आनन्द गुरुङ
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् (एसईई) आजदेखि शुरु भएको छ । एसईई परीक्षामा नेकपा सांसद शान्ता चौधरी जेष्ठ वृद्धा युग माया कार्की र चलचित्रकर्मी करिश्मा मानन्धर सहभागी हुनुभएकाे छ । सांसद चाैधरीले महेन्द्र मावि तुल्सीपुरबाट परीक्षा दिइरहनुभएको छ ।
६७ वर्षीया युग माया कार्की काठमाडौंको सिद्धेश्वर मावि केन्द्रबाट परीक्षा दिइरहनुभएकाे छ । सम्भवत कार्की नै यस वर्षको जेष्ठ परीक्षार्थी भएको सिदेशवर मावि परीक्षा केन्द्रको दाबी छ ।
त्यस्तै, चलचित्रकर्मी तथा नायिका करिश्मा मानन्धरले विजय स्मार मावि केन्द्रबाट परीक्षा दिइरहनु भएको छ ।
परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका छन् । आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी छन् ।
परीक्षार्थीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ बाट १ लाख ६ सय २ र सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षामा देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ, भने १ हजार ९ सय ६९ केन्द्राध्यक्ष, ३ हजार १ सय ६७ सह–केन्द्राध्यक्ष र २९ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मुलुक संघीयतामा गएपछि यसवर्षबाट पहिलोपटक परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गरेको छ ।
प्रदेशअनुसार नै प्रश्नपत्र पनि छपाई गरिएको छ । परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन गर्नेछ ।
परीक्षामा साधारणतर्फको अनिवार्य ६ वटा विषयका फरक–फरक प्रश्नपत्र बनाइएको छ, भने प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ ।