँसम्म आइपुग्दा निर्मलाकी आमा दुर्गादेवी पन्तको पछिल्लो बयानले पुनः यो घटना चर्चामा आएको छ ।
निर्मलाकी आमा दुर्गादेवीले निर्मलाको बलात्कार र हत्या आरोपको निशाना त्यही व्यक्तिमाथि तेस्र्याएकी छन्, जो भदौ ४ गते पक्राउ परी डिएनए नमिलेपछि छुटेका थिए । यो घटनामा निकै आलोचना खेपेको प्रहरी संगठनले अनुसन्धानमा लापरबाही र प्रमाण नष्ट गरेको भन्दै केही प्रहरीलाइ निलम्बनसहित कारबाही प्रक्रिया अघि बढाएको थियो ।
निर्मला पन्त हत्या घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको भन्दै केही प्रहरीमाथि लागेको मुद्दामाथि यसैसाता जिल्ला अदालत कञ्चनपुरले फैसला सुनाएको छ । ६ निलम्बित प्रहरीलाई धरौटी तारेखमा छाडने निर्णय गरेको अदालतले २ उच्चपदस्त निलम्बित प्रहरीलाई चैँ ३५ दिनभित्र अदालत उपस्थित हुन वारेन्ट जारी गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, अनुसन्धान अधिकारीको गोप्य दस्तालगायतको टोली परिचालित भए पनि निर्मला पन्तको हत्यारा पत्ता लाग्न सकेको छैन । छानबिन समितिले हत्यारा पत्ता लगाउन सकेन तर अनुसन्धानमा संलग्न प्रहरीको कमजोरी भने पर्दाफास भयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाएको यो घटनामा प्रहरीको अनुसन्धान जारी छ । प्रहरी खास आपराधिक अनुहार सामुन्ने ल्याउन कसरत गरिरहेको छ । शंकास्पदमाथि निगरानी, सोधपुछ, डिएनए परीक्षणलगायतका क्रियाकलाप गरिरहेको प्रहरी संगठनमा निर्मलाकी आमा दुर्गादेवीको पछिल्लो बयानले अर्को चुनौति थपिदिएको छ । दुर्गादेवीको पछिल्लो बयानले आम जनमानसमा तरंग ल्याएको छ भने प्रहरी अनुसन्धानमा नयाँ आयाम देखा परेको छ । यद्दपि निर्मलाको हत्यारा छिट्टै पत्ता लाग्नेमा भने विश्वस्त हुन सकिएको छैन । अन्तर्राष्ट्रिय लज्जाको विषय बनेको निर्मला पन्त बलात्कार र हत्या अनुसन्धान थप फराकिलो बनाउँदै प्रहरी सक्रियता अपराधीसम्म नपुगेसम्म उसमाथि लागेको आरोप मुक्त हुन गाह्रै छ ।
(जनता टेलिभिजनको कार्यक्रम सिएमडब्लुको एपिसोड हेर्नुहोस्)
https://www.youtube.com/watch?v=vpuNmZdWOoE&t=18s