कमजोरी देखाउन सजिलो छ, आरोप–प्रत्यारोपको व्यापार गर्न सजिलो छ तर आफ्नै कर्म र जवाफदेहिताको आत्ममूल्याङ्कनमा हामी पछाडि छौँ ।
काठमाडाैं । वामपन्थी खेमाका लेखकहरुको साझा संगठन प्रगतिशील लेखक संघ विभाजित भएको भनेर गरिएको प्रचार गलत भएको संघका पदाधिकारीहरुले बताएका छन् ।
आइतबार प्रेस विज्ञप्ती जारी गर्दै संघका अध्यक्ष मात्रिका पोख्रेल र महासचिव आर एम डंगोलले प्रलेस विभाजित भएको झुठो प्रचारले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
अग्रगामी सांस्कृतिक आन्दोलनको लागि साझा मञ्च निर्माण पहलको आह्वान गर्दै केही राजिनामा दिएका लेखकहरुद्धारा प्रेसित वक्तव्यमा प्रलेसको केन्द्रीय सल्लाहकारलगायत केन्द्रीय नेतृत्वमा रहेका केही लेखक, स्रष्टाहरूको हस्ताक्षरविनाको नामावली उल्लेख गरेर विभाजनको नाटक गरिएको उपाध्यक्ष डा. पुष्करराज भट्टले बताउनुभयो ।
असहमत लेखकहरुले वर्तमान पदाधिकारीहरुले प्रलेसको प्रस्तावनाको मूल मर्मलाई आत्मसात नगरेको, आफूहरूलाई प्रलेसको केन्द्रीय जिम्मेवारीबाट नियतवश निषेध गरिएको, भाषिक समावेशितालाई बेवास्ता गरिएको र प्रलेसको बैठकलगायतका कुनै पनि कार्यक्रममा नबोलाइएको भनी मूल नेतृत्वप्रति आफूहरूको मतभेद÷असहमति रहेको भन्दै बाहिरिएको घोषणा गरेका थिए ।
यसरी प्रलेसमा विवाद देखिएपछि संघले विज्ञप्ती निकालेर यथार्थ फरक रहेको जनाएको छ । बाहिरिएका लेखकहरुले उठाएका विषयवस्तुहरुबारे प्रलेसले फर्काएको जवाफ यहाँ उल्लेख गरिएको छ ।
दशौँ सम्मेलनपछिको स्थितिः
प्रलेसको दशौँ राष्ट्रिय सम्मलेन सम्पन्न हुँदै गर्दा प्रलेसमा आवद्ध घटकीय सङ्गठनहरूले जसरी अपनत्वका साथ स्वामित्व लिनुपथ्र्यो, यस कोणबाट यसमा संलग्न एउटा घटक सङ्ठनले जिम्मेवारी बोध नगरेको हामीलाई उतिबेलै महसुस भएको हो । सम्मेलन समापनपछिको नयाँ नेतृत्वले नीति, योजना र कार्यक्रमबारे रणनीति तय गरिरहँदा यसको कार्यान्वयनमा उहाँहरूको तर्फबाट उदासिनता र बेवास्ता देखाइयो ।
सङ्घीय संरचनाअनुसार संस्थाले वैचारिक र सृजनात्मक कार्यक्रमहरू सञ्चालन गरिरहँदा यसका सल्लाकारमै रहनुभएका एक जना व्यक्तिले प्रलेसको निर्णय पुस्तिका नियन्त्रणसहित कार्यालय कब्जा गर्ने कोसिस गर्नुभएको तथ्य समयक्रमले उद्घाटित गरिसकेकै छ । एक केन्द्रीय सचिवलगायत केन्द्रीय समिति र राष्ट्रिय परिषद्मा रहनुभएका केही साथीहरूले त प्रलेसको केन्द्रीय नेतृत्व र नीतिमाथि नै असहमतिसहित राष्ट्रिय पत्रिकामा लेख नै छपाउनुभयो । अन्य सचिवालय सदस्यहरू प्रलेसको सचिवालय बैठकमा रचनात्मक भूमिकामा कहिल्यै देखिनुभएन । राष्ट्रिय परिषद् बैठक, केन्द्रीय समिति बैठक र सचिवालय बैठकलाई भन्दा उहाँहरूले अन्य कित्ताका विभिन्न साहित्यिक उत्सवलाई महत्व दिने गर्नुभएको यथार्थता पनि जगजाहेर छ । प्रलेसको पछिल्लो सचिवालय बैठकमा सचिवालय सदस्य राजु स्याङ्तान र सङ्गीत श्रोताले त दुई ठूला वामघटक एमाले र माओवादी केन्द्र बीचको पार्टी एकतापछि आफूहरू यस संस्थासँग आबद्ध रहन नसक्ने भनी असहमतिसहित उहाँहरूले बिदा माग्नुभएको कुरा उल्लेख्य छ ।
काठमाडौँ शाखाको सम्मेलनबारे उठाइएका प्रश्न
जहाँसम्म केन्द्रीय सल्लाहकार परिषद्मा रहनुभएका सल्लाहकारहरूको कुरा छ, उहाँहरूमध्ये प्रा. डा. जगदीशचन्द्र भण्डारी, मित्रलाल पंज्ञनी, ईश्वरचन्द्र ज्ञवाली र प्रलेस नेतृत्वबीच घटकीय गतिरोधका ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’ मै भेटघाट र छलफल भएको कुरा स्मरण गराउन चाहन्छौँ । पछिल्लो समय सल्लाहकार परिषद्को बैठकमा मात्र होइन, प्रलेस परिसंवाद कार्यक्रम र अन्य कार्यक्रममा समेत भूमिकासहित उहाँहरूलाई निमन्त्रणा गरिएको तथ्य प्रलेसको आधिकारिक अभिलेखहरूमा हेर्न र पढ्न सकिनेछ ।
११ औँ राष्ट्रिय सम्मेलनको तयारी भइरहँदा नयाँ पुस्ताका स्रष्टाहरूमा देशव्यापी रूपमा देखिएको उत्साहजनक उपस्थितिका सन्दर्भमा काठमाडौँ प्रलेसले चार सय भन्दा बढी सङ्ख्यामा नयाँ सदस्यता वितरण तथा नवीकरण गरेको तथ्य पनि यहाँ उल्लेख गर्न चाहन्छौँ । सदस्यता वितरणको सन्दर्भमा एउटा सिङ्गो घटकले नै कुनै रुचि नदेखाउनु, सदस्यता रसिद बोकेर जानुभएका साथीहरूले सदस्यता वितरणको जिम्मेवारीसमेत पूरा नगरिदिनु अनि सोही साथीहरूबाट नै काठमाडौँ शाखाको सम्मेलनको वैधानिकतामाथि प्रश्न उठाइनु आफैँमा हास्यास्पद छ ।
भाषिक समावेशिताबारेः
भाषिक समावेशिताका सम्बन्धमा प्रलेसले यसैसँग सम्बन्धित भएर विभिन्न गतिविधि गर्दै आइरहेकै छ । यसपटक हामीले मातृभाषा विभाग नै गठन गरेका थियौँ, जसको संयोजक रोशन जनकपुरी र सचिव राजु स्याङ्तान हुनुहुन्थ्यो । तर, यसले जिम्मेवार ढङ्गले कुनै काम नगरेको हुनाले उहाँहरूले नै यससम्बन्धी प्रश्न उठाउनु कत्तिको नैतिक होला ?
जिम्मेवारी बहन र आक्षेपः
कमजोरी देखाउन सजिलो छ, आरोप–प्रत्यारोपको व्यापार गर्न सजिलो छ तर आफ्नै कर्म र जवाफदेहिताको आत्ममूल्याङ्कनमा हामी पछाडि छौँ । केही आशङ्का हाम्रा पनि छन्— प्रलेसको केन्द्रीय कार्यक्रम, बैठक भइरहँदा यससँग सम्बद्ध जिम्मेवार साथीहरूले देशका विभिन्न ठाउँमा भइरहेका प्रतिध्रुवीय साहित्यिक उत्सवहरूमा सेलिब्रेटी बन्ने होडमा सक्रिय सहभागिता जनाउने गर्दै आउनुभयो । यस्ता संस्थाकै संस्थागत चरित्रबारे प्रश्न उठाउन सकिन्छ । आफ्नै संस्थाका विरुद्धमा जुन सञ्चारमाध्यममा उहाँहरूले कलम चलाइरहनुभएको छ, तिनै सञ्चारमाध्यमको संस्थागत चरित्रमाथि पनि प्रश्न उठाउन सकिन्छ ।
प्रलेसको प्रतिरोधि चरित्रबारेः
जहाँसम्म प्रलेसको प्रतिरोधि चरित्रमाथिको प्रश्न छस राष्ट्रियता, जनतन्त्र, जनजीविका र भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद–विरुद्धको मूल एजेन्डामा एकै ठाउँमा उभिएर यससँग सम्बद्ध कुनै पनि असङ्गत क्रियाकलापप्रति हामीले असहमति जाहेर गर्दै आइरहेका छौँ । यसै सन्दर्भमा प्रलेससम्बद्ध केन्द्रीय नेतृत्व तथा प्रलेसका जिम्मेवार भूमिकामा रहनुभएका स्रष्टाहरू धरपकड, गिरफ्तारी र थुनामा पर्दा उहाँहरूको रिहाइका लागि संस्थागत रूपमा हामीले गरेको पहल पनि जगजाहेर नै छ ।
एउटा तथ्यमा भने हामी स्पष्ट हुनु जरुरी छ, प्रलेस विभाजित भएको होइन, यसमा रहनुभएका केही साथीहरू यसबाट बाहिरिनुभएको हो । उहाँहरूलाई सङ्गठित रूपमा आफ्ना सिर्जनात्मक गतिविधि गर्ने स्वतन्त्रता छँदै छ । नेपाली प्रगतिशील साहित्यिक, सांस्कृतिक आन्दोलनलाई अझ उचाइमा पु¥याउन उहाँहरूले इमानदारीका साथ पहल गर्नुभयो भने प्रलेस नेपाल उहाँहरूसँग पनि सहकार्य गर्न तयार छ ।
यसरी संघको विज्ञप्तीमा प्रलेस आफ्नो सङ्गठनको एघारौँ राष्ट्रिय सम्मेलनको सँघारमा उभिएको र चैत्र २२ र २३ गते ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा सम्मेलन आयोजना गरिएको उल्लेख गरिएको छ ।