पुष्पराज अधिकारी
मकवानपुर । हेटौंडा उपहानगरपालिका वडा नम्बर ६ र ७ मा बर्डफ्लु भेटिएको कुखुराको खोर वरिपरि पालिएका ४१ हजार एकसय २५ कुखुरा नष्ट गरिएको छ । काठमाडौँबाट आएको पशु चिकित्सक तथा प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडा प्राविधिहरुले तीन दिन लगाएर खुकुरा खाल्डोमा पुरी नष्ट गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार कुखुरासँगै ६ हजार आठसय ९० अण्डा, दुईसय ७८ केजी दाना नष्ट गरिएको छ । ६ र ७ नम्बर वडाका २५ वटा कुखुरा फर्मको कुखुरा र अण्डा नष्ट गरिएको हो । सोमबार बिहान चार बजे खुकुरा नष्ट गरी सकिएको उहाँले जानकारी दिनुभयो । तीमध्ये १२ वटा फर्मको कुखुरा नष्ट गर्नुका साथै नमुना परीक्षणको लागि काठमाडौंस्थित परीक्षण केन्द्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । उक्त नमुनाको रिपोर्ट आएपछि बर्डफ्लुको देखिएमा त्यस वरिपरिको समेत खुकुरा नष्ट गर्ने र नदेखिएमा कुखुरा बिक्री वितरण खुल्ला गर्ने बताउनुभयो ।
बर्डफ्लु देखा परेपछि बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकको निर्णय अनुसार शनिबार बिहानबाट कुखुरा नष्ट गर्ने अभियान थालिएको थियो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख चिकित्सक डा. चेतनारायण खरेलका अनुसार कुखुरा नष्ट गर्न डाक्टरसहित एक दर्जन प्राविधिक कर्मचारी खटिएका थिए ।
यसैगरी जिल्ला स्थित क्षतिपूर्ति निर्धारण समितिका अध्यक्ष एवम् मकवानपुरका प्रमुख जिल्ला अधिकारी तामाङको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले बर्डफ्लु प्रभावित क्षेत्रमा नष्ट गरिएको कुखुरा, अण्डा र दानाको क्षतिपूर्ति दिने निर्णय गरेको छ । समितिले प्रति कुखुरा लेयर्स नौ सय रुपैयाँ, बोईलर चार सय रुपैयाँ, दाना प्रति केजी ६५ रुपैयाँ र अण्डा प्रतिगोटा ११ रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई सिफारिस गरेको छ ।
हेटौंडा ७ नागस्वतीका कुलप्रसाद चौलागाईंको कमर्शियल लेयर्स फर्ममा तीन साता अघि मरेको लेयर्स कुखुराको नमुना परीक्षणबाट बर्डफ्लु फेला परेपछि रोग नियन्त्रण गर्न प्रशासनले चौहदी तोकी कुखुरा, अण्डा र सुली अन्यत्र निकासीमा रोक लगाएको थियो । मकवानपुर कुखुरा व्यवसायी संघको अनुसार उक्त क्षेत्रमा मात्र ५० किसानले सात करोडको लागतमा करिव एक लाख कुखुरा पालन गरेका थिए ।