प्रतिकात्मक तस्बिर
काठमाडौं, धनुषा, बैतडी र ललितपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१५ सिद्धार्थचोकस्थित सडकमा नम्बर नखुलेको मोटरसाइकले ३ जना पैदलयात्रीलाई बुधबार दिउँसो ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका–६ का ३० वर्षीय सुनिल बस्नेतको मृत्यु भएको छ । उहाँलाई उपचारको लागि मनमोहन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट सितापाइला बस्ने नुवाकोट कुमारी गाउँपालिका घर भएका ३२ वर्षीया लक्ष्मीकुमारी राई, २६ वर्षीया रूपा राई र १८ वर्षीया विपिना राई खुट्टामा चोट लागेर सामान्य घाइते भएका छन् ।
यसैगरी काठमाडौ महानगरपालिका–६ सरस्वतीनगरस्थित सडकमा बा ३८ प ३७९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कपनका सिन्धुपाल्चोक घर भएका २६ वर्षीय बिमलरोक्काको ओम अस्पताल चावहिलमा उपचारको क्रममा मुत्यु भएको छ । सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय जीवन खत्रीको अस्पतलामा उपचार भइरहेको छ ।
धनुषाको बिदेह नगरपालिका–६ एकराहीस्थित ज १ त ७१०८ नम्बरको ट्याक्टरले बुधबार बेलुका साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका त्यहीँ ठाउँ बस्ने १५ वर्षीय सुजित पासवानको उपचारको लागि जनकपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साईकल चालक ८ वर्षीय रोहित पासवान सामान्य घाइते भएका छन् । ट्याक्टर चालक फरार रहेकोले प्रहरीले खोजि गरिरहेको छ ।
बैतडीको सुर्नया गाउँपालिका–३ स्थित से १ त ७६४९ नम्बरको ट्याक्टरबाट बुधबार बेलुका खसेर गम्भीर घाइते भएकी ट्याक्टरमा सवार ४५ वर्षीया सीतादेवी ऐरीको उपचारको लागि जिल्ला अस्पताल बैतडीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । अर्का घाइते त्यहीँ ठाउँ बस्ने धनबहादुर महराको छोरा ८ वर्षीय किरण महरा उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुरमहानगरपालिका–२४ धापाखेलस्थित बा ३० प ९७९० नम्बरको मोटरसाइकलले बुधबार बेलुका ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री गोदावरी नगरपालिका–१२ बस्ने १६ वर्षीय सचिन श्रेष्ठको सुमेरु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।