काठमाडौं । खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले आफू विरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दायर गरिएको बताउनुभएको हो।
आम नेपालीको प्रतीक्षा, प्रतिष्ठा र गौरवको आयोजना भएको भन्दै मन्त्री मगरले गलत मनसायका साथ गरिने प्रचारप्रति समेत दुःख व्यक्त गर्नुभएको छ । आफ्नो कार्यकालमा नै आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको तथा अधिकाशं काम सम्पन्न भएपनि केही काम बाँकी रहेको अवस्थामा इटालियन ठेकेदार कम्पनी सिएमसीले धोका दिँदा समस्या आएको मन्त्रीको प्रष्टोक्ति छ ।
ठेकेदार कम्पनी आर्थिक रुपमा टाट पल्टिँदा आयोजनामा समस्या आएको उहाँको भनाइ छ । कानूनी मान्यता नाघेर कुनै अवैधानिक निर्णय लिन नसक्नेमा जोड दिँदै उहाँले राज्यद्वारा निर्देशित ऐन, कानूनप्रतिको प्रतिवद्धता र सुशासनप्रतिको सङ्कल्पलाई अक्षुण राख्न प्रतिवद्ध रहेको स्पष्ट पार्नुभएको छ ।
उहाँले मेलम्ची खानेपानी विकास समिति आफैमा स्वायत्त, अधिकारसम्पन्न सरकारी निकाय भएकाले आयोजनाको कुनै पनि निर्णयमा मन्त्रीको हस्ताक्षर नचल्ने र मन्त्रालयका सचिव अध्यक्ष रहने आयोजनामा सञ्चालक समितिको निर्णय नै अन्तिम हुने जानकारी दिनुभएको छ । आयोजनाको कुनै प्रस्ताव मन्त्रीपरिषदमा लैजाने परिस्थितिमा मात्र मन्त्रीको माध्यम हुँदै पेश हुने प्रक्रिया उल्लेख गर्दै उहाँले प्रसंग नै नभएको विषयमा मन्त्रीलाई जोड्न खोज्नु राजनीतिक पूर्वाग्रह र बेइमानी भएको उल्लेख गर्नुभयो ।
मन्त्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि आयोजना निर्माणको आफ्नै मान्यता हुन्छ । ती कानूनी मान्यता नाघेर हामीले कुनै अवैधानिक निर्णय लिन सक्दैनथ्यौं र लिएनौं पनि । यो हाम्रो नियत वा क्षमताको प्रश्न नभएर राज्यद्वारा निर्देशित ऐन, कानूनहरुप्रतिको प्रतिबद्धता र सुशासनप्रतिको सङ्कल्प हो । यसमा म दृढ छु, सधैं दृढ रहनेछु ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘म आफै जनताको मुक्ति सुशासन, समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न कठोर सङ्घर्षबाट आएको व्यक्ति हुँ । न्याय, समानता, विकास, सुशासन र समृद्धिका लागि मैले पनि जेलनेल र कठोर यातनाको अनुभूति होइन, अनुभव गरेको छु । ‘राजनीति जनताका लागि, जनताको सेवाका लागि’ यो मेरो मुलमन्त्र हो र यसमा सधै अडिग रहन्छु ।’
उहाँले भन्नुभयो, ‘केही समयअघि रञ्जु दर्शनाले आफ्नो चरित्रहत्या भएको भन्दै गुनासो गरेकी थिइन् । मेलम्ची आयोजनामा मैले अनियमितता गरेको प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु । यदि अनियमितता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ ? म प्रश्न गर्न चाहन्छु ।’
‘मेलम्ची खानेपानी आयोजनाको प्रगतिलाई म र मेरो परिवारमाथि आक्रमण गर्ने जुन राजनीतिक हतियार बनाइएको छ, त्यो निन्दनीय छ । मेलम्ची आयोजनामा मन्त्रीका हैसियतले अख्तियार दुरुपयोग गरेको हेर्ने सरकारी निकाय छन्, तिनको आफ्नै विधि र प्रक्रिया छ, म सधैं त्यसको पक्षमा छु र रहन्छु ।’ मन्त्रीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।