सावित्री जोशी काठमाडौं । राजधानीमा बेला–बेला सडक जामका कारण यात्रुहरुले दुःख पाइरहेका समाचारहरु बाहिर आइरहन्छन् । सवारी साधनको चापाचाप र बढ्दो जनसंख्या वृद्धिका कारण राजधानीको जनजीवन दिनानुदिन अस्तव्यस्त बन्दै गइरहेको छ । यसका कारण एउटा सानो कामको लागि निस्केको व्यक्तिले घण्टौंसम्म जाममा बस्नुपर्ने बाध्यता छ ।
राजधानी भएकाले स्वभाविक रुपमा देशैभरीका मानिसहरु यहाँ विभिन्न उद्देश्य बोकेर आएका हुन्छन् । तर मानिसहरुलाई यहाँको सडक जामले वाक्कदिक्क बनाएको छ । शिक्षा स्वास्थ लगाइतका अन्य सेवा तथा सुविधाका कारणले गर्दा काठमाडौमा दिनहुँ मानिस आउने गरेका छन् , जसले गर्दा राजधानीको यातायातमा विभिन्न समस्या हुने गरेको छ । नेपालका ठुला शहरहरुको विकाशमा समानता नहुँदा देशका कुनाकाप्चाका मान्छेहरु यहाँ ओइरिने गर्छन् ।
संसारमा मन्दिर नै मन्दिरको शहर भनेर चिनिने हाम्रो शहरमा भित्रिने पर्यटकहरुलाई यहाँको जामले निकै सास्ती दिएको देखिन्छ । राजधानीमा महत्वपूर्ण पर्यटकिय स्थल, स्थान तथा मठ मन्दिरहरु घुम्न आउने पर्यटकहरुले समयमै गन्तव्यमा पुग्न जामले निकै गाह्रो बनाएको छ । त्यस्तै, घना बस्तिका कारण जाम मात्रै होइन अचानक कतै आगलागी भयो भने नियन्त्रण लिन पनि जामकै कारण समस्या हुने देखिन्छ ।
काठमाडौं केवल नेपालको राजधानी मात्रै होइन, मुलुकका साढे २ करोडभन्दा बढी मानिसहरुको सपनाको राजधानी पनि हो । यहाँ हरेक वर्ष भित्रिने लाखौं विद्यार्थी आफ्नो भविष्यको सुन्दर गोरेटो कोर्न यहाँ आउने गर्छन् तर बिहानिपख नै शुरु हुने जामले उनिहरु समयमै आफ्नो कलेज पुग्न सक्दैनन् । जनताको दैनिक कामकाजलाई चुस्तदूरुस्त रुपमा अघि बढाइरहनुपर्ने सरकारी निकायसमेत जामबाट जोगिन नसक्नु विडम्बनापूर्ण छ । यसरी दिन प्रतिदिन बढिरहेको जामले विस्तारै राजधानीलाई विकासनिर्माणको गतितर्फ अघि लम्कीनै नदिने देखिन्छ । के सरोकारवालाले यसको दिर्घकालिन समाधानबारे अझै सोच्ने बेला भएन र ?
सरकारले समयमै पैदलयात्रुको लागि सडकपेटीहरु फराकिला बनाउनुपर्छ । ट्राफिक नियममा थप कडाइ गर्नुपर्छ । दर्ता नभएका सवारी सञ्चालनमा प्रतिबन्ध लगाउनुपर्छ । वैकल्पिक सडक र पैदलर्मागहरु निर्माणतिर विशेष ध्यान दिनुपर्छ । पैदल यात्रुलाई जर्बजस्ति सडक नकाट्न सुसुचित गर्नुपर्छ । दिर्घकालिन जाम अन्त्यका लागि हस्तक्षेपकारी कदम नचाल्ने हो भने भविष्यमा राजधानी जामले झन आक्रान्त बनाउने तर्फ समयमै ध्यान दिन जरुरी छ ।