जोसेफ शाही
काठमाडौं । लेखकको नाम ठ्याक्कै सम्झनामा आएन । मान्छेको प्रवृत्ति बुझनलाई काठमाडौंका सडकमा गुडिरहेका गाडीलाई हेर्नुहोस् । बसले टेम्पोलाई पेल्छ, टेम्पोले ट्याक्सीलाई पेल्छ, ट्याक्सीले मोटरसाइकललाई अनि मोटरसाइकलले साइकललाई पेल्छ । हाम्रो देशमा पनि ठूलााबडाले पैसा र पहुँचको आडमा कमजोर व्यक्तिलाई पेल्ने प्रवृत्ति हावी हुँदैगएको छ । यस्तै सारसंक्षेपको लेख पढेको थिएँ । आज यथार्थ आँखै अगाडि पर्दा लेखकले गरेको तुलना वास्तवमै वस्तुपरक रहेछ भन्ने आभाष भयो ।
यसअघि पनि ‘टेम्पोभित्र गम्भिर बहस’ भन्ने ब्लग लेखेको थिएँ । आज पनि सन्दर्भ टेम्पोकै छ । तर नेपाल यातायात र ट्राफिक प्रहरीसहित । आज पनि सदाझैं कुपण्डोलको प्रतिक्षालयमा सवारी साधन पर्खिरहेको थिएँ । नेपाल यातायात र टेम्पोसँगै आइपुगें । नेपाल यातायतले टेम्पोलाई जावलाखेलदेखि नै पेल्दै आएको रहेछ । प्रतिक्षालयमा दुवै गाडी रोकिनेबित्तिकै टेम्पो चालक महिला र नेपाल यातायात चालकविच भनाभन शुरु भयो । टेम्पोमा सवार यात्रु पनि आफ्नो सुरक्षाको विषय जोडेर नेपाल यातायात चालकसँग आक्रोशित भए ।
नेपाल यातायातको रवैया मन परेन । अनि टेम्पोमै चढें र नेपाल यातायात चालकको हेपाहा प्रवृत्ति सहन नसकेर टेम्पो चालक महिला रिसले मुर्मुरिरहेकी थिइन् । उनले नेपाल यातायातलाई ओभरटेक गरेर टेम्पो कुदाउँदै गर्दा ट्राफिक जाम शुरु भयो । जब जाम खुल्यो, उनले टेम्पो सरररर कुदाएर थापाथली चोकमा झ्याप्प रोकिन् र उभिएका ट्राफिकलाई भनिन्, ‘यो पछाडिको नेपाल यातायातलाई साइड लगाउनुस्, त्यसको चालकले मेरो टेम्पोमा ठोक्किने गरी गाडी कुदाइरहेको छ ।’ भन्न नपाउँदै ट्राफिक प्रहरीले पछाडि रोकीएको नेपाल यातायात साइड लगाउन निर्देशन दिए ।
टेम्पोबाट ओर्लिएर फोटो खिच्दै गर्दा एकजना महिला ट्राफिकले निर्देशनात्मक शैलिमा भनिन्, ‘तपाईं पत्रकार हो र ? किन फोटो खिचिरहेको ? के भाको छ र फोटो खिच्नु पर्ने ? उहाँहरु कुरा गर्दै हुनुहुन्छ ।’ हो म पत्रकार नै हो । तर मलाइ फोटो खिच्न रोक्ने अधिकार तपाईंलाई कसले दियो ? ‘राइट टु इन्फमेशन’बारे थाहा छ तपाईंलाई ? कि फोटो खिच्न लाइसेन्स देखाउनुपर्ने हो मैले भन्दै थिएँ । उनी आफ्नो पहिलेकै जिम्मेवारीमा फर्किइन् । मैले फोटो खिचाइलाई निरन्तरता दिइरहें । ट्राफिकले नेपाल यातायात चालकसंग कुरा गरेपछि उसको सवारी चालक अनुमतिपत्र र गाडीको कागजात हेरेपछि गाडी छोड्यो । चोकबाट केही अघि पुगेपछि नेपाल यातायात चालकले फेरि अव्यवस्थित तवरले गाडी चलाउदै टेम्पोलाई ओभर टेक गर्यो ।
यसरी ठूला सवारी साधनले साना सवारी साधनलाई पेल्ने प्रवृत्तिले गम्भीर खालका दुर्घटना निम्त्याउन सक्छ । यस्ता चालकलाई गतिलो पाठ सिकाउन अब ट्राफिक कार्यालयले प्रभावकारी कदम चाल्न जरुरी छ ।