काठमाडौं । राजधानीबाट प्रकाशित अखबारहरुले आइतबार साँझ बारा र पर्सामा असिनापानीसँगै आएको हावाहुरीका कारण २५ जनाको मृत्यु भएको समाचारलाई प्राथमिकतामा राखेर समाचार छापेका छन् । समाचारहरुमा उल्लेख भए अनुसार बारामा मात्रै २० जनाभन्दा बढी जनाको मृत्यु भएको छ ।
आइतबार जनतासमाचार डटकमले देशैभरिका समसामयीक विषयका समाचारलाई नै बढी प्रभामिकता दिएर समाचार छापेको थियो । समाचारमा देशका विभिन्न स्थानमा भएका दुर्घटना, विकाशनिर्माणको क्षेत्रमा भइरहेका गतिविधी तथा विभिन्न सामाजिक घटनाहरु समावेश गरिएको थियो ।
कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकले ले आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीका कारण २५ जनाको मृत्यु भएको समाचारलाई आफ्नो प्रमुख समाचारको रुपमा प्रकाशित गरेका छन् । हावाहुरीले विद्युत्का पोल तथा रुख ढालेर घर किच्दा बारामा मात्रै २० जनाभन्दा बढीको मृत्यु भएको र सय भन्दा बढी घाइते भएको समाचार छ । हावाहुरीका कारण घाइते हुनेको संख्या यकिन हुन नसकेको, वीरगन्जका अस्पतालहरु घाइतेले भरिएको र घाइते निकाल्न डोजर नै परिचालन गरिएको जनाइएको छ ।
अन्नपूर्ण पोष्ट् दैनिकमा ‘सिन्दुरभन्दा सस्तो जिन्दगी’ शिर्षकको समाचारमा श्रीमानको निर्घात कुटाईबाट अकालमै ज्यान गुमाउन पुगेकी विरगञ्जकी सुनितादेवीको दाहसंस्कार चिकित्सक पति सचिदानन्दको नामकै सिंदुर लगाइदिएर गरिएको विषयलाई प्रमुख समाचारको रुपमा पैकाशित गरेका छ । समाचारमा त्यसरी निर्घात कुटपिट गरि हत्या गर्ने पतिकै नामको सिंदुर दाहसंस्कारका क्रममा लगाइनु अन्याय भएको भन्दै अधिकारकर्मीहरुले आलोचना गरेको विषयलाई उल्लेख गरिएको छ ।
राजधानी दैनिकले ‘कहाँ गयो साढे तीन अर्ब रुपैयाँ’ शिर्षकमा राष्ट्रिय मानव अधिकार आयोगले अथृ मन्त्रालयसँग दातृ निकायले दिएको अर्बौं रुपैयाँको हिसाब माग्दा पनि आयोगलाई मन्त्रालयले नबुझाएको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । समाचारमा अर्थ मन्त्रालयले वेवास्ता गरेपछि मानवअधिकार आयोगले यस विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयलाई ध्यान आकर्षण गराउँदा पनि चासो नदेखाएको लेखिएको छ ।
नागरिक दैनिकले ‘परिक्षा दिन नपाएपछि विद्यार्थी आन्दोलित’ शिर्षकमा पोखरा विश्वविद्यालयले तोकेको मापदण्डविपरित भर्ना भएका ३ सय ९१ विद्यार्थी व्यवस्थापनतर्फ स्नातक तहको पहिलो सेमेस्टरको परीक्षादिन नपाएपछि आन्दोलित भएको समाचारलाई प्रमुख समाचारको रुपमा छापेको छ । समाचारमा व्यवस्थापनतर्फ स्नातक तहमा भर्ना हुन कक्षा ११ र १२ को परीक्षामा न्युनतम सी ग्रेड ल्याएको हुनुपर्ने विश्वविद्यालयको प्रावधान भएको तर यो प्रावधानविपरित ४२ वटा बलेजले सी भन्दा तलको ग्रेड ल्याएकालाई समेत भर्ना लिएको उल्लेख छ ।