बारा । ईलाका प्रहरी कार्यालय जितपुरले भन्सार छलि गरी ल्याएको झण्डै ४० लाख मुल्य बराबरको लक्ताकपडा बरामद गरेको छ ।
बुधवार बिहान साढे १० बजे ईप्रका जितपुरले गोप्य सुचनाका आधारमा शंका लागेको ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्ने गर्दा भन्सार छलि गरी ल्याएको झण्डै ४० लाख मुल्य बराबरको २२ पोका कपडा नियन्त्रणमा लिएको हो ।
ना५ख ७९८४ नम्बरको ट्रककोअगाडी कपडा राखि पछाडी ड्रम र मथीबाट त्रिपालले छोपेर ल्याइरहेको अवस्थामा सुचनाको आधारमा त्यो समान बरामद गरिएको ईलाका प्रहरी कार्यालय सितपुरका प्रहरी नायब निरिक्षक सागर राणाले जानकारी दिनुभएको छ ।
उहाँले नियन्त्रणमा लिईएको सामान थप अनुसन्धानका लागि राजस्व अनुसन्धान ईकाइ पथलैयामा पठाउने जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सानुराम भट्टराईले जिल्लाभरका सुरक्षाकर्मी आँधीहुरी प्रभावितलाई उद्धार र राहत वितरणमा खटिएको अवस्थामा तस्करहरुले प्रहरीको आँखा छल्न खोजेको टिप्पणी गर्नुभएको छ ।
पछिल्लो समय सुरक्षा निकायको सम्पूर्ण फोर्स आइतबार साँझ आएको भिषण आँधीहुरीका कारण भएको मानवीय तथा भौतिक क्षतिको उद्धारमा खटिएको छ । पीडित परिवारको उद्वार, राहत र पुनस्थापनामा सुरक्षा निकायहरु खटिएको मौका छोपेर तस्करले आफ्ना गतिविधि बढाउन खोजेको प्रहरी उपरिक्षक भट्टराईले टिप्पणी गर्नुभएको छ ।
अहिले बाराको फेटा, पर्सौनी, परवानीपुर, सुवर्ण गाँउपालिका सहित कलैया र प्रचरौता नगरपालिका आँधीहुरीका कारण भएको घटनामा प्रभावितहरुको सहयोग र उद्वारका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी ठुलो संख्यामा खटिएको छ ।