निरुपा प्रसून
४.
चैत लागिसकेको थियो । दिउँसो आधारको फुर्सद हुँदैनथ्यो । साँझतिर भेट्थ्यौं । हावाहुरी अनि पानीमा पनि कोठा खोज्न निस्कन्थ्यौं । पहिलो प्राथमिकता आधारको घर वरपर नै थियो । म पहिलो पटक एक्लै बस्न लागेकी थिएँ । आधार नजिकै भई भने शून्य लाग्नेछैन । फेरि बिरामी पर्दा पनि मान्छे चाहिन्छ ।
त्यो साँझ हावाहुरी पानी मात्रै होइन, असिना नै परेको थियो । हामी एउटा किराना पसलमा ओत लाग्न बस्यौं । ढुङ्गा खोज्दा देवता मिलेझैँ भयो । कोठा खोज्ने नै काम गर्ने मान्छे भेट्यौं । मोबाइल नम्बर दियौं । उसको पनि लियौं । कोठा भेटेपछि फोन गर्छ रे । कोठै पाइहाले जस्तो निर्धक्क भएँ म ।
कोठा पाइएको खबर आयो । म, दिदी, आधार र आधारको मम्मी कोठा हेर्न गयौं । सबैलाई मन पर्यो । रिङरोडदेखि अलिकति भित्र, आधारको घरबाट १० मिनेटको दूरीमा । एक तलाको रहेछ । माथि घरबेटीहरु बस्दा रहेछन् । तल चारवटा कोठामा दुइटा कोठा खाली रहेछन् । दुई कोठामा लोग्नेस्वास्नी बस्दा रहेछन् । एउटा कोठामा म बस्ने निश्चित भयो ।
दिदी त म एक्लै बस्ने कुरामा विश्वस्त हुनुहुन्थेन क्यारे । अचम्म मानिरहनुभएको थियो । उसो त दिदीले बिहे गरेर मलाई एक्लै पार्दिनु होला भन्ने सोचेकै पनि थिइनँ मैले । जिन्दगीमा सोचेका कुराभन्दा पहिले आउँदा रहेछन् नसोचेका कुराहरु ।
म कोठामा सरेको पहिलो दिन, बिहान छ बजेको थियो । ढोकामा ढक्ढक् सुनेँ । हतारहतार लुगा मिलाउदै उठेँ । ढोका खोलेँ । आधार दूध र बिस्कुट लिएर उभिएकी । सपना जस्तो लाग्यो । मलाई अँगालो हाली । आँखा मिच्दै उसको हात हटाएँ । बाथरुम गएँ । हातमुख धोएर फर्किएँ ।
५.
दिदीको बिहे धुमधामसँग सम्पन्न भयो । म कोठा सरेँ । मलाई लाग्थ्यो, एउटै कोठामा सबै थोक कसरी अट्छ होला ? त्यस्तो भएन । कोठाको एउटा कुनामा किचन र्याक, ढोकाको कुनामा कम्प्युटर, अर्को कुनामा टेबल–कुर्ची अनि त्यहीँ सँगै अर्को कुना छोएर पलङ राख्यौं । किचन र्याक सँगै हार मिलाएर सिलिन्डर, बाल्टिन र पानीको जार अनि चामलको बोरा म आफैँले मिलाएर राखेँ । भित्तामा हरियो रङ लगाइएको छ । सिलिङमा सेतो । कोठामा एउटा मात्रै झ्याल छ । सेतो भुँइमाथि नीलो फूल र कालो डाँठ–पात भएको पर्दा झुन्ड्याएँ । निकै सुहायो झ्याललाई । मार्बल जस्तै देखिने चारपाटे बुट्टा भएको बैजनी र सेतो रङ्गको कार्पेट ओछ्याएँ । त्यसमाथि सानो–रातो र कहीँकतै कलेजी पनि मिसिएको गलैंचा ओछ्याएँ । मेरो कोठा मेरो कल्पनाभन्दा राम्रो देखियो ।
‘कस्तो रह्यो त नयाँ घरमा पहिलो रात ?’
‘मलाई त नयाँ ठाउँमा सरेकी छु भन्ने पनि याद भएन । भुसुक्कै निदाएँ ।’
कोठा नपाइएला अनि काठमाडौं बस्न नपाइएला भन्ने कत्रो पिर थियो । घर जानबाट बचेँ । आनन्दको निद्रा परेको थियो । आधार आफैले काठको बिँड भएको चिया बनाउने भाँडामा दूध बसाली । दूध उम्लियो । दुइटा कपमा दूध खन्याई । चिनी र कफी पालैपालो राखी । मलाई कफी दिइन । कफीमा बिस्कुट चोपेर खुवाइदिई । म आफ्नो भाग कफी समाउन खोज्दै थिएँ । दिइन । स–सानो बच्चालाई जस्तै खुवाइदिई कफी र बिस्कुट ।
मलाई खुवाइदिइसकेपछि आफू खाई । त्यो कफी सेलाइसकेको हुनुपर्छ । एक्कै सासमा पिइदिई । आधार मेरो निधारमा चुम्बन गरेर गई । त्यसै दिन दिउँसो फेरि आधार भेज मःम लिएर आई । मःम प्लेटमा राखेर बिहानै जसरी खुवाइदिन लागी । आफै खान्छु भनेँ, दिइन । जिद्दी गरी । अचारमा चोब्दै आफ्नै हातले खुवाइदिई । मलाई असाध्यै मीठो लाग्यो ।
६.
आधारलाई मेरो आवाजमा अलिकति पनि फेरबदल हुनुहुँदैन । धर्ती नै धुजा–धुजा हुन लागेझैँ आत्तिन्छे । ‘सन्चो छैन,’ के भन्नुपर्छ फोन र मेसेज गरेर सम्पूर्णरुपमा बिरामी पारिदिन्छे । मोबाइल अफ गरेर सुत्नुपर्छ । अनि त झन् के चाहियो ? ऊ कोठामै हाजिर हुन्छे । आफ्नो हजार काम बिताएर भए पनि आत्तिँदै मेरो लास नै उठाउन लाग्या जस्तै हड्बडाउँदै आइपुग्छे ।
उसैले ल्याइदिएको पिज्जा खाएदेखि डाइरिया भो मलाई । कलेज जान पनि सकिनँ । आमालाई सम्झेँ । आधार आई । दूध र सुपहरु लेराएकी रहिछे । सुप बनाएर खुवाउन लागेकी थिई । म त रोएँ । आवाजविहीन आँसु छुटे । ऊ सुपको भाँडा भुइँमा थन्काएर मलाई अँगालो हालेर सुम्सुम्याउन थाली । आँसु पुछिदिई । म उसको घनीभूत मायाले रोएँ या उनको साथसहयोगले रोएँ या घरमा आमालाई सम्झेर रोएँ, मलाई नै थाहा थिएन । दुई वर्षको बच्चालाई जस्तै माया गर्दै सुमसुम्याइ रही ।
‘म सुप खान्छु नि ! मलाई भोक लागिराछ ।’ आमाको काखमा बसेजस्तै गरी आमालाई जस्तै गरी भनेँ ।
उसले मलाई मरेको मान्छेलाई जुम्राले छोडेजस्तो झ्वाट्ट छोडिदिई । मेरो मन एकतमासको भो ।
‘मलाई माफ गर । तिमी मलाई जति माया गर्छौ, म गर्दिनँ ।’ भनेँ मैले ।
‘जरूरी पनि छैन । मैले पनि कहाँ तिम्लाई माया गरेको हो र ! यसो गर्दा म आफैँलाई आनन्द हुन्छ । मलाई खुसी मिल्छ । स्वार्थी छु म ।’
यसो भनेर ऊ तातो सुपको चम्चा आफ्नो ओठ छेउ पुर्याएर फु–फु गर्दै मलाई खुवाउन थाली ।
त्यतिखेर उदेकलाग्दो मायाको अनुभूति गरेकी थिएँ । अनुभूति गरेको कुरा क्षणिक होला तर असत्य भने हुँदैन । आधारको मायासँग तुलना गर्ने कुनै अर्को सम्बन्ध देख्दिनँ म ।
७.
राति आठ बजे । पल्लोपट्टि बस्ने स्वास्नी चाहिँले फोन गरिन्, ‘राम्रोसँग ढोका लगाएर बस्नु बैनी, आज हामी आउँदैनौं ।’
‘हुन्छ,’ भनेँ ।
खाना खाइसकेर पढ्न बस्दादेखि नै, आज म यो सिङ्गो फ्ल्याटमा एक्लै छु भनेर झस्किरहेकी थिएँ । एघार बजे बत्ती अफ गरेर सुतेँ । निद्रा के लाग्नु थियो ? बाहिर खिसिक्क ग¥यो कि डराउन थालेँ । रात जति छिप्पिँदै थियो मेरो डर पनि उति…। माथि घरबेटी आन्टीसँग राम्रैसँग नजिकिइसकेकी थिएँ । उठेँ माथि जान । घरबेटीका दुई छोरा छन् । मभन्दा ठूला छन् दुवै । आज यसरी डराएर माथि गएँ भने ? भोलिदेखि पक्कै उनीहरुले हेप्नेछन् मलाई । माथि जान पनि सकिनँ म ।
आधारको घर नजिक छ । फोन गरँे भने पक्कै आउँछे । धेरै दुःख दिइसकेँ मैले उसलाई । बिचरी दिनभर कलेजमा पढाउँदा थाकेकी हुन्छे । हुँदाहुँदा राति पनि… । दिदी टाढा हुनुहुन्छ । यो मध्यराति के गर्न सक्नुहुन्थ्यो र ! सम्भव छैन । वरिपरि कोही पनि देखिनँ । आमालाई सम्झेँ । फोन गर्न मोबाइलमा नम्बर थिचेँ । गरिनँ । उति टाढाबाट के नै गर्न सक्नुहुन्छ ? सान्त्वना दिनबाहेक । फेरि उहाँलाई पिर पर्छ । म रहर र जिद्दीले एक्लै बसेकी छु । यसरी राति राति रूँदै फोन गर्दा…म एकदम कमजोर ठहरिनेछु । मेरो यो हालत सुन्नुभयो भने भोलि नै आइपुग्नुहुन्छ आमा । अहँ, मैले आमालाई पनि फोन गरिनँ । डरले मुटु फुट्ला जस्तो भइसक्यो । उपाय केही देख्दिनँ । एकैछिनमा मेरा हात–खुट्टा चिसा भए । फेरि ज्वरो नै आएजस्तो भयो ।
मैले ठानेँ, मलाई भूत लाग्यो । कहीँ चिसो, कहीँ तातो, मलाई यस्तै भइरहेछ । रातको बाह्र बजेको छ । सुनेकै कुरा हो । भूत जहिले पनि मध्यरात बाह्र बजे आउँछ । नेवारको घरमा ख्याक हुन्छ भन्ने पनि सुनेकै हो । अहो ! अब त मेरो घाँटी नै अठ्याएँ जस्तो भयो । आँसु त पहिल्यै बगिरहेको थियो कालीगण्डकीजस्तै, अब त नारायणी बन्ने तरखरमा जो थियो । म हिक्कहिक्क गर्दै रून थालेँ । यस्तो परिस्थितिमा कोही छैन भन्ने लाग्यो । अचानक मैले बिहे गर्छु भन्ने सोचेँ । बिहे सम्झँदै गर्दा मेरो आँसु रोकियो । डर पनि हराएजस्तै भयो । घडी हेरेँ । दुई बजेको रहेछ । घरगाउँतिर बुहारीहरु घरधन्दा गर्न दुई–तीन बजे नै उठ्छन् । अब त मान्छे उठ्ने यो बेला भूत आउँदैन भनेर ढुक्क भएँ । भुसुक्कै निदाएछु ।
आधारसँग घुम्न हिँड्दा ऊ मलाई हात समातेर डोहो¥याउँछे । सडकपट्टि आफू हिँड्छे र मलाई कुनामा हिँडाउँछे । एक पटक मेरो कोठा जाँदै थियौं कच्ची बाटो हुँदै । बाटो साँघुरो थियो । हामीभन्दा विपरीत दिशाबाट आएको बाइकले मलाई छोएर गयो । अलिकति खोस्रे जस्तो भयो मेरो कुइनामा । त्यो बाइक त गइसकेको थियो । आधार यति धेरै कराई कि वरपरका मान्छे नै जम्मा भए । भएको भने केही थिएन । बौलाहीझैँ कराई । सरापी तथानाम । मलाई लाजमर्दो बनाइदिई ।
कोठामा आएर ऊ त मसँग टाँसिएर रून पो थाली । ऊ मलाई यति धेरै माया किन गर्छे ? बदलामा मैले केही दिइरहेकी छैन । दिन पनि सक्दिनँ । विनास्वार्थ कोही कसैले यति धेरै माया गर्न सक्ला ? सक्छन् । आधारले त्यही माया दिइरहेकी छे मलाई । आधार मेरी आमा जत्तिकै वात्सल्यमयी लाग्यो मलाई । कुइनामा अलिकति रगत आए जस्तो मात्र थियो । पुछिवरी बेटाडिन लगाइदिई । घन्टौंंसम्म त्यो घाउलाई फु–फु गरिरही ।
‘तिम्लाई केही भएको भए त्यस गधालाई त्यहीँ मारिदिन्थे ।’ आधारको रिस साम्य हुने छाँटकाँट देखिएन ।
‘तिमी त कपाल काटेर केटा जस्तो बनेर हिँड्नुपर्ने होइन र ? खुब आफूलाई जो हिरो ठान्छौ । फेरि जो हिरोइनझै राम्री बनेर हिँड्छौ ।’ रिसाएको अनुहारमा एकाएक चमक आयो ।
‘मेरी प्यारी राजकुमारी ! म कपाल काट्दिनँ । धेरै केटीहरु सिल्की कपाल हेर्दा एकपटक भए पनि बोलिहाल्छन् । सोधिहाल्छन्— ‘कुन स्याम्पु लगाउछौ ?’ कति केटीहरु त मेरो यही सिल्की कपालकै कारण मसँग बोल्छन् । साथी पनि बनेका छन् । मेरा स्टुडेन्टहरु यही कपालकै कारण मेरो वरिपरि हुन्छन् । केटा जस्तो बन्न थालेँ भने त केटीहरु बोल्नै डराउँछन् । म त्यति बुद्धु पनि कहाँ छु र ?’
ऊ एकदमै इन्टेलिजेन्ट छे भन्ठान्छु म । सबैलाई आफ्नो वरिपरि घुमाउन चाहन्छे । ऊ मलाई त झन् सधैं आफ्नै आँखा अगाडि देखिरहूँ जस्तो गर्छे आमाले छोराछोरीलाई गरे जस्तै । क्रमशः