जोसेफ शाही
काठमाडौं ।नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो कोहि गीतको लय र तालसंगै नाचिहाल्छन् त कोहि मनमनै भएपनि कम्मर मर्काउँछन् । रोपाईं, मेला पात, चाडवाड र साँस्कृतिक महोत्सवमा लोक गीतको मिठासमा नचोबलिएका नेपाली शायदै भेटिएलान् ।
दैलेखमा हुँदा लोक, देउडा गीत निकै सुनिन्थ्यो र गाइन्थ्यो पनि । काठमाडौं पसेदेखिनै टेलिभिजनको पर्दा एवं विभिन्न लोकगीतका सार्वजनिक कार्यक्रममा एकजना बूढा ‘हजुरबुवा’को बडो लोभलाग्दो नृत्य हेरिन्थ्यो । गालामा बुढेसकालका प्रशस्तै रेखी देखिएपनि उहाँको नृत्यमा जवानीको जोश भेटिन्थ्यो ।
संयोगवश आज जनता टेभिजनको लोक दोहोरी कार्यक्रम ‘लोकमाला’मा पहिलेको जोशमै नाचिरहेको अवस्थामा भेटेँ उनै हजुरबुवालाई । गीत संगीतमा बढीनै झुकाव भएर होला सहकर्मी साथीहरुसँग दोहोरी सुन्दैथिएँ । लाग्यो ‘हजुरबुवा’को स्टोरी लेखौं…कार्यक्रम सकिने वित्तिकै उहाँलाई बोलाएँ र कुरा गरेँ ।
उनी नाच्दिनन्, लाज मान्छिन् । घरमा टेलिभिजनमा मैले नाचेको हेरेर बस्छिन् ।
जोरपाटी नरायणटार स्थाई बसोवास गर्नुहुने ‘हजुरबुवा’ जगन्नाथ भण्डारी ८१ वर्ष पुगिसक्नुभएछ । मैले उहाँलाई अझै नजिकबाट जान्न खोज्दा भन्नुभयो, नेपाल वायुसेवा निगमको रोडर थिएँ । ६२ सालमा निवृत भएको हुँ । त्यसयता घरमा हँुदा घरको काममा सघाउँछु र यस्तै कार्यक्रममा बोलाउनुहुन्छ आउँछु नाच्छु….नाचेर कहिल्यै थाक्दैन । उमेरले त ८० नाघिससके अनुहार पनि चाउरी पर्यो तर नाच्दा भर्खरको युवा नै हुँ जस्तो लाग्छ । अचेल त नाच्ने काम मात्रै छ, नाचेरै स्वस्थ छु । खासै विरामी पनि केहि छैन ।
‘हजुरबुवा’ जगन्नाथ बाल्यकालदेखिनै नाच्न औधी रहर गर्नुहुन्थ्यो । जात्रामा, चाड पर्वमा नाच्ने माहोल जुर्यो की अघि सरिहाल्नहुन्थ्यो । उहाँले भन्नुभयो, हालसम्म कति सार्वजनिक कार्यक्रममा नाचे ठ्याक्कै त गनेको छैन तर यसो अनुमान गरेर भन्दा ५ सय भन्दा बढी लोकगीतका सार्वजनिक कार्यक्रममा नाचिसके होला । धेरैले ‘हजुरबुवा’ नाच्न आउनुपर्यो भनेर बालाउनुहुन्छ, बोलाउँदा पटक्कै झन्झट लाग्दैन । बरु रमाईलो लाग्छ । तिजको बेला त दिनदिनै नाचिन्छ । तर नाचेर कहिल्यै जीउ दुख्दैन । मेरो त नाच्न नपाए जीउ भारी हुन्छ । उहाँ घरमा पनि हात बाँधेर बस्नुहुन्न । बगैंचा, घर आगन सरसरफाई गर्नुहुन्छ, गमलामा पानी हाल्नुहुन्छ र घुमफिर गरिहनुहुन्छ । उहाँको ८१ वर्षको उमेरमा पनि जोश, जाँगर र स्वस्थ हुनुको राज सक्रिय जीवनशैली नै हो ।
हजुर आमा नाच्नुुहुन्छ कि नाई भन्ने जिज्ञासामा ‘हजुरबुवा’ले ठट्यौली शैलीमा भन्नुभयो, उनी नाच्दिनन्, लाज मान्छिन् । घरमा टेलिभिजनमा मैले नाचेको हेरेर बस्छिन् । अनि मैले पनि ठट्यौली शैलीमै थपिहालें, हजुरले भागी कि मागी बिवाह गर्नुभएको हो ? जवाफमा भन्नुभयो, हाम्रो पालामा त अहिलेजस्तो खुलमखुल्ला छाडा तरिकाले माया गर्ने चलन थिएन । शुरुमा उनीसंग चावहिल गणेश थानमा चिनजान भएपछि लुकीछिपी भेटघाट हुनथाल्यो । माया झांगिदै गएपछि भगाएरै विहे गरें ।
उहाँ जोशिलो नृत्य मात्र होइन कुशल अभिनय पनि गर्नहुन्छ । उहाँले तितो सत्य, जिरे खुर्सानी, मेरि बास्सै, झ्याईँकुटी लगायतका हाँस्य टेलिसिरियलमा अभिनय गर्नुभएको छ । छक्का पञ्जा–२, माला, कहाँ भेटिएला, मजवुर लगायतका ठूलो पर्दाका चलचित्रमा समेत अभिनय गर्नुभएको छ । उहाँले अभिनय गर्नुभएको आइएमईको विज्ञापन त झन देशैभरी चर्चामा छ । ८१ वर्षका ‘हजुरबुवा’को उत्साहपूर्ण सक्रियता सबैका लागि अनुकरणीय हुनसक्छ ।
‘हजुरबुवा’ जग्गनाथ भन्नुहुन्छ, के वृद्ध–वृद्धा, के युवा–युवती के बालबालिका सबै मनैदेखि नाच्नुपर्छ । नाचे स्वस्थ भइन्छ ।