विद्यानन्द रामराजविराज । ‘जोगिरा सर र...र..., कौन ताल पर ढोलक बाजे, कौन ताल पर मृदङ्ग, कौन ताल पर गोरिया नाचे, कौन ताल पर हम’ जोगिरा सर र..र...’ बसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलको गाउँ–गाउँमा गाइने यस्ता प्रेमभावयुक्त होली गीत लोप हुँदै गएको छ ।
बढ्दो आधुनिकता र ग्रामीण क्षेत्रका युवा वैदेशिक रोजगारमा जाने क्रम बढेपछि होली गीत लोप हुँदै गएको हो । बोदे बरसाइन नगरपालिका–३ का ५८ वर्षीय राजकुमार ठाकुर पुख्र्यौली मृदङ्ग र डम्फा बजाएर जोगिरा गाउन नपाएकोमा दुख व्यक्त गर्छन् । ‘पहिला बसन्त ऋतुको आगमनसँगै फागु पूर्णिमासम्म समूह बनाएर गाउँ घुमेर फागु पर्वको आगमन भएको सन्देश दिन यस्ता गीत गाउँथेँ,’ उनले भने, ‘तर अब गाउँका युवा वैदेशिक रोजगारमा जाने क्रम बढेपछि गीत गाउने, मृदङ्ग र डम्फा बजाउने मानिसको अभाव खट्किएको छ ।’
सोही ठाउँका ६२ वर्षीय राजेन्द्र मुखिया (यादव) ले उदास हुँदै भने ‘माधुर्यता र प्रेमभावयुक्त गीत सुन्न दुर्लभ नै भइसक्यो, मृदङ्ग, ढोल, डम्फाको स्वर पनि सुन्न पाइँदैन ।’ उनले होलीको गीतमा पहिले धार्मिक र आध्यात्मिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, पिरती तथा उन्मुक्ति हुन्थ्यो, तर अहिले भोजपुरी तथा उच्शृंखल गीत आएकाले माधुर्यता र प्रेमभाव मिसिएको होली गीत बिरलै भएको बताए ।
अहिलेको होलीमा परम्परा, संस्कृति र पौराणिकता हराइसकेको भन्दै मुखियाले संकीर्णता छाएको बताए । सोही ठाउँका यदुनन्दन रामले भने, ‘युवाहरुको चाहना भनेको रक र रिमिक्सतर्फ छ, अब पुराना भाका खोजेर कहाँ हुन्छ र ?’
गीतकार र गायकले पनि पुराना भागा जोगाउन पहल गर्नेमा जोड दिदै उनले युवाको मन छुने भाकाहरु सिर्जना गर्न सके पुरानो भागाहरु लोप हुनबाट जोगाउन सकिने बताए । सदरमुकाम राजविराज–७ की मैथिली अभियानी करुणा झाले मानिसको अभावबाहेक अत्यधिक रक्सी सेवनका कारण दिनहुँजसो हुने झैझगडा, राग, द्वेषले होली गीत गाउन नै छाडिएको बताइन् । ‘होलीको तर्क, दर्शन, लौकिकतालाई गम्भीरतापूर्वक लिएको छैन,’ उनले भनिन्, ‘जस कारणले होली, होली नभएर भोगवादी र सहरमुखी होली हुन पगेको छ र पौराणिकतासँग जोडिएको होली गीत लोप भइरहेका छन् ।’
सांस्कृतिक र धार्मिक दृष्टिकोणले पनि अति महत्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेको भए पनि होलीको रौनकता नै विस्तारै हराएर गएको छ । पहिलेको होलीमा गाइने गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो । तर अहिले इन्टरनेट तथा बजारमा पाइने भोजपुरी गीतको सिडीमा अश्लीलता बढी हुन्छ । मिथिला क्षेत्रमा काम गर्ने संस्था तथा अगुवाहरु अगाडि आएर होलीको पौराणिकता र सांस्कृतिक महत्वलाई संरक्षण गर्नुपर्ने सप्तरीवासीको माग छ ।