प्रिया कान थापेर आफ्नो नाम कहिले बोलाईन्छ र अगाडि गएर सुमिले जस्तै पुरस्कार थाप्न पाउँला भनि आशा राखेर बसिरहेकी हुन्छे। तर अपसोच प्रियाको नाम भने पास हुने लिष्टमा पनि हुँदैन।
गायत्री ज्ञवाली
आमा मलाई भोलि बिहानै उठाई दिनुस न है ? भन्दै प्रिया स्कुल जाने लुगा मिलाउन थाल्छे।बिहान उठ्न भने पछि फिटिक्कै मन नपराउने प्रिया को कुराले आश्चर्य मान्दै , होईन आज के सुन्दै छु म ?
भोलि बिहानै उठ्नु चाहिँ किन पर्यो नि तिमिलाई ? आमा अनौठो मान्दै प्रश्न गर्नुहुन्छ।
भोलि बिहान आठ बजे स्कुल पुग्नुपर्छ नि त ? । त्यसैले नि । प्रियाले आफ्नै सुरमा जवाफ फर्काउँछे।
अनि भोलि चाहि आठै बजे स्कुल किन पुग्नुपर्यो नि ? के छ र स्कुलमा त्यस्तो ?
भोलि हाम्रो स्कुल स्थापना भएको पाँच वर्ष पुग्छ रे नि त ? त्यहि भएर स्कुल मा हामि सबै मिलेर सरस्वती को पुजा गर्ने हो नि ? मेरो सर ले भन्नुभाको भोलि सबै जना आठ बजे नै आईपुग्नु भनेर ।
हजुर पनि कस्तो कुरा नै बुझ्नुहुन्न ?
प्रिया अलि झर्केर कुरा थप्दै भन्छे हजुर लाई थाहा छैन र ? भोलि त हाम्रो रिजल्ट हुने दिन पनि त हो नि ? मैले भनेको होईन त अस्तिनै ?
ए हो त, भोलि त तिम्रो रिजल्ट हुने दिन हो नि त । कस्तो भुसुक्कै बिर्सिछु त मैले । आमा मुस्कुराउँदै भन्नुहुन्छ ।
सधैंजसो स्कुल जान नपरे हुन्थ्यो भनेर अनेक हुँदा नहुँदा बहाना बनाएर घर बस्ने अथवा जसो तसो स्कुल गइहाले पनि फेरि अनेक जुक्ति लगाएर घर फर्किने उ । भोलि को स्कुल को लागि यति धेरै उत्साहित हुनुको कारण स्कुल मा हुन गइरहेको सरस्वती पुजा पो रहेछ।
आमा मनमनै उसको भगवान प्रतिको लगाव अनि स्कुल प्रतिको वितृष्णा देखेर चिन्तित हुँदै भन्नु हुन्छ,
ए भईहाल्छ नि, चाँडै नै उठाइ दिउँला । चाँडै उठ्नलाई अहिले नै सुति हाल न त।
आमा, भोलि रिजल्ट भए पछि त म पनि कक्षा चार मा पुग्छु नि है ?
पास भए त पुगि हाल्छेउ नि । पास हुन लाई फेरि दिनदिनै स्कुल पनि त जानु पर्छ नि । पढ्नु पनि पर्छ तर तिमिलाई त सधैं स्कुल जाने बेला कि त पेट दुख्छ कि त कान दुख्छ नि हैन त ? पढ्न भन्यो कि नाच्न थाल्छेउ । कि त गाउन । नभए गफ गर्न ।
उ आमाको जवाफ ले वाक्क पर्दै सिरक ले मुख छोप्दै कोल्टो फर्केर सुत्छे।
प्रियाको मिल्ने साथि सुमि जसलाई स्कुल जान भने पछि असाध्यै मन पर्छ । अनि पढाईमा पनि निकै सिपालु छ । त्यसैले छरछिमेक सबैले छोरी हुनु त सुमि जस्तो भनेर उदाहरण दिने गर्छन्।स्कुलमा पनि शिक्षकहरु सबैले सुमिको नै तारिफ गर्ने गर्छन् ।
प्रिया र सुमि पनि असाध्यै मिलेर खेल्छन् , स्कुल पनि धेरै जसो सँङ्गै जान्छन् ।
एकाबिहानै सुमिको बाटो कुरेर बसेकि प्रिया सुमि लाई देख्नासाथ भन्छे,
ओहो, कत्ति ढिलो गरेको होला नि ? झन आज स्कुल चाडै पुग्ने भनेको ?
फागुनको महिना, न धेरै जाडो न त धेरै गर्मि । स्कुलको युनिफर्ममा सजिएर सुमि अनि प्रिया केहि क्षण पछि स्कुल तर्फ मोडिन्छन् ।
बिहान बिहानै शिक्षकको निर्देशन अनुसार सरस्वतिको पुजा को काम सकाए पछि सबै विध्यार्थिहरु स्कुलको प्राङ्गणमा जम्मा हुन्छन्। केहि क्षण पछि हुन गइरहेको परिक्षाको परिणाम सुन्नको लागि सबै छात्र छात्रा निकै उत्सुकताका साथ प्रतिक्षारत देखिन्छन्।
सुमि ? भोलि देखि त हामि कक्षा चार मा पढने ,नयाँ ड्रेस ,नयाँ किताब, कापि पाईन्छ नि है, ,आहा कस्तो रमाइलो ?
त्यति मात्र कहाँ होर ? अब देखि माथिल्लो तलाको नयाँ कक्षाकोठामा बसेर पढ्न पनि पाईन्छ नि है ? आहा, कस्तो मज्जा है ?
उ अझै उत्साहित हुदै भन्छे,
थाहा छ सुमि, मलाई त बाबाले भन्नु भाको ,आज म पनि तिमिले जस्तै धेरै नम्बर ल्याएर पास भएँ भने मलाई धेरै नयाँ लुगा पनि किनिदिनु हुन्छ रे ।
सुमि पनि उसको कुराले मनमनै गदगद हुँदै मुस्कुराउँछे।
प्रिया पनि मनमनै आफु पनि सुमिले जस्तै धेरै नम्बर ल्याएर पास हुन पाए कति रमाइलो हुनन्थ्यो होला भन्ने आश गर्दै र एकआपसमा मिठोमिठो कुरा गर्दै रिजल्टको प्रतिक्षा गर्न थाल्छन् ।
यत्तिकैमा उनिहरुको मिठो वार्तालापलाई भङ्ग गराउँदै एउटा चर्को श्वर उनिहरुको कानमा गुन्जिन पुग्छ।
कक्षा तीनमा सबैभन्दा धेरै अंङ्क ल्याएर प्रथम हुने छात्राको नाम हो सुमि शर्मा।
सुमि पनि हतारिंदै ,खुशि हुँदै पुरस्कार थाप्नको लागि मन्च तर्फ दौडिन्छे।
यसै गरि एंव रितले दोश्रो अनि तेश्रो नाम बोलाईन्छ। उनिहरुलाई फुल माला लगाएर अविर लगाउँदै पुरस्कार वितरण गरिन्छ।
सुमि अविर र मालाले रङ्गिएर हात भरि पुरस्कार पाएको कापि ,किताब लिएर प्रियाको छेउमा आएर बस्छे।
प्रिया कान थापेर आफ्नो नाम कहिले बोलाईन्छ र अगाडि गएर सुमिले जस्तै पुरस्कार थाप्न पाउँला भनि आशा राखेर बसिरहेकी हुन्छे। तर अपसोच प्रियाको नाम भने पास हुने लिष्टमा पनि हुँदैन।
जम्मा कक्षा तिनमा पढ्दै गरेकि प्रिया आफ्नो नाम नबोलाउनुको कारण बुझ्नै सक्दिन । त्यसैले अँध्यारो अनुहार लगाउँदै हात भरि पुरस्कार र फुलमाला लगाएर दङ्ग परेकि सुमिसँङ्ग सोध्न पुग्छे।
म्याडम ले त मेरो नाम बोलाउनु भएन त सुमि ?
तिमि फेल भयौ होला नि ? त्यसैले बोलाउनु भएन होला ? नभए त बोलाइ हाल्नु हुन्थ्यो नि ? सुमिले आफ्नै सुरमा जवाफ दिन्छे।
सुमिको जवाफले उसको मन नरमाइलो हुन्छ।साँच्चै फेल भएको भए त चार कक्षामा पढ्न पनि नपाईने भयो। नयाँ कापि, किताब र लुगा केहि पनि नपाईने भयो भन्दै आँखा भरि आँशु बनाउँदै मनमनै दुख मनाउ गर्छे।
तर त्यो भन्दा पनि उसको क्लासका सबै पास हुने साथि जस्तै गरि अगाडि मञ्चमा गएर अविर र माला लगाउन नपाएकोमा र साथिहरु सबैले अब उसलाई फेल भएको भनेर जिस्काउने भए भन्ने कुरामा उसलाई अझ बढि दुख लागेको हुन्छ।
यत्तिकैमा प्रिया त्यहाँबाट जुरुक्क उठ्छे र अनि सरासर मञ्च तर्फ लाग्छे । आफ्नो क्लासको शिक्षक नजिकै पुगेर सोध्छे । र म्याडम, हजुरले मेरो नाम किन बोलाउनु भएन ?
सुमिलाई भने शुरुमै बोलाएर अविरमाला लगाएर कापि, किताब दिनुभयो । मेरो भने नाम नै बोलाउनु भएन त ?सुमिले त धेरै नम्बर ल्याएर पास भएकोले फूल माला लगाएर पुरस्कार दिएको नि । तर तिमि त यहाँ सबैभन्दा थौरै नम्बर ल्याएर फेल भयौ नि प्रिया ? त्यसैले तिम्रो नाम नबोलाएको । अनि यसरि अगाडि आएर फूल ,माला, अविर लगाउन त पास पनि हुनुपर्छ नि ? स्कुल पनि दिनदिनै आउनुपर्छ । होमवर्क पनि समयमा बुझाउनु पर्छ नि त ?
मेरा साथिहरु सबैले अविर लगाएका छन् त मलाई पनि उनिहरुलाई जस्तैअविर लगाइदिनुन है ? नभए त मलाई सबैले फेल भएकि भनेर चिनिहाल्छन नि । फेल भए पनि लगाई दिनुस् न । अविर लगाउन त फेल भए पनि के नै बिग्रिन्छ र ?
प्रिया अनुरोध गर्छे।
अर्को वर्ष राम्रोसँङ्ग पढेर पास हुनु अनि लगाईदिउँला नि अविर है? ल अहिले घर जाउ ।
शिक्षकको कुरा सुने पछि उसको मन झन नरमाईलो हुन्छ । आँखाबाट कसैले नदेख्ने गरि तपक्क आँसु खसाल्दै उ सुमि लाई पनि भन्दै नभनि स्कुलको नजिकैको मन्दिर तर्फ दौडिन्छे।
मन्दिरमा विशेष पुजा चलिराखेको हुन्छ। उसले त्यहाँ पुगेर आँखा चिम्म गर्दै ,मनमनै धेरै प्रश्न दोहर्याउदै हुन्छे। किन ? फेल हुदैमा अविर पनि लगाउन नहुने ? आखिर किन होला पास हुने र फेल हुने बिचमा यस्तो भेदभाव गरेको ? पास हुने लाई सम्मान दिए पनि फेल हुनेको अपमान नगर्न पनि त मिल्थ्यो होला नि ? यस्तै यस्तै कुराहरु मनमा खेलाउँदै हुन्छे । त्यत्तिकैमा नजिकैबाट प्रिया भन्दै कसैले बोलाएको आवाज सुन्छे । फर्केर हेर्दा आफ्नो घर नजिकैको छिमेकि आन्टी देखेर उ अचम्म मान्दै सोध्छे, ए आन्टी हजुर पनि मन्दिर आउनुभएको ?
भर्खर पुजा सकेर बाहिर निस्केको नि। कन्ने केटि लाई टिका लाईदिनु पर्ने, कसलाई लगाईदिउँ भनेर यताउति हेरेको बेलामा तिमि पो यहि टुप्लुक्क आई पुगिछौ त । खै निधारको कपाल माथि पन्छाउ त , भन्दै आन्टीले टिका लगाई दिनु हुन्छ र हातमा पाँच रुपैयाँको नोट राखिदिंदै भन्नुहुन्छ, धेरै पढेर कक्षामा फस्ट भए है । पढेर ठुलो मान्छे बन्नु । भोलि पढेर डाक्टर्नि हुनु पर्छ नि है ?
ह्या आन्टी, ठुलो मान्छे होईन के मलाई त खुशि मान्छे बन्न मन छ । पछि गएर डाक्टर्नि होइन मलाई त असल मान्छे बन्न मन छ ।
के खुशि मान्छे हुन अनि असल मान्छे बनेर जिउन पनि पढेर फस्ट हुनैपर्छ त ? खुशि हुन त जान्नु मात्रैपर्छ, पढ्नु पर्दैन आन्टी ।
प्रियाको प्रश्न अनि जवाफ सुनेर आन्टी झसँङ्ग हुँदै भन्नुहुन्छ। हुन त हो नि । कुरा त ठिकै गरि प्रियाले आखिर जिवनमा असल मान्छे हुन अनि खुशि मान्छे हुन कति दुख छ ? त्यो भन्दा त बरु पढेर ठुलो मान्छे हुन धेरै सजिलो । तर यो कुरा यो बच्चालाई के थाहा ?
आन्टी मनमनै गुनगुनाउनु हुन्छ र भन्नुहुन्छ । कति कुरा गर्न आउछ यस्लाई अब कुरा गरे जस्तै स्कुल मा मन लगाएर पढे कमसेकम ठुलो मान्छे त हुने थिई ।
प्रियापनि आन्टीले दिएको आशिर्वाद भन्दा पनि पाँच रुपैयाँको नोट समाएर दंङ्ग पर्दै मन्दिर बाहिर पसलमा बेच्न राखिएको उसको खुशि किन्न दौडिन्छे।
साहुजि मलाई दुई वटा कापि, एउटा कलम अनि अलिकति अविर र एउटा माला दिनुहोस् न ।
प्रिया दङ्ग पर्दै आफैले किनेको अविर जति टाउको अनुहार भरि दल्छे । फुलको माला घाँटिमा झुन्ड्याउँछे । र हातमा कापि अनि कलम समातेर मुसुमुसु हाँस्दै घर तर्फ लाग्छे।
उसलाई बाटोमा देख्ने सबैले मनमनै सोच्दै थिए ,ओहो यिनि नानि त कति प्रशन्न देखिएकि ,परिक्षामा फस्ट भए जस्तो छ ।
घरको आँगनमा घाम ताप्दै गरेका बाबा लगायत सबैजनाको नजर एक्कसि प्रिया माथि पर्छ ।आश्चर्यले चकित हुँदै सुमिको बाबा ले भन्नुहुन्छ, ओहो मेरि छोरी त क्लास फस्ट नै पो भए जस्तो पो छ त ? स्कुल जान फिटिक्कै मन नगरे पनि पुरस्कार बोकेर फूल मालाले सजिएर पो आईछ त यो ? भित्र बाट आमा खुशि हुँदै निस्किनुहुन्छ र भन्नुहुन्छ,
छोरी तिमि फस्ट भयौ जस्तो छ नि हो ?
प्रिया पनि हास्दै भन्छे, होईन आमा म त फेल भए नि। अनि यो अबिर माला किन लगाएको त ?
किन र आमा फेल हुनेले अविरमाला लगाउनु हुदैन र ? मेरो सबै साथिले लगाए त्यसैले मैले पनि लगाएँ।
अनि कसले लगाई दियो नि ? आमा सोध्नुहुन्छ ।
मैले आफैले आफैलाई लगाईदिएको नि ?
प्रियाको कुरा सुनेर सबै गलल्ल हाँस्छन् ।
प्रिया पनि उनिहरु सँङ्ग मिसिएर खित्का छोडि छोडि हाँस्छे।