चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस बलियो नभए संघीयता खतरामा पर्ने बताउनुभएको छ । नेपाली कांग्रेस रत्ननगर नगर समितिले शनिबार रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले लामो सङ्घर्षपछि प्राप्त संघीयतालाई सफल बनाउन आफ्नो पार्टी सजग हुनुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘गणतन्त्र र संघीयता धरापमा परेको छ, त्यसको संरक्षणका लागि कांग्रेस लड्नुपर्छ ।’ मुलुकमा दण्डहिनता बढ्दै गएको बताउँदै उहाँले अहिलेको समयमा लगानीको वातावरण बन्न नसकेको आरोप लगाउनुभयो । राजनीतिक स्थिरता भए पनि वित्तीय संस्था धरासायी बन्दै जानु, व्यापार घाटा बढ्दै जानु दुःखद् रहेको उहाँको भनाइ छ ।
फरक प्रसङ्गमा नेता कोइरालाले पार्टीलाई गिरोहले सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक संस्कारसँगै नैतिकता सिकाउँदै पार्टीलाई बलियो बनाउनु आवश्यक छ ।’ कांग्रेसलाई बलियो बनाउन महासमिति बैठकको निर्णय कार्यान्वयन गर्दै समयमा महाधिवेशन गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, सावित्री बोगटी पाठक, क्षेत्रीय सभापति कुमार कार्की, रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरे, उपसभापति केदार चापागाईंलगायतले बोल्नुभएको थियो । कार्यक्रममा महासमिति सदस्य देवराज चालिसे र दिनेश कोइरालाले प्रशिक्षण दिनुभएको थियो ।