नेपाली जनआन्दोलन इतिहासको सबैभन्दा पुरानो राजनीतिक पार्टी नेपाली कांग्रेस जन्म–मृत्युको अनिवार्य प्राकृतिक नियमअनुसार यसका अन्त्यष्टिका दिनहरु धेरै निकट आइपुग्न लागेका लक्षण देखिन थालेको छ । या यसो भन्न सकिन्छ, ‘कलहले कांग्रेस समाप्त हुने चरणमा’ आइपुगेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिभित्रको पछिल्लो आन्तरिक कलह आपसी कुटाकुटसम्मको दृष्यले पार्टीप्रति सहानुभूति राखेर चुनावका बखत भोट दिने जनातामा ठूलो नैराष्यता र आक्रोश उपेक्षाको भावना विकसित भइरहेको पाइएको छ । कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा भोट हाल्ने जनता पश्चातापको भावनाले पिरोलिरहेको अवस्था देखिएको छ । २९ मंसिरदेखि राजधानीमा सम्पन्न झण्डै दशदिने महासमिति बैठकभित्र नेतृत्वबीच माइक खोसाखोस र मुक्का उठाउनेसम्मको झगडा भएको समाचार बाहिर आएको थियो । पछि त्यो झगडा पार्टी कार्यालयमा नेविसंघको किचलोमा कुटाकुटमै ओर्लिएको पनि देखियो ।
जसलाई पंक्तिकारले यदुवंशी विनाशको महाभारत कथा उदाहरण दिएर पनि सतर्क गराउने कोशिस गरेको थियो । यसै स्तम्भका अघिल्ला अभिलेखहरु पनि यस तथ्यका दशी प्रमाण छदैँछन् । २०७४ को संघीय गणतान्त्रिक नयाँ संविधान अन्तर्गतको प्रथम तीन तहको निर्वाचन परिणाममा कांग्रेसको जस्तो लज्जास्पद पराजय देखिएको थियो, त्यस पृष्ठभूमिमा पार्टीभित्रका आन्तरिक कलह जसरी बाहिर देखिँदै गएका थिए, निश्चय नै त्यसलाई जिवन्तताको संकेत मान्न सकिन्न थियो । सकिन्न । कांग्रेस कलहमा अब कसैलाई कुनै मतलब छैन
नेपाली कांग्रेसबारे इतिहासको धेरै बखान गर्नु पनि अब कुनै अर्थ र औचित्य छैन । २०१५ सालमा विश्वेश्वरप्रसाद कोइराला (बिपी) नेतृत्वको एकलौटी दुईतिहाई बहुमतको कांग्रेस सरकार थियो । त्यसबखत नेपालको कम्युनिष्ट आन्दोलनले मुस्किलले चार सिट संसदमा पुर्याउन सकेको थियो । अहिले कम्युनिष्टहरुको प्रचण्ड बहुमतले सरकार चलिरहेको छ । यस्तो कसरी सम्भव भयो ? भन्ने सवालमा आजसम्म कांग्रेसको केन्द्रीय कार्यसमितिको कुनै छलफल भएको पाइएको छैन । आफूलाई रसातलको पिँधसम्म थेचारी दिने कम्युनिष्टहरुको बहुमतको सरकार कसरी सम्भव भयो भन्ने यति ठूलो महत्वको सवालमा केन्द्रीय समितिको कुनै छलफल विचार विमर्श नै हुँदैन भने अब आउने भविष्यसम्म यो पार्टी जीवित रहिरहन्छ भन्ने कसरी विश्वास गर्ने ? यसमा पंक्तिकारलाई सबभन्दा आश्चर्य र वैरागलाग्दो विषयचाहिँ के भएको छ भने कांग्रेसमित्र डा. रामशरण महत, प्रदीप गिरी, नरहरि आचार्यजस्ता एक से एक डाक्टरसाहेबहरु विद्वान नेतृत्वहरु छन् भनेर टिभीका पर्दाहरु र अखबारका पानाहरुमा खुब आदर्श सिद्धान्त छाँटिरहेका पनि भेटिन्छन् ।
त्यसदेखि बाहेक दुनियाँले साँच्चै विद्वान मानेका बुद्धिजीवीको पनि एउटा निकै ठूलो जमात कांगेस्रसँग आवद्ध रहेका देखिन्छन् । कांग्रेसको कोटाकै राजदुत भएका छन् । कोही ठूला पदका योजना प्रमुख, अदालत अयोग प्रमुख, संस्थान अध्यक्ष या मन्त्रीस्तरीय सुविधाप्राप्त सल्लाहकारहरुको एउटा ठूलै भिड कांग्रेसमा जम्मा भइसकेको छ । तर सबैभन्दा ठूलो दुुःखलाग्दो र दुर्भाग्यपूर्ण अध्याय दुल्र्लिखित विद्वान जगतको कुनै कुनाबाट पनि यो प्रश्नमा उत्तर खोजेको पाइएको छैन । कांग्रेस जोगिने कि समाप्त हुने भन्ने कम्युनिष्टहरु बढे भन्ने यत्रो महत्वपूर्ण सवालमा त्यस पार्टीको बौद्धिक जमातमा अहिलेसम्म कुनै विचार विमर्श भएको पाइएको छैन भने बाँकी विश्वलाई यो भन्दा लाजमर्दो र डा. रामशरण, प्रदीप गिरिहरु आदि इत्यादिका हकमा यो भन्दा लाज पचाएको नाङ्गो अर्को उदाहरुण के हुनसक्छ ? र, अझ यहाँनेर दुनियाँ हसाई र लाज पचाइको हद पारको विषय राख्ने नराख्ने भन्ने सवालमै अहिलेसम्म रडाको मच्चिरहेकै छ ।
कम्युष्टिहरुको प्रचण्ड बहुमतको एकलौटी सरकार चलेको एकवर्ष पूरा भएर विभिन्न डिजाइन प्रयोग अभ्यासमा पनि देखापर्न थालेका छन् । र, अझै अर्को २०४६, ०६२–६३ को जस्तो आन्दोलन उठ्ने सम्भावना नहँुदासम्म थप चार वर्ष कम्युनिष्ट सरकारलाई हल्लाउन सकिने अर्को अवस्था छैन भन्ने पनि निश्चित छ । यस्तो पृष्ठभूमि प्रष्टरुपमा मध्यान्हको घामजत्तिकै छर्लङ्ग हुँदाहुँदै इतिहासकै कारणले मात्र प्रमुख प्रतिपक्षको भूमिका पाएको कांग्रेस पार्टीको केन्द्रीय कार्यसमिति पराजयको कारण एक अर्काको टाउकोमा थुपार्न मात्र लगातार एकवर्षसम्म आपसी कलह, खुट्टा तानातान, गाली गलौज र कुटाकुटसम्मको हर्कत प्रदर्शन गरिरहेका भेटिन्छन् भने बाँकी इतिहासको के अर्थ औचित्य रहन्छ र ?
इतिहासले त के तथ्य पुष्टि र प्रमाणित छ भने आज नेपालमा प्रचण्ड बहुमतको जुन कम्युनिष्ट सरकार सम्भव भएको छ त्यसको प्रमुख र निर्णायक कारण नै नेपाली कांग्रेस सिद्धान्तच्यूत, नीतिविहीन, जनघाति, राष्ट्रघाती, केवल निहित स्वार्थी भुँडी र भकारी भर्ने मात्र राजनीतिले गर्दा नै हो । २०४८ सालको संसदीय निर्वाचनबाट जब कांग्रेसले एकलौटी सरकार चलाउने बहुमत पाएको थियो, त्यसबखत उसले सिद्धान्तमा अडिग भएर इमानदारीपूर्वक राष्ट्र र जनताका हितमा काम गरेको भए माओवादी हिंसात्मक विद्रोहको अवस्था नै आउने थिएन । यत्रो ठूलो प्राकृतिक सम्पदाले तीन करोड जनसंख्या पनि ननाघेको ६० लाख भन्दा बढी देशविकासका बलिया पाखुरीले विदेशमा कामदार भएर रगतपसिना बगाइरहनु परेको दुर्दिन देख्नुपर्ने थिएन । कांग्रेसले नै लोकतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई लतयाएर लुटतन्त्र, मनपरीतन्त्रको ताण्डवनृत्य सिंहदरबारको शिर चढाएर ननचाएको भए, आज मुलुकमा राजनीतिक नेतृत्वप्रति जुन अविश्वास, निन्दा र घृणा व्यापक भएको छ, यस्तो हुने नै थिएन । एक वाक्यमा भन्नुपर्दा आज हाम्रो मुलुकको राष्ट्रिय राजनीतिमा जस्ताखालका विकृति, घुसखोरी, कालोबजारी, भ्रष्टाचार या आर्थिक अपचलनका कहालीलाग्दा समस्या झेल्नु–भोग्नु परिरहेको छ, नेपाली कांग्रेस नै प्रथम जिम्मेवार हो । अब यस तथ्य पुष्टिमा कुनै दशी प्रमाण आवश्यक छैन । मध्यान्हको घाम र पूर्णिमाको जुनजत्तिकै सबै छर्लङ्ग छ । भर्खरैको कुरो हो । तीन साता पनि पूरा भएको छैन । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव टिभीका पर्दामा औँलो ठड्याइ–ठड्याइ बोलिरहनुभएको भेटिएका थिए कि कांग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फका सांसद टिकट बेचेको मसँग प्रमाण आइपुगेको छ ।
उसो त पार्टीहरुका नेताहरुले सांसद टिकट बेचेर निजी भुँडी र भकारी भर्ने गरेका नयाँ र अहिले मात्रै छक्क पर्नु परेको कुरो होइन । यसको शुरुवात २०४८ बाटै कांग्रेसले नै गरेको र त्यसबखत १० लाखबाट प्रारम्भ भएको अहिले दश करोड रुपैयाँसम्म पुगेको जगजाहेर नै थियो । तर जुन पार्टीको टिकटबाट प्रथम राष्ट्रपतिको इतिहास बनाउने अवसर पाएको व्यक्तित्वले नै त्यही पार्टीलाई यसरी नङ्गाउनु प्रणालीलाई नै सानो अबगाल होइन । सांसद टिकट बेचेको प्रमाणित नेतृत्वले अझै जनमत भोट पाउने भाषण गर्नु आज र भोलिको जागरणले गिज्याउने मात्र अध्याय हो । कतै कांग्रेस इतिहासको यस्तै गिज्याउने अध्यायमा थन्किने चरणमा आइपुगेको त होइन ? यतिखेरको कांग्रेस आन्तरिक कलहको छायाँ मात्र बाहिर सार्वजनिक भएको अवस्थामा जनमानसबाट सदाकालका लागि नामेट हुने सम्भावना टड्कारो छ भने झन हाकाहाकी र सबै लाज शर्म पचाएर दुनियाँलाई हसाउने गरी नै हरहमेशा झगडा, कलह, मुक्कामक्की उठाउने सम्मका मात्र देखाइरहेको भेटाइन्छ भने यो पार्टीको भविष्य सास जोगिएको भनेर कसरी मान्ने ? सायद कांग्रेसको यस्तै गतिको भविष्य बेलैमा दृष्टिगोचर भएर नै ‘बिपीले एकदिन नेपाली कांग्र्रेस पार्टी चीनका इतिहासमा कोमिन्ताङ पार्टी कन्टेनरमा थन्किएजस्तै थन्किने छ’ भनेर धेरैपटक २०२९ देखि मृत्युपर्यत्न पटकपटक बोलिरहनु, लेखिरहनु भएको भेटिनु हुन्थ्यो । त्यसैले अचेल कांग्रेसलाई राप्रपाका कमल थापालेसम्म बिपी विचारलाई कुल्चेर आफैँ आफ्नो जनाधरमा पहिरो ल्याएको उपदेश दिइरहेका भेटिन्छन् ।
हुन त हालका शेरबहादुर देउवा र रामचन्द्र पौडेलको नेपाली कांग्रेसको कति भागवण्डालाई कसले आफ्नो निजी विर्ता, जमिनदारी प्राइभेट लिमिटेड र जागिर बनाउन पाउनु पर्ने भन्ने सार्वजनिक आन्तरिक कलहमा बिपीको नाम प्रसंगमा आइपुग्नु आवश्यक नै भन्ने त थिएन । तर आज पनि बिपीको स्वर्गारोहण भएको ३६ वर्ष अर्थात् साढे तीन दशक बितिसक्दा पनि उहाँलाई कतैबाट दुरद्रष्टा प्रमाणित भइरहेको भेटिँदा आम नेपाली जनताले खुशी आनन्द नै मान्ने गरेका छन् । खैर यहाँको प्रसंंग बिपी कति दूरद्रष्टा भन्ने नभएर शेरबहादुर र रामचन्द्र पौडलको भागवण्डामा सिद्धिन लागेको कांग्रेसको नै हो । अहिले प्रचण्ड बहुमतको कम्युनिष्ट सरकार बनाउने संसदमा सत्ताधारी दलका सांसदहरुको समेत एकाहोरो गुनासो, अभाव, सशक्त प्रतिपक्षको भूमिका भएन भन्ने नै टड्कारो देखिन्छ । त्यत्रो नेपाललाई भारतको नाकाबन्दी भयो, हालका प्रधानमन्त्री लगायतका सारा एमाले माओवादी लगायतका नेताहरुले एकस्वरले सबै मिलेर भारतसँग प्रतिरोध गरे । तर शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा. रामशरण महत प्रदिप गिरि आदि इत्यादिहरुको विर्ता, जमिनदारी, प्राइभेट लिमिटेड, जागिरजस्तो बनेको कांग्रेसले नाकाबन्दीको प्रतिरोधमा एक शब्द ‘चुँ’सम्म उच्चारण गरेका भेटिएनन् ।
उल्टो शेरबहादुर देउवा त दिल्लीमा नरेन्द्र मोदीको पाउमा परेर मलाई प्रधानमन्त्री बनाइ दिनपर्यो भनेर हारगुहार गरिरहेका पो भेटिए । नरेन्द्र मोदीलाई पनि बाध्यता जस्तो भएर पछि प्रचण्डलाई हारगुहार गरेर प्रचण्ड र शेरबहादुरको नौ–नौ महिनाको सरकारको अध्याय थपिएको मैले भनेको भन्ने कुरा पनि होइन । सारा छापा, इलेक्ट्रोनिक मिडिया अभिलेख दशी प्रमाण छँदैछन् । नाकाबन्दी पीडित नेपाली जनतालाई शेरबहादुर रामचन्द्र कांग्रेसको यस्तो हर्कत जनघात, राष्ट्रघातको मूल्यमा सत्ता खोज्ने सोचसमझ नियत मनपर्ने कुरै थिएन । परिणाम अहिले संसदीय गणितका हिसावले त ‘प्रमुख प्रतिपक्ष’को हैसियतसमेत कायम हुन नसक्ने गरी खुम्चिएको छ । औपचारिकताबाहेक कांग्रेसको प्रतिपक्षी भूमिका अब त आमसञ्चार जगतलाई समेत कुनै अर्थ र औचित्यविहीन समाचर हुन पुगेको छ । उदाहरणका रुपमा कांग्रेसको पछिल्लो केन्द्रीय समितिको बैठकको समाचारलाई नै लिन सकिन्छ । समाचार के बाहिर आयो भने अनुशासनलगायतका सांगठनिक संरचनालाई पूर्णता दिने भनेको बैठकलाई भागवण्डा नमिलेर रामचन्द्र र कृष्ण सिटौलाले बहिस्कार गरिदिए । फेरि भागवण्डा मिलेर बैठक सफल भएको पनि समाचार आइहाल्यो भने पछि आममिडियालाई यस्तो समाचारको के नै अर्थ हुन्थ्यो र ? यति भनिसकेपछि प्रस्तुत आलेखको तात्पर्य प्रष्ट हुन थप उदाहरण आवश्यक नपर्ला । चेतना भया । अस्तु ।