साहित्य चेतका संघर्षशील जनवादी स्रष्टा हुन् कलाकार माधव प्रधान । झापा विद्रोहकालीन सांस्कृतिक अभियानका प्रभावले समाज रुपान्तरणमा गीत संगीतमार्फत् जोडिएका प्रधानको संलग्नता गीत संगीतमा मात्र नभई नाटक लेखन र अभिनयमा पनि उत्तिकै बेजोड छ । रेडियो जनता ८९.१ को कार्यक्रम सिमली छायामा प्रधानले प्रस्तोता रामकुमार एलनसँग आफ्नो चार दशक भन्दा लामो सांगीतिक र साहित्यक यात्राबारे अन्तरंग कुराकानी गर्नुभएको छ ।
हिजोआज के मा व्यस्तहुनुहुन्छ?
आजकाल हामीहरु जनवादी कार्यक्रम सम्पादन र जनवादी गीतमा संगीत र जनवादीनाटक संकलनमा छौँ ।
तपाईंहरु ४ दशकदेखि जनवादी गीत संगीत यात्रामा हुनुहुन्छ, पहिलो पटक यहाँहरु राजधानीमा कहिले आउनुभयो ?
शुरुमा हामीले संगठित रुपमा जनवादी गीतसंगीतको यात्रालाई गोलबन्द गर्र्न नसकेपनि प्रगतिशील सांस्कृतिक अभियानलाई कसरी अघि बढाउने भन्नेबारे कलेजमा पढ्दा २०३५ साल तिरबाट नै बहस आरम्भ गरेका थियौँ । २०३६ को विद्यार्थी आन्दोलनपछि चाहिँ हामीले यसलाई एउटा अभियानकै रुपमा अघि बढायांँै । त्यतिबेला अनेरास्ववियुको अध्यक्ष रहनुभएका टंक कार्कीको नेतृत्वमा यो अभियान अघि बढेको थियो । त्यसपछि सांस्कृतिक संयोजन समिति बनाएर नै हामीले जनवादी गीत संगीतलाई एउटा अभियानकै रुपमा अघि बढाएका थियौँ । यसको पृष्ठभूमिमा त्यतिबेलाको पार्टी कमिटीको पनि साथ थियोे ।
यहाँहरुमा जनताका गीतहरु गाउनुपर्छ भन्ने कुराको बिजारोपण चाहिँ कहिलेबाट भयो ?
हामीलाई यस अभियानमा लाग्न पे्ररित गर्ने त्यतिबेलाको राल्फा समूह र खासगरी रामेश, रायन र निनु दाइहरुका गीतहरु नै हुन् । मेरो हकमा भन्दा २०२६ मावनस्थली स्कुलमा पढ्दा उहाँहरुका गीतहरु सुनेर आकर्षित भएको थिएँ । उहाँहरुको गीतकपी गरेर स्कुलमै गाउन थालेँ र २०३२ सालको श्याम तमोटजीले गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ भन्ने गीत बनाएपछि हामी त्यो गीत लिएर गाउँगाउँमा राल्फाको जस्तै नक्कल गरेर जनताबीच जान थाल्यौँ । यही पछि हामी प्रशासनको निगरानीमा पर्न थाल्यौँ । जनताका गीत गाएपछि प्रशासनको आँखामा परिने रहेछ भन्ने लाग्यो र हामी आफैँपनि जाग्नुपर्ने रहेछ भन्ने लाग्दै जान थाल्यो र यसैमा लागिरह्यौँ र जुन आजपनि निरन्तर जारी छ ।
तपाईंहरुले पहिलोपल्ट यो अभियान कहाँबाट शुरु गर्नुभयो ?
यो शुरुवात अनेरास्ववियुको एकताको पाचौँ राष्ट्रिय सम्मेलनताका काठमाडौंबाट नै शुरुवात भएको थियो । त्यसपछि अखिलले नै देशभरि नै परिचालित गर्यो ।
तपाईंहरुमा झापा आन्दोलनको प्रभाव चाहिँ कस्तो थियो ?
त्यो हामीभन्दा जेठो आन्दोलन थियो । हामीमा त्यसको प्रभाव नहुने त कुरै भएन । त्यो आन्दोलन नै हो, जसले जनताहरुलाई राजनीतिक रुपले सचेत बनाएको थियो । हामीले झापा आन्दोलनले उठाएका सवाललाई नै जोडेर गीत गाएका थियौँ । सुखानीका शहिदहरुको सम्झनामा त्यतिबेला जेलमा रहनुभएका कमरेड नरेश खरेलले लेख्नुभएको गीत आलै छ रगत मुटुमा, २१ फागुन भुल्दैनौ बोलको गीत हामीले गाएका थियौँ ।
यहाँले गाउनुभएको पहिलो गीत कुन हो ?आफ्नै गीत थियो वा अरुनै स्रष्टाको ?
मैले शुरुमा राल्फा समूहले नै बनाएका गीतहरु नै बढी गाएँ । मञ्जुल दाइले रचना गर्नुभएको र रायन दाइले संगीत गर्नुभएको भोकै मर्ने महाकविका पेटका सारंगीहरु, हाम्रा गीतहरु भन्ने गीत थियो ।
चार दशकपछि पनि तपाईंहरुको कालजयी स्वर छ, त्यतिबेलाको गीति प्रशिक्षण कस्तो हुन्थ्यो ?
हामीले स्वर साधनाका लागि कुनै विशेष विद्यालय त पाएनौँ । तर रेडियो नेपालमा अब्बल स्वर भएका गायकहरुका गीत सुनेर नै हामीले आफ्नो गीतकालय बनाउने गथ्र्यौँ ।
यहाँले अभिनय गरेको ‘५० रुपैयाँको तमसुक बारे केही बताइदिनुहोस् ।
साहित्यकार मोदनाथ प्रश्रितले लेख्नुभएको यो नाटकले वास्तवमा जनताजागृत गराउने काम गरेको थियो । यसलाई हामीले आआफैँ मिलेर कीर्तिपुर क्याम्पसमा राम्ररी प्रस्तुत गरेका थियौँ र मेरो यसमा सहनिर्देशकको भूमिका थियो । नाटकमा खेल्ने कलाकारलाई प्रशासनले नियन्त्रण गर्ने प्रयास पनि गरेको थियो । देशका विभिन्न ठाउँमा यसको मञ्चन गरिएको थियो । मैले आफैँले लेखेका नाटकहरुमा जब बहिनी ब्युँझिन्छन्, बुहारी, अन्धकार युगका अमर शहीदहरु हुन् ।
यहाँले २०३५ साललाई धेरै सम्झिनुभयो, २०४६ सालसम्मको यहाँहरुको सांस्कृतिक यात्राबारे अझै जान्न मन लाग्यो ।
यसबीचमा हामीले देशको कुनाकाप्चासम्म प्रगतिशील सांस्कृतिक अभियान सञ्चालन गर्यौँ । खासगरी अनेरास्ववियुको ब्यानरमा हाम्रो सक्रियता रह्यो । त्यस्तै, हामी झलनाथ कमरेडको समन्वयमा प्रवाससम्म पनि कार्यक्रम लिएर गयौँ । त्यहाँ हामीले रामेशदाइ र मञ्जुल दाइहरुको टिम र अखिलको सांस्कृतिक टिम समावेश थियो । त्यस्तै छैटौँ राष्ट्रिय सम्मेलनका साथीहरुको वेदना सांस्कृतिक समूह पनि त्यतिबेला निकै सक्रिय थियो । यही बीचमा विस्तारै सास्कृतिक समूहहरु बनाउँदै जाने, देश विदेशमा कार्यक्रम गर्दै जाने र देशका कुनाकाप्चामा पनि पुग्ने गरियो । यतिबेला सांस्कृतिक कार्यक्रमहरु पार्टीका अभिन्नअंग हुने गर्थे ।
बहुदलको आगमनपछि २०४६ देखि २०५१ सम्मको राजनीतिक अवस्थामा कलाकारहरुको भूमिका कस्तो थियो ? २०५१ मा त कम्युनिष्टको सरकार नै बन्यो ।
सक्रियता त यतिबेला पनि हाम्रो उस्तै रह्यो तर मनमोहन सरकार बनेपछि सरकारले आफ्नो गाउँ आफँै बनाउँ भन्ने कार्यक्रम ल्याएपछि त्यसैमा सांस्कृतिक परिचालनलाई छुट्टै बजेट छुट्याइएको थियो । प्रत्येक अञ्चलको प्रत्येक जिल्लामा हामीले सरकारको त्यो कार्यक्रम सफल बनाउन भूमिका खेल्यौँ । जिल्लाका कलाकारहरुलाई पनि समेटेर जनसांस्कृतिक मञ्चको नाममा कार्यक्रमहरु हुने गर्थे । राष्ट्रको बजेटबाट गरिएको कलाकारहरुको पहिलो कार्यक्रम पनि त्यही नै थियो ।
अब २०५२ पछिको राजनीतिक अवस्था झन बदलियो र जनयुद्धले जन्माएका थुप्रै कलाकारहरुले अर्को सांस्कृतिक अभियान चलाए । यसलाई कसरी लिनुहुन्छ?
माओवादी पार्टीले दिएको जिम्मेवारी बोकेर यो समयमा कलाकारहरुले आफ्नो भूमिका निर्वाह गरेका थिए भन्ने लाग्छ । धेरै कलाकारहरुले ज्यान नै गुमाउनु पर्यो । उहाँहरुसँग हाम्रो वैचारिक मतभेद थियो तर पनि सांस्कृतिक अभियानमा लागेका साथीहरुले दुख पाएको देख्दा हामीलाई निकै चिन्ता लाग्थ्यो ।