काठमाडौं । युरोपमा नेपाली रहनसहन, भेषाभूषाा, संस्कृति परिचय गराउने अभियान शुरु भएको छ । चेक गणतन्त्रको राजधानी प्राग शहरमा पत्रकार मधु कार्कीले ‘नेपाली हाउस विथ चेक नेपाल फ्रेण्डसिप साेसाइटी’ अभियान चलाउनु भएको हाे ।
‘आउँदो बुधबार ‘नेपाली हाउस विथ चेक नेपाल फ्रेण्डसिप साेसाइटी’ ले चेक गणतन्त्रका सरकारी अधिकारी र नागरिक समाजसँग अन्तरक्रिया नेपाली संस्कृति, सम्पदाबारे छलफल गरेको छु,’ कार्कीले भन्नुभयो, ‘एक्लो प्रयासमा यो कार्यक्रम गर्दैछु, नेपाललाई चिनाउने अभियानमा छु ।’
कार्कीले नेपाल हाउस कार्यक्रममा नेपालको संस्कृति, सम्पदा, सभ्यताबारे चेक गणतन्त्रमा जानकारी गराउनु हुनेछ । ‘नेपालकाे पहिचान चिनाउनु छ,’ कार्कीले भन्नुभयो, ‘नेपाली खानाका परिकारका स्वाद पनि चेक गणतन्त्र र युरोपमा प्रचार गर्न नेपाल हाउस अभियान चलाउन लागेको हुँ ।’
‘नेपालमा लगानी सम्मेलन पनि भइरहेको छ,’ कार्कीले भन्नुभयो, ‘नेपालमा सम्भावनाबारे युरोपमा प्रचार गर्न सके नेपालकै लागि विकासकाे ढाेकाे पनि खुल्नेछ ।’ नेपाली खानाका स्वाद र संस्कृतिबारे पनि चेकका नागरिकलाई जानकारी गराउँदै विश्व समाजमा नेपाली मौलिकता प्रचारप्रसार उद्देश्य रहेको कार्कीले बताउनु भयो ।
दुःखको कुरा, युरोपको अधिकांश शहरमा नेपालीले सञ्चालन गरेको व्यवसाय र त्यसमा पनि होटल व्यवसायमा, भारतको नामसँग नेपाली धरोहरको नाम जोडेको पाइन्छ, नेपालीहरुले यस्तो क्रियाकलाप बाध्यता हो आफ्नै देशको संस्कृतिमाथि अविश्वास ?’ कार्कीले भन्नुभयो, ‘यस्तो क्रिया कलाप नेपालको राष्ट्रिय धरोहरमाथि प्रहार हो, राज्य पर्यटन प्रवद्र्धनमा लागेका बेला नेपाली व्यवसायीले नै भारतीय पहिचान दिएर नेपाली धरोहरप्रति विश्व समुदायमा गलत सन्देश दिने कामप्रति पनि गम्भीर बन्ने बेला आएको छ ।’ कार्कीले युरोपका नागरिक नेपालमा भ्रमणमा आउने तर युरोपमै नेपालबारे गलत प्रचार दुखद भएको बताउनु भयो । उहाँले जिम्मेवार नेपाली समुदायबाटै भइरहेको यस्तो क्रियाकलापमा राष्ट्रको ध्यान दिनु पर्ने बताउनु भयो ।
कार्कीले एक्लो प्रयासमा नेपाल हाउस अभियान शुरु गर्नु भएको हो । राजधानी प्राग शहरमा गरिएको कार्यक्रममा चेक गणतन्त्रका सरकारी अधिकारी, नागरिक समाजका एकसय सहभागी हुने बताउनु भयो । कार्की नेपाल टेलिभिजनकी युराेप संवाददाता हुनुहुन्छ । द मिररका निर्माता र प्रस्ताेता हुनुहुन्छ ।