हरिशरण न्यौपाने
काठमाडौं । आगामी चैत १५ र १६ गते काठमाडौंमा तेस्रो लगानी सम्मेलन हुन गइरहेको छ । यसका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । लगानी सम्मेलन सफलरुपमा अगाडि बढाउन अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष डा. युवराज खतिवडाको संयोजकत्वमा निर्देशक समिति गठन भएको र त्यसले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । बुधबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उक्त जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुहुने सम्मेलनमा चालिस देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित ५ सय जना विदेशी लगानीकर्ताको उपस्थिति रहने सरकारले जनाएको छ । सम्मेलनमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपाल स्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र, गैह्रअवासीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने अर्थमन्त्री डाक्टर खतिवडाले जानकारी दिनुभएको छ ।
दुई दिने उक्त सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रका २७ गरी ७७ वटा परियोजना प्रस्तुत गर्न तयारी सरकारको छ । त्यसैगरी सम्मेलनमा १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी छ ।
सम्मेलनलाई लक्षित गरी नेपाल सरकारले सार्जजनिक निजी साझोदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संसोधन गरिसकेको सरकारले जनाएको छ । सम्मेलनमा विश्वप्रसिद्ध कम्पनीका उच्चपदस्थ प्रतिनिधिहरुको उपस्थिति रहने सरकारले जनाएको छ । सम्मेलनको पहिलो दिन नेपाल सरकारले लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुति दिनेछ । त्यसैगरी नेपालमा लगानी गरिरहेका लगानीकर्ताको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभवसहित विषयगत सत्रहरु संचालन गर्ने सरकारको तयारी छ । सम्मेलनको दोस्रो तथा अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन हुने सरकारले जनाएको छ ।
लगानी सम्मेलनमार्फत नेपाल सरकारले विश्वका लगानीकर्ताहरुलाई नेपालमा लगानीका अवसर, लगानी प्रवद्र्धनका लागि सरकारले लिएका नीतिगत तथा कानूनी प्रयासबारे जानकारी गराउनेछ । त्यसैगरी नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको सन्देश दिने अवसरकोरुपमा पनि यसलाई हेरिएको छ । सम्मेलनले नेपाल सरकारक समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुर्याउने आशा लिईएको छ ।