बाँके । छ वर्षअघिको एउटा अपहरण काण्डका फरार अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहामनगरपालिका–९ का २२ बर्षिय मुन्नु अन्सारीलाई अपहरणपछि रु।नौ लाख फिरौती लिएर फरार रहेका जानकी गाउँपालिका–३ इन्द्रपुरका ५० वर्षीय मुल्ला भनिने निजामुद्दिन साईलाई प्रहरीले पक्राउ गरेको हो ।
अपहरणमा परेका मुन्नु भने अझै वेपत्ता रहेका छन् । साईलाई बाँके जिल्ला अदालतले ९ वर्ष कैद र ९ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । २०६९ साल असार २६ गते दिउँसो २ः३० बजेतिर घर नजिकैबाट आमिरलाई अपहरण गरेर बेपत्ता पारेकोबारे तीन महिना लगाएर बाँके प्रहरीले असोज १५ गते किटानी जाहेरी लिएको थियो ।
अपहरणपछि २० लाख रुपैयाँ फिरौती माग गरेका अपराधीलाई पीडित परिवारले रु।९ लाख बुझाएको थियो । आफ्नै मामा सिराजुल रहमान अन्सारीमार्फत दिइएको ९ लाख रुपैयाँ पाएपछि अपराधीहरूले पीडित परिवारसँग सम्पक विच्छेद गरेका थिए । तत्कालिन जिल्ला न्यायाधीश हरिप्रताप केसीले उक्त फैसला गर्दै जरिवानाबाट पीडित परिवारलाई क्षतिपूर्ति भराउन निर्देशन दिएका थिए ।
अदालतले साईसहितका नौ जनालाई कैद सजाय र जरिवाना गरेको थियो । जसमा तीन जना भारतीय नागरिक रहेका छन् । मुन्नुका दाजु ताहिर अन्सारीले दिएको जाहेरीमाथि माग दाबी अनुसार नै अदालतले फैसला गरेको थियो । प्रहरीका अनुसार अपहरणमा संलग्न कम्दीका झल्लु धोबी र बकरिदी शेष र भारतीय नागरिक इरसाद खान, मोइन कुरैसी र सिराजुल रहमान अन्सारी गरी पाँच जना अझै फरार छन् ।
‘भाइ नफर्किए पनि अपराधीलाई कारवाही भएकोमा न्यायको अनुभूति भएको छ,’ जाहेरवाला ताहिरले पक्राउपछि प्रतिक्रिया दिँदै भने, ‘अब भाइको अवस्थाबारे थाहा होला । फिरौती लिएपछि अपराधीहरूले भाइको हत्या गरेको सूचना हामीकहाँ आएको थियो,’ ताहिरले भने । शव गाडिएको ठाउँसमेतको जानकारी आएकाले उत्खनन गरेर डिएनए परीक्षण गर्न पाउनुपर्ने परिवारको माग गरेको उनले बताए ।