जोसेफ शाही
काठमाडौं । नेपालका शान प्रितम आचार्य र आयूष केसी विश्चर्चित इन्डियन रियालिटी शो ‘सारेगमप’ को अन्तिम १४ मा प्रवेश गर्न सफल भएका छन् । हजारौं प्रतिभावान बालबालिकाबाट छानिएर प्रितम र आयूष अन्तिम १४ मा आफ्नो स्थान अगोट्न सफल भएका हुन् ।
भारतीय समाजमा गीत संगीत साधनालाई उच्च महत्व दिइन्छ । तोते बोली फुट्ने उमेरमै बच्चालाई संगीत सिकाउन थालिन्छ । भारतको वंगाल प्रान्तमा संगीत साधना नहुने घरमा छोरी नै नदिने सामाजिक मान्यता रहिआएको छ । कठोर संगीत साधनाले खारिएका बालबालिकाको बीचमा आफुलाई अब्बल सावित गर्न सजिलो थिएन । तर नेपाली मेघावी दुई बाल प्रतिभा प्रितम र आयुषले आफुलाई अब्बल साबित गर्न सफल भएका छन् ।
सिन्धुपाल्चोक पुख्र्यौली घर भएका आयूष केसी र ईटहरीका प्रितम आचार्यको भेट सुरशाला आईडलमा भएको थियो । सुरशाला म्यूजिक एकेडमीले आयोजना गरेको सुरशाला आईडलमा आयुष केसी प्रथम र प्रितम आचार्यले दोस्रो स्थान हासिल गरेका थिए । सुरशालाकै विद्यार्थी आयूष र ईटहरीमा संगीतको प्रारम्भिक ज्ञान लिएका प्रितमको प्रतिश्पर्धा भारतीय रियालिटी शो ‘सारेगमप’मा पनि देखिएको छ ।
आयूष केसी र ईटहरीका प्रितम आचार्यको भेट सुरशाला आईडलमा भएको थियो ।
आयूष र प्रितमलाई ‘सारेगमप’को मञ्चमा पुर्याउने प्राविधिक बन्दोबस्त सुरशाला म्यूजिक एकेडेमीले मिलाएको थियो । सुरशाला म्युजिक एकेडेमीको समन्वयमा करिब एकवर्ष पछि अनलाईन अडिशनमार्फत आयुष र प्रितमसहित नेपालबाट १० जना बालप्रतिभा छनोट भएका थिए । दिल्लीमा भएको अडिशनबाट आयूष र प्रितम अन्तिम छनोटमा परेको सुरशाला म्यूजिक एकेडेमीका अध्यक्ष अमृत क्षत्रीले बताउनुभयो ।
आयुष र प्रितमका संगीत गुरु एवं सुरशाला फाउण्डेशनका अध्यक्ष युवा गायक अमृत क्षेत्रीले भन्नुभयो– मेरो लागि दुबै जना बराबर हुन् । दुबैकोे गायन क्षमताको राम्रा पक्षलाई केलाउदै उहाँले भन्नुभयो, ‘दुवैको गायकीको आफ्नै मौलिक शैली छ, प्रितमको खुला गायकी छ र भोकल ओपन छ, अनि आयुषको गायकी सफ्ट छ, मेलोडी भ्वाइश छ ।’
हिन्दी चलचित्र ‘वोर्डर’को ‘सन्दशे आते हैं’ बोलको गीत गाएपछि नेपालमा मात्र होइन भारतमा पनि प्रितमको चर्चा चुलिएको छ । शाहरुख खान अभिनित पछिल्लो चलचित्र ‘जेरो’ को गीत ‘जब तक जहाँ मे सुबह शाम है’ गायकीको दृष्टिकोणबाट निकै गम्भीर प्रकृतिको गीत मानिन्छ । सोही गीत प्रतिकृति हुनेगरी गाएपछि आयुषको गायकीले पनि चौतर्फी प्रशंसा बटुल्यो । एकपछि अर्को गीतमा निखारिएको प्रस्तुति दिँदै दुबै नेपाली बालक ढाका टोपी ढल्काउँदै ‘सारेगमप’मा चम्किएका छन् । आयूष र प्रितमका लागी ‘सारेगमप’ प्रस्तुति दिने मञ्च, संगीत सिक्ने गतिलो पाठशाला र ख्याति कमाउने अवसर बनेको छ ।
नेपाली सुरशाला आईडलमा प्रथम आयुष र दास्रो प्रितमको कस्तो नतिजा आउला ?
‘सारेगमप’मा प्रितम र आयुषको प्रतिष्पर्धा थप रोमाञ्चक हुने देखिन्छ । नेपाली सुरशाला आईडलमा प्रथम आयुष र दास्रो प्रितमको कस्तो नतिजा आउला ? आम नेपालीका लागि थप कौतुहलताको विषय बनेको छ । प्रितम र आयुषलाई सफलताको शुभकामना ।