विमल खड्का
काठमाडौं । फेसबुकबाटै प्रेम बसेपछि पाकिस्तानबाट प्रेमी भेट्न नेपाल आएकी अमानाको चर्चा धेरै भयो । कोहीले माया–प्रेमको सच्चा कहानी भनेर परिभाषा दिए भने कसैले फेसबुकबाट प्रेमी खोज्दै नेपाल आउनु सान्दर्भिक नभएको तर्क गरे । जसले जे भनेपनि उनीहरुले मायाको जग बसालिछाडे ।
समाजिक सञ्जाल फेसबुकमा माया प्रिति साटेका उनीहरु अहिले एक भएका छन् । करिब दुई वर्षदेखिको सम्बन्धलाई उनीहरुले बिवाहमा परिणत गराएका छन् । कानुनी रुपमा नै विवाह बन्धनमा बाँधिएका हुन् ।
फागुन १२ गते देवानी संहिता मुलुकी ऐन २०७४ को दफा ७७ बमोजिम ‘मञ्जुरी भयौँ’ भनि जिल्ला अदालत बागलुङमा विवाह दर्ता गराएपछि अदालले कानुन बमोजिम बिवाह गरिदियाे । र पाकिस्तानी अमानाले जिल्ला प्रशासन बागलुङबाट बैवाहिक अंगिकृत नागरिकता पाइन् ।
बागलुङ नगरपालिका – १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्य र २२ वर्षीय प्रेमी अमाना सफिकले हिन्दु परम्पराअनुसार बिवाह गरेका छन् । दुई फरक -फरक देशका उनीहरू धर्ममा समेत हिन्दु र मुस्लिम समुदायका हुन्।
पाकिस्तानको रावलपिण्डीमा आईटी इन्जिनियरिङ अध्ययनरत सफिक सामाजिक सञ्जालमार्फत आचार्यसँग प्रेम सम्बन्धमा जोडिएपछि नेपाली भाषा समेत सिकिन् । अहिले उनी नेपाली भाषा बोल्न र लेख्न सक्ने भएकी छन् ।
कसरी सम्भव भयो विवाह ?प्राविधिक विषय अध्ययनरत आमना र संगीतका विद्यार्थी सुदिनबीच काठमाडौंमा पहिलो भेट भयो । त्यतिबेला अमाना काठमाडौंस्थित भद्रकाली आईटीकलेजमा अध्ययनरत थिइन् । साथीहरूमार्फत भेट भएपछि उनीहरूबीच प्रेम सम्बन्ध बस्यो । उक्त प्रेमलाई भूगोल, जात, धर्म र संस्कृतिले छेकेन ।
काठमाडौं बसाईका क्रममा अमानाले नेपाली साथीहरूको संगतमा नेपाली भाषा पनि सिकिन् । साथीहरूकै समूहमा घुम्ने क्रममा सुदिन आचार्यसँग उनको परिचय भयो । सामान्य चिनजानपछि उनीहरू फेसबुकमा जोडिए । दुई वर्षदेखिको फेसबुके सम्बन्धले उनीहरूलाई दैनिक भेटघाट हुने वातावरण बनाइदियो । त्यही फेसबुक मार्फत बसेको प्रेम सम्बन्ध अहिले बिवाहमा परिणत भएकाे छ ।
प्रेम सम्बन्ध झाँगिएपछि सुदिन आचार्यले आफ्ना बुबा टीकारामलाई सम्बन्धको बारेमा सुनाए । आचार्यका बाबुले पाकिस्तानी अमानाको बुबा मोहम्मद सफिकलाई चिठी लेखे । विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको उल्लेख गर्दै उनीहरुको विवाह गरिदिने प्रस्ताव सहितको चिठी टीकारामले पाकिस्तान पठाए । फोनमै अमानाले आफ्नो चाहना सुदिनसँग बिवाह गर्ने बताइन् र यसका लागि आफ्ना पिता मोहम्मद सफिकको पनि स्वीकारोक्ती रहेकाे सुनाइन् ।
कानुनी रुपमा बिवाह दर्ता गरेकी अमानाले चैत १ गते जिल्ला प्रशासन बागलुङ पुगेर बैवाहिक अंगिकृत नागरिकता लिइन् । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलका अनुसार देवानी संहिता ७४ को दफा ७७ बोमोजिम अमानालाई बैवाहिक अंगिकृत नागरिकता प्रदान गरियाे । आईटी अध्ययनरत अमानाले अब नेपालमै बसेर काम गर्ने बताएकी छन् ।
सामाजिक रूपमा समस्या पर्न सक्ने भएपछि आजकाल अन्तरजातीय, अन्तरधार्मिक विवाहहरु अदालतमै पुगेर गर्ने क्रम बढ्दो छ । अहिले उनीहरु बागलुङ नगरपालिका -१२ अमलाचौरमा बस्दै आएका छन् ।
जात, धर्म, रङ्ग र भूगाेलका आधारमा विभेद विद्यमान रहेका बेला सुदिन र अमानाको जोडी उदाहरणीय बनेको छ । यो जोडीले माया र प्रेमको दायरालाई पनि फराकिलो बनाएको छ । यसअघि आफ्नो जात र धर्मभन्दा बाहिर गएर बैवाहिक सम्बन्ध बनाउनु हुँदैन भन्दै आएकाे हाम्राे समाजले यस्ता उदाहरणबाट निकै सकरात्मक सन्देश लिन सक्छ । साथ–साथै सामाजिक सञ्जालकाे सहि प्रयाेग गरिदा दुई भिन्न भिन्न मुटुबीच भएकाे याे मिलनले आजकाे युवा पुस्तालाई यसकाे सहि प्रयाेगबारे मिठाे सन्देश पनि दिन्छ ।