काठमाडौं । भनिन्छ लगनशीलता सफलताको कडी हो । यस्तै सफलताको सिँढी चढेर मानिस आफूलाई समाजमा प्रतिष्ठित बनाउन चाहन्छ । सफलताका लागि लगनशीलता, परिश्रम र सही समय पनि आवश्यक पर्छ । आज हामी सफलता प्राप्तिका लागि प्रयासरत महिला उद्यमीबारे केही प्रेरणागत पाटो चर्चा गर्नेछौँ ।
नामः शितल श्रेष्ठ, धनकुटाको गाउँमा हुर्किएकी २७ वर्षीया शितलको सपना मोडल बन्ने थियो । त्यही सपना पूरा गर्न २०६५ मा एलएलसी दिएर काठमाडौं आइन् । मोडल बन्ने रहर भए पनि काठमाडौंमा आएपछि त्यो सपना सजिलो रहेनछ भन्ने बुझ्दै गइन् । काठमाडौंमा बस्न थालेपछि शुरुको तीन–चार महिना नृत्यका प्रशिक्षण लिइन् । जागिर खाँचो हुन थाल्यो । शुरुमा रेस्टुरेन्टमा काम गरेकी शितलले केही समय त्यहाँ काम गरेपछि क्यासिनोमा पनि काम गर्न थालिन् । तर क्यासिनो पनि केही समयपछि बन्द भयो ।
सबैतिरबाट दिक्क भइसकेपछि पनि शितलले मोडलिङ भने छोडिनन् । उनले त्यसपछि केही म्युजिक भिडियोमा काम गरिन् । म्युजिक भिडियोमा काम गर्दा केही मानिसले चिन्न थालेपछि भने उनले त्यो पेशालाई नै छोडिदिइन् । ‘मलाइ मानिसहरुले चिन्न थालिसक्नुभाको थियो त्यतिबेला मेरो बाटो नै अलग भइसकेको थियो,’ शितल भन्छिन् । म्युजिक भिडियोमा काम गर्नुभन्दा जागिर नै ठिक लागेपछि उनी फेरि जागिर नै गर्न थालिन् । तर त्यो पनि लामो समय टिक्न सकेन ।
सबै कुराबाट हारथाक भइसकेपछि उनले केही पार्टनरसँग मिलेर रेस्टुरेन्ट खोल्ने विचार गरिन् । रेस्टुरेन्ट पनि शुरु गरियो र नाम राखियो ‘अर्गानिक चुल्हो ।’ तीनजनाको पार्टनरसीपमा रेस्टुरेन्ट खोले पनि त्यो रेस्टुरेन्ट आफ्नो नाममा थिएन । पछि त्यो साझेदारी ६ महिनासम्म पनि टिक्न सकेन । त्यसपछि उनले त्यो रेस्टुरेन्टलाई जेनतेन गरेर आफ्नो हातमा पार्न सकिन् । अहिले उनी एक्लैले राजधानीको पुरानो बानेश्वरमा ‘अर्गानिक चुल्हो’ सञ्चालन गर्दै आएकी छन् ।
शुरुमा कागजीरुपमा आफूसँग रेस्टुरेन्ट नभए पनि पछि उनले एकदमै दुःखले रेस्टुरेन्ट आफ्नो नाममा गराइन् । पछिल्लो एक वर्षदेखि अर्गानिक रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी शितलले अरुभन्दा केही फरक गरौँ भनी विभिन्न अर्गानिक आइटमले ग्राहकको सेवा गर्ने गर्छिन् ।
मार्सी चामलको भात
पछिल्लो समय खुब चर्चामा आएको मार्सी चामलको भात अर्गानिक रेस्टुरेन्टको मुख्य मेन्यु हो । पछिल्लो समय चर्चामा आएको भएपछि अर्गानिक रेस्टुरेन्टमा मार्सी चामलको भात पहिलेदेखि नै पाइने शितलको दाबी छ । ‘हामी तीनजनाको पार्टनरसीपमा गर्दा एकजना पार्टनर जुम्लाको हुनुहुथ्यो, उहाँले उतैबाट सम्पर्क गरेर मार्सी चामल मगाउनुहुथ्यो,’ उनी भन्छिन्, ‘अहिले मैले पनि त्यहीँ सम्पर्क गरेर जुम्लाबाट नै मार्सी चामल मगाइरहेको छु ।’
आफ्नो रेस्टुरेन्टको नाम अर्गानिक भए पनि सबै कुरा अर्गानिक नभएको शितल बताउँछिन् । सम्भव भएसम्म अर्गानिक खाना खुवाउने प्रयासमा रहने उनको तर्क छ । ‘हामीले विशेष फोकस नै खानालाई गरेका छौँ, त्यसका पनि एकदमै फ्रेस ।’ उनी भन्छिन्, ‘हामीले दाल र चामल गाउँबाट नै लिएर आउँछौ ।’ अरु रेस्टुरेन्टहरुमा पाइने साधारण किसिमका खानाको साथमा मार्सी खाना सेट यहाँको मुख्य विशेषता रहेको शितल बताउँछिन् । ‘विशेषत नेपाली खानाको लागि फोकस गरेर खोलिएकोले हामी खानाको परिकारहरुको फ्रेसनेस र स्वादमा बढी प्राथमिकता दिन्छौँ,’ शितलले थपिन् ।
१ सय ५० जनासम्मलाई एकैपटक सेवा दिन सकिने रेस्टुरेन्टमा प्रत्येक महिना सांगीतिक कार्यक्रम हुने गर्छ । पहिला मोडलिङ गरेकी शितलको कलाकारसँगको सम्बन्ध राम्रो भएकाले पनि रेस्टुरेन्टमा कलाकारको राम्रै जमघट हुनेगर्छ । ६५ लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको रेस्टुरेन्टमा अहिले १३ कर्मचारी कार्यरत छन् । ठूलो एरियामा फैलिएको रेस्टुरेन्टमा सेमिनार, पार्टीलगायत बिहान चियादेखि रातिको खानासम्मको व्यवस्था रहेको शितल बताउँछिन् ।
रेस्टुरेन्ट बिहान ८ बजेदेखि राति १० बजेसम्म खुल्ने गर्छ । रेस्टुरेन्टमा शितल आफैँ पनि एकदमै खट्ने गर्छिन् । बिहान रेस्टुरेन्टमा चाहिने तरकारीलगायतका आवश्यक सामग्री व्यवस्था शितल आफैैँ गर्ने गर्छिन् । रेस्टुरेन्टको वातावरण पनि शान्त छ । राजधानीको कोलाहलबाट एकैछिन भएपनि शान्त र हरियाली वातावरणको विचरणका लागि अर्गानिक रेस्टुरेन्ट एक विकल्प हुनसक्छ ।
व्यापारमा एक स्तरमा पुगिसकेकी शितल व्यापारमा आउनेहरुलाई एकदमै बुझेर मात्र आउन सल्लाह दिन्छिन् । ‘यदि फराकिलो सोच राखेर काम गरियो भने जे काममा पनि सफल भइन्छ,’ शितल बताउँछिन्, ‘साँघुरो सोच राखेर काम गर्न खोजियो त्यो काममा कहिल्यै अघि बढ्न सकिन्न ।’ कुनै पनि काम गर्दा धैर्य हुनु पनि जरुरी रहेको शितलको तर्क छ ।
शितलले गरेको काम व्यवसायमा लाग्नेका लागि उदारणीय बन्न सक्छ । उनले जीवनमा भोगेर आएका भोगाइ धेरैका लागि सिकाइ पनि बन्न सक्छ ।