–अस्मिता रिजाल
काठमाडौं । इँटा भट्टामा काम गर्ने मजदुरको दैनिकी पक्कै कष्टकर होला, हामी बाहिरबाट यही देख्छौँ । तर उनीहरु यही कष्टकर दैनिकीबीच सन्तुष्ट जीवन बिताइरहेका छन्, हेरौँ श्रमिकहरुको जिउने कला कस्तो छ त ?
उपत्यकाको दक्षिणी काँठ क्षेत्र, फाँटमा सञ्चालित इँटा उद्योगमा श्रमिकहरु आआफ्नै काममा जुटिरहन्छन् दिनरात नभनी । माटो, बालुवा अनि आगोसँगको काम जति कठिन छ, त्यति नै जोखिम पनि । कमाइकै कुरा गर्ने हो भने कच्चा माटोलाई इँटाको स्वरुपमा ल्याउँदाको ज्याला मात्रै एक रुपैयाँ । तर पनि, रोजगारीका लागि मुलुकका कुनाकाप्चाबाट आइपुग्छन्, श्रमिकहरू चिसो हिउँदको पारिला दिनहरुमा ।
बाहिरी दुनियाँसँग घुलमिल हुने मौका उतिसारो मिल्दैन, तर पूर्वदेखि पश्चिमसम्मका अनि काँठदेखि फाँटसम्मका साथीहरुको भेटले परिवारमै बसेको महसुस गराउँदो हो तब न झल्किन्छ यो भाइचारा । झिसमिसैदेखिको काम दिनभरको थकान अनि साँझ समीपैको झुपडीमा सुस्केरासँगै सन्तुष्टीको माम । साँझ थकान मेटाउने तरिका पनि वास्तवमै रोमाञ्चक रहेछ, भट्टा मजदुरको ।
हो, इँटाभट्टामा प्रत्येकजसो साँझ हुने यस्तो जमघट अनि सांगीतिक माहोलले परिवार र आफन्तबाट टाढा रहँदाको पीडामा मल्हमको काम गर्दो रहेछ । हुनपनि युवा जोस् र श्रम विदेशी भूमिमा पोख्नुको साटो आफ्नै माटोमा रमाउँदाको आनन्द नै बेग्लै ।
कतै शक्तिका लागि घम्साघम्सी, कतै सम्पतिका लागि दौडधुप । एकाध दुनियाँले साँच्चै गुमाएका छन्, आफ्ना खुशी । तर, कलिला बालबालिकाको सुनौलो भविष्य, युवा मनको सुन्दर सपना अनि बयस्क उमेरको गह्रुंगो जिम्मेवारी सबैसँग जोडिएको श्रमिकको एक मुस्कान सायदै दुर्लभ छ ।