लक्ष्मी केसी
रुपन्देही । जनप्रतिनिधिले स्थानीय तहमा मनलाग्दी गरेको आरोप खेपिरहेका छन् । लाखौंका मोटरगाडी खरिद गरेको, इन्धन, तलवभता नियमभन्दा बढी लिएको, ठेक्कापट्टा आफै गर्ने र आफन्तलाई दिने गरेको, विकास निर्माणका काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । तर, यहाँका एक जना वडाअध्यक्षले भने उदाहरणीय काम गर्नुभएको छ ।रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर–७ का अध्यक्ष सरोज अधिकारीले आफ्नो पारिश्रमिक शिक्षा क्षेत्रमा खर्चेर उदारणीय कार्य गर्नुभएको हो।
लामो समय सामाजिक क्षेत्रमा क्रियाशील अधिकारी अध्यक्ष निर्वाचित भएदेखि पारिश्रमिक लिनुभएको छैन । २०७४ असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेबाट अधिकारी वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो। उहाँले आर्थिक वर्ष २०७५/०७६ को तलब वडामा रहेको आकाश रवी प्राथमिक विद्यालयलाई उपलब्ध गराउँदै आउनुभएकाे छ । उहाँकाे मासिक पारिश्रमिक वापत २० हजार पाउँछनुहुन्छ । त्यसमा कर कटाएर १९ हजार ८ सय हुन आउँछ ।
‘मैले मेरो तलब सबै विद्यालयको खातामै जानेगरी व्यवस्था मिलाउन गाउँपालिका कार्यालयलाई लिखित अनुरोध गरेको छु’, उहाँले भन्नुभयो, ‘विद्यालयको अवस्था दयनीय छ, भौतिक संरचना राम्रा छैनन् । गरिब तथा विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयको शैक्षिक गुणस्तरमा केही भए पनि सुधार ल्याउन तलब सबै दिने निर्णय गरेको हुँ ।’
अधिकारीले पालिका कार्यालयलाई पत्र काटेरै आफूले पाउने बैठकभत्ता, फोन खर्च र इन्धन खर्च समेत नलिने घोषणा गर्नुभएको छ । उहाँले त्यसवापत आउने रकम सरकारकै नाममा कायम रहने बताउनुभयो । नियमअनुसार प्रतिबैठक एक हजार भत्ता पाइन्छ । मासिक तीन बैठकसम्म गर्न पाइने व्यवस्था छ । यस्तै, फोन खर्च मासिक एक हजार र इन्धन मासिक २० लिटरसम्म वडाअध्यक्षले पाउँनुहुन्छ । उहाँले यी सबै सुविधा लिँनुभएको छैन । उहाँका अनुसार यी सुविधा भने ०७५ फागुन १ गतेदेखि लागू हुनेगरी नलिने घोषण गरेर गाउँपालिका कार्यालयलाई गराउनुभएको छ ।
अध्यक्ष अधिकारीले ०७४–०७५ को पारिश्रमिक रकम पनि शिक्षामै लगानी गर्नुभएको थियो । उहाँका वडाबासी सरस्वती महर्जनको छोराको पढाइका लागि एक लाख रुपैयाँ बैंक ब्यालेन्स गर्दिनुभएको छ । सरस्वती अशक्त छिन्, आर्थिक अवस्था कमजोर भएकाले छोरा शिक्षाबाट बञ्चित हुने अवस्था आएपछि गण्डकी विकास बैंकमा खाता खोलेर एक लाख रुपैयाँ उहाँको नाममा राखिदिएको हुँ’, उहाँले भन्नुभयो, ‘पाँच वर्ष ब्याजबाट पढ्न पुग्छ, त्यसपछि उहाँहरुले एकलाख समेत निकालेर खर्चिन सक्ने व्यवस्था मिलाइएको छु ।’
वडा भित्र पाँच शैक्षिक संस्था छन् । त्यसमध्ये २ प्रावि, एक–एक निमावि र मावि तथा एउटा प्लस टु संचालित विद्यालय छन्। प्लस टु संचालित विद्यालयबाहेक ४ वटाको अवस्था कमजोर छ । संरचना राम्रा छैनन् । ‘ग्रामीण क्षेत्रमा विद्यालयको अवस्था राम्रो छैन, त्यसमा पनि यहाँका शैक्षिक संस्था झन दयनीय अवस्थमा छन्, पालैपालो गरी सबै तलब वर्सेनि फरक–फरक विद्यालयलाई दिने छु’, उहाँले भन्नुभयो । उहाँले शैक्षिक सुधार, विकास निर्माण, कृषि लगायतका क्षेत्रमा वडालाई जिल्लाकै नमूना बनाउने बताउनुभयो ।
‘तलब पाइन्छ भनेर म निर्वाचन लडेको थिएन, समाजसेवा गर्छु, वडाको विकास गर्छु, सच्चा जनप्रतिनिधि भएर सुख दुःखमा साथ दिन्छु भनेर लडेको थिएँ’, उहाँले भन्नुभयो, ‘त्यसैले तलब नलिइकन जनताको सेवा गर्छु, वडाको समृद्धिमा लाग्छु ।’
जिल्लाको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले पनि पारिश्रमिक लिँनुभएको छैन । उहाँले पनि अहिलेसम्मको तलब सबै नगर भित्रको शिक्षा क्षेत्रमा खर्चिनुभएका छ । यस्तै, तिलोत्तमाकै वडानम्बर ७ का अध्यक्ष दुर्गा पाण्डे र सिद्धार्थनगर ४ का अध्यक्ष मुक्तिनाथ यादवले पनि पारिश्रमिक नलिई वडाको आवश्यकताका आधारमा विभिन्न क्षेत्रमा खर्चिँदै आउनुभएको छ। धेरै स्थानीय तहमा राम्रा कामभन्दा बेतिथिकै चर्चा बढी चलिरहेका बेला केही जनप्रतिनिधिको निर्णयले भने आम नागरिकमा आशा पलाउँदै गएको छ । इच्छाशक्ति भए जनप्रतिनिधिले पनि राम्रा काम गर्न सक्छन् भन्ने यी उदाहरण हुन् ।