गायत्री ज्ञवाली
साहुजी आफ्नो व्यापार दिनानुदिन फस्टाउँदै गएकोले निकै प्रशन्न देखिन्थे । साथै ग्राहकहरुको लामो लाम देखेर मख्ख पनि थिए । तरग्राहकहरु भने दिक्क अनि पट्यार मान्दै आफ्नो पालो कुरिराखेका थिए । उनिहरु एक आपसमा खासखुस गर्दै भन्दै थिए, ओहो, अझै कति बेर लाग्ने होला घरमा सुत्केरी छोरी भोकाई सकि होलिन्, बिरामी ससुरालाई कमजोरीले निकै गलाएको छ, भोकाई सक्नु भयो होला । अनि कोहि भन्दै थिए, पाहुना आउने बेला पनि हुन थालिसक्यो अझै कति बेर कुर्नु पर्ने हो कुन्नि ? सबै जना यस्तै यस्तै गुनासो पोख्दै थिए भने कसै कसैले फेरि चानचुन पैसा पर्स भित्र खोतल्दै सोध्दै थिए साहुजी किलो को कति ?
यस्तैमा कोहि अस्तिको भन्दा भाउ बढेकोमा महङ्गाई लाई सराप्दै झर्किदै थिए । केहि किनेर खान पनि नसकिने भयो बा । कोहि फेरि आफ्नै आँखाको अघि काटकुट गरेर रोजि रोजि जे भन्यो उहि दिन्छन साहुजीले । त्यसैले त साहुजीकोमा भिड लाग्ने गर्छ नि भनेर पसले दाईको गुनगान पनि गाउदै थिए ।म पनि आज अलिअलि चिसो लागेको बहानामा तातो तातो सुप को लागि सिमसिमे झरी मा ओत लाग्दै पालो पर्खिंदै थिएँ । साहुजी पनि ग्राहकको रोजाई अनुसार साना ठुला टुक्रा बनाउन व्यस्त देखिन्थे ।
अर्कोतिर कुना पट्टि एउटै खम्बामा बाँधिएर बसेका निरिह प्राणिहरु जस्ले आफ्नो पालो कहिल्यै पनि नआए हुन्थ्यो भन्दै मनै मनले पुकार गर्दै छन् जस्तो लाग्दै थियो। उनिहरु मायालु श्वरमा म्याँ म्याँ गर्दै आँखाबाट तपतप आँशु खसाल्दै थिए । मानौं यस्तो लागिरहेको थियो कि, उनिहरुले आत्मादेखि नै हार गुहार गरि आत्म रक्षाको लागि पुकार गरिराखेका छन् । तर अफसोच उनिहरुको म्याँ म्याँ को श्वर भने सडकमा चल्दै गरेका गाडी को होहल्ला संग मिसिएर केवल एउटा झर्को लाग्ने कोलाहलको रुपमा मात्रै परिणत हुँदै थियो।
म भने जिवनमा पहिलो पटक भावुक हुँदै टोलाएर उनिहरुको म्याँ म्याँको अर्थ बुझ्ने कोशिश गर्दै थिंए। यस्तो लागिरहृको थियो कि, उनिहरुले अन्तिम पटक दयावान मानिने मानिसहरुसँग करुणाको भिख मगिराखेका छन् । अथवा आफ्नो हक तथा अधिकारको प्रत्याभुतिको लागि भगवान समक्ष अन्तिम अपिल गरिराखेका छन् ।यस्तैमा आवाज आयो । बहिनी कता टोलाउनु भएको ? कति चाहियो तपाईं लाई ?म साहुजिको चर्को श्वर सुनेर झसंङ्ग झस्किंदै भनें, आधा किलो दिनुस न साहुजि । साहुजिले पनि फिलाको राम्रो राम्रो मासु काटकुट गरेर पोलिथिनको कालो व्यागमा पोको पारेर मेरो हातमा थमाउँदै भने, ओहो, चानचुन ठिक्क मिलाएर ल्याउनु पर्थ्यो नि बहिनि ?
म पनि निकै सस्तो मूल्य तिरेर कसैको अमूल्य जिवनलार्इ टुक्रा टुक्रा पारेर आफ्नो हातमा झुन्ड्याउँदै मनमनै नरमाईलो मान्दै त्यहाँबाट घर तर्फ मोडिएँ । कताकता भित्रभित्रै मलाई धेरै नरमाईलो अनुभव हुँदै थियो ।
पशुशोषण गरेको दोषारोपणमा आफुलाई पनि भागिदार सम्झेर होला, एक्कासि अनेकौं प्रश्नहरु मेरो कानमा गुन्जिराखेका थिए । जस्को जवाफ मैले कतै भेटिराखेको थिईंन । अताल्लिंदै सोच्दै थिएँ आजलाई जे भयो भयो तर भोलि देखि त पक्का रुपमा साकाहारी बन्छु बन्छु । यस्तैमा एउटा कहावत कानमा गुञ्जिन पुग्यो कल करे सो आजआज करे सो अब.......
यस्तो प्रण पहिले पनि धेरै पटक गरिसकेको हुँदा आफ्नो कुरामा आफुलाई नै विश्वास लाग्न सकि राखेको थिएन । यत्तिकैमा मेरो हातमा झुन्डिएको झोलालाई पछाडिबाट कसैले बलै सङ्ग ताने जस्तो महशुस भयो । म पनि आफ्नो हातको वस्तु जबरजस्ति खोसिनबाट जोगाउँदै आफुपट्टि बल लगाएर तान्न मात्र के भ्याएकि थिएँ , हातमा झुन्डिएको झोला च्यातिएर साहुजीको कोशेली भुईभरि पोखिए जस्तो लाग्यो ।
टाउको घुमाउँदै पछाडि फर्केर हेर्दा देखेको दृश्य, जस्ले मेरो मस्तिष्कमा उब्जिएका अनेकौ प्रश्नहरुका जवाफहरु बनेर छरपस्ट हुदै भुई भरी छरिएका थिए । घरभेटिले पालेको टाईगरले पनि म सङ्ग जबरजस्ति लुटेर मेरै सामुन्नेमा हतार हतार गर्दै दङ्ग परि परि मिठो मानि मानि चपाई चपाई खुशि हुदै खादै थियो ।
तर म भने किन किन यसरी लुटिंदा पनि अनौंठो खुशि महसुु गर्दै थिएँ । आफ्नो हातमा झुन्डिएको भारी कसैले एकाएक बलपुर्वक खोसिदिएर हात अनि मन हलुङ्गो पारि दिएकोमा आत्मा देखि नै प्रशन्न हुँदै उसलाई विशेष धन्यवाद दिइराखेकी थिएँ । यसरी जिवनमा सायद पहिलो पटक होला कसैले आफ्नो मुखको गास खोसेर खाईदिंदा मनको बोझ हल्का भए जस्तो अनौंठो आनन्द र असिम खुशी महसुस भएको ।