काठमाडौं । सरकारले ‘नेपालमा लगानी सम्मेलन’को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
अर्थमन्त्री एवम् नेपाल लगानी सम्मेलन मूल समारोह समितिका संयोजक डा. युवराज खतिवडाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चैत्र १५ र १६ गते आयोजना हुने सो सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा एक भव्य समारोहका बीच उद्घाटन गर्नु हुने सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डललगायत ६ सय भन्दा बढि विदेशी लगानीकर्ताहरुको उपस्थिति रहनेछ । अर्थमन्त्री खतिवडाले सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र, गैह्–आवासीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने पनि स्पष्ट पार्नुभयो ।
दुई दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवम् शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्र्नेछ । त्यसैगरि सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी गरिएको पनि अर्थमन्त्री खतिवडाले बताउनु भयो ।
सम्मेलनमा म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, यूनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीहरुको उच्चपदस्थ प्रतिनिधिहरुको उपस्थिति रहनेछ ।
दुई दिने सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतिकरण हुने पनि अर्थमन्त्री खतिवडाले जानकारी दिनु भयो । नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभवसहित सात वटा विषयगत सत्रहरु पनि सम्मेलनमा संचालन गरिने पनि कार्यक्रम तय गरिएको छ । अर्थमन्त्री खतिवडाले सम्मेलनको अन्तिम दिन शनिबार दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन हुने पनि जानकारी दिनु भयो ।
अर्थमन्त्री खतिवडाले सम्मेलनलाई सफल बनाउन पनि सबै आह्वान गर्नु भयो । उहाँले सम्मेलनका लागि आवश्यक सुरक्षाको उचित व्यवस्था गरिएको पनि बताउनु भयो । सरकारले सो सम्मेलन मुलुकलाई समृद्ध बनाउने अभियान अन्तरगत भएको उल्लेख गर्दै त्यसमा सबैले साथ दिने विश्वास पनि व्यक्त गरेको छ ।
पत्रकार सम्मेलनमा निजी क्षेत्रले पनि सो सम्मेलनलाई सफल बनाउन सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायतका निजी क्षेत्रका संघ, संस्थाहरुले सो सम्मेलनलाई सफल बनाउन आफूहरुले पनि सकेको योगदान गरिरहेको पनि जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकमा विदेशी लगानी भित्रयाउन सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले सरकारले मुलुकले समृद्धिको अभियान सुरु गरेकाले त्यसमा आफूहरुले पनि साथ दिँदै आएको पनि स्पष्ट पार्नुभयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष डा. हरिभक्त शर्माले नेपालमा लगानी भित्रयाउन आफूहरुले पनि सो सम्मेलनका लागि आवश्यक सहयोग गरिरहेको बताउनु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो ।
२ दिनसम्म चल्ने सम्मेलनबाट मुलुकको समृद्धिका लागि आवश्यक लगानी भित्र्याउन सफल हुने विश्वास गरिएको छ । सरकारले यस अघि २०७३ सालमा पनि लगानी सम्मेलन आयोजना गरेको थियो । सोही सम्मेलनलाई आधार बनाएर मुलुकलाई समृद्ध बनाउन थप वैदेशिक लगानी जुटाउन यो वर्ष पनि दोस्रो लगानी सम्मेलन आयोजना गरिएको अर्थमन्त्री खतिवडाले स्पष्ट पार्नुभयो ।