- मञ्जु दाहाल
बिहानिको सुर्यसँगै दौडिन्छु म
कागजरुपी पैसा कमाउन
हस्याङ्फस्याङ गर्दै पुग्छु म
रजिस्टर अनी मार्कर समाउन।
यसरी सुरु हुन्छ दिनको घडी
कक्षाभित्र पसी किताब खोल्दै,
सयौं खाली दिमाग भरिन्छ
चिच्याइ घण्टौं सम्म बोल्दै।।
कुनै क्षण यस्तो पनि हुन्छ
शरीरको उर्जा घट्दै स्वर हराउन थाल्छ,
कालोपाटीको वरीपरी घुमिरहँदा
आफ्नै शरीरको भारले गोडा पनि गल्छ।
न भोक न प्यास, न रुघा न खोकी, न ज्वरो
उपस्थिती मात्र नि भइदिन्छ अमुल्य,
सर्टिफिकेट बिकाइ मास्टर डिग्रीको
तोकिन्छ आफ्नो बौद्धिकताको मुल्य।।
कहाँ पुग्ने रैछ पैसाले,
लोभले तानिए बोर्डको पेपर करेक्सन गर्ने जमात तर्फ,
पहिलो अनुभव थियो
दुई सय पेपरको अभिभारा पाउँदा बढेर गयो हर्ष।
कहाँ सजिलो रहेछ र कमाउन पैसा
पिनले औंलाहरु कोर्दा आथ्था पनि भनिन,
पाता गलि, बेजोडले टाउको दुख्दा पनि
आँखालाई आराम गर भनिन।।
देशको सम्मानित पेशा अङ्गालेर बढेकी छु
हामीलाई हेर्ने नजरमा बद्लाव अझै आएन,
ूअङ्ग्रेजी भाषा पढाउने, त्यो पनि महिलाले ?
यो सुन्दा मनमा सम्मानको भावना छाएन।
अपरिपक्व हुन्छन् रे महिला
शायद पुरुषले गर्भबाटै सिकेर आउँछ्न् होला,
खुइलेको पोसाक, अनी फाटेको जुत्ता लाउने जती सबै शिक्षक रे
बोक्छौ अरे पुरानो झोला।।
देशको लागि जनशक्ती तयार गराउने शिक्षक
आफु खीइँदै अरुलाई तिखार्ने कार्य गर्छन्,
नियती हाम्रो कस्तो छ ?
आफ्नो चेला धनी बनाइ आफु उपचारको अभावमा मर्छन्।
आजको आधुनिक संसारमा
शिक्षकको महत्त्व घटेको महसुस
मैले मात्र गरेको हो कि ?
पिडा थपियो, जिम्मेवारी थपियो
कमाइको स्रोत बढ्न सकेन
शिक्षक सबैले यो कुरा महसुस गरेको हो कि ?