काठमाडौं । रुसमा मदिरासँग जोडिएका अनेक किस्सा सुन्न पाइन्छ । यसरी सुनिने कतिपय कुराहरु मिथ्या मात्रै होलान् तर कतिपय घटना सत्य हुन्छन् । सर्वसाधारणदेखि ठुला–ठुला नेतासम्म मदिरा सेवनका कारण यदाकदा विवादमा पर्ने गरेका छन् । पुर्व राष्ट्रपति बरिस एल्त्सिनको मदिरा प्रेम सबैले थाहा पाउने गरी छताछुल्ल भएको थियो ।
सोभियत संघमा कलेज पढ्दा अर्मेनियन साथीहरुले सगर्व सुनाउने गरेको अर्मेनियन कन्याक (अर्मेनियन गणराज्यमा बन्ने प्रसिद्ध ब्य्राण्डी) संग जोडिएको एउटा रमाइलो प्रसंग ।
सन् १९४३ मा तेहरान सम्मेलनपछि स्टालिनले चर्चिललाई रात्री भोजमा अर्मेनियन कन्याकले सत्कार गरेछन् । त्यतिबेला अर्मेनियन कन्याकले सोभियत संघमा ठुलो प्रसिद्धि पाईसकेको थियो । स्टालिनको आथित्यप्रति शिष्टता देखाउन हो वा साच्ची नै कन्याक मन परेर हो चर्चिलले अर्मेनियन कन्याक आफुलाई निक्कै मन परेको बताए । चर्चिललाई कन्याक मन परेको थाहा पाएपछि क्रेमलिनबाट उपहार स्वरूप चर्चिल निवासमा नियमित रुपमा अर्मेनियन कन्याक जान थाल्यो ।
केही समयपछि आफुले तेहरान सम्मेलनमा टेस्ट गरेको कन्याक र क्रेमलिनबाट उपहार स्वरूप आउने गरेको कन्याकको स्वाद फरक पाएपछि चर्चिलले यस बिषयमा स्टालिनसँग गुनासो गरेछन् ! क्रेमलिनमा त्यसले ठुलै हलचल पैदा गरायो । स्टालिनले विदेशमन्त्री अनास्तास मिकोयानलाई किन यस्तो हुन पुग्यो तुरुन्त पत्ता लागएर रिपोर्ट गर्न निर्देशन दिए । मिकोयानले रिपोर्ट गरे, अर्मेनियन कन्याक बिशेषज्ञ (गुणबेत्ता) मर्गार सेड्राकियान स्टालिनको कोपभाजनमा परेर गुलागमा निर्वासित भएपछि फेरी त्यही गुणस्तरको कन्याक उत्पादन गर्ने व्यक्ति सोभियत संघमा कोहि रहेन ।
मिकोयानको यो रिपोर्टपछि तुरुन्तै मर्गार सेड्राकियानलाई गुलागबाट सफाई दिएर फिर्ता बोलाईयो । उनी आफ्नो पुरानो जिम्मेवारीमा फिर्ता पठाइए । पुरानै गुणस्तरको अर्मेनियन कन्याक पुनः उत्पादन हुन थाल्यो ।
चर्चिलको अर्मेनियन कन्याक प्रेम र स्टालिनलाई उनले लेखेको एउटा पत्रका कारण कन्याक बिशेषज्ञ मर्गार सेड्राकियानले जीवनदान पाए ।
जीवा लामिछानेको फेसबुकबाटः–