शम्भु दाहाल
झापा । अवैध रुपमा भारतबाट नेपाल भित्राउँदै गरेको अवस्थामा प्रहरीले २२ लाख ३० हजार मूल्य बराबरको औषधि बरामद गरेको छ । झापाको दक्षिणी सीमावर्ती गाउँपालिका कचनकवल–१ स्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले मोटरसाइकल र मारुती भ्यानबाट ल्याउँदै गरेको औषधिसहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।
बरामद भएका औषधिमा ब्रेस्ट्रिम आयल, ओर्लिस्ट्याट क्याप्सुल, फ्लोमिस्ट नसल स्प्रे, केयरप्रोस्ट, अमाग्रा, जुरिग ८०, फोरडर्म र पि–फोर्स छन् ।
पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–४ का २४ वर्षीय सम्दान हुसेन, २२ वर्षीय इतियाज आलम, २८ वर्षीय ताहिर आलम र भारतको दिल्लीस्थित जंगपुरी घर भइ काठमाडौँको जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामालाई पक्राउ गरेको छ । लामा नै औषधिको मुख्य कारोबारी रहेको प्रहरीले दाबी छ ।
बी.आर ३७ जी १४४० नम्बरको भारतीय मोटरसाइकल र नेपालकै मे १ च ४०६३ नम्बरको मारुती भ्यानमा लुकाएर १४ कार्टुन औषधि भित्राउँदै गर्दा उनिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरामद गरिएको औषधि, पक्राउ परेका ४ व्यक्ति र औषधि ल्याउन प्रयोग गरिएका २ वटै साधनलाई औषधि व्यवस्था विभाग बिराटनगरमा बुझाइने प्रहरिले बताएको छ । यसअघि पनि झापाको काँकरभिट्टा नाका हुँदै बीएण्डसी अस्पतालले अवैध रुपमा ल्याउदै गरेको ठुलो परिमाणको औषधि इलाका प्रहरीले बरामद गरेको थियो ।
औषधीसँगै ७ लाख ७८ हजार ६ साय ६० रुपैयाँ मुल्य बराबरको भन्सार छली गरी ल्याईदै गरेको सामान समेत बरामद गरेको प्रहरीले जनाएको छ ।