नारायण थापा
भक्तपुर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देशका तीन वटै तहका सरकारले सिंहदरबार गाउँ–गाउँमा पु¥याउने अभियान शुरु गरेको बताउनुभएको छ । चाँगुनारायण नगरपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविर उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले सरकार जनताको घरदैलोमै पुगेर सेवा दिने कार्यमा सक्रिय रहेको उल्लेख गर्नुभयो ।
उहाँले जनतालाई छिटो भन्दा छिटो सेवा प्रदान गर्न एकृकित शिविरहरु समेत सञ्चालन गरिरहेको बताउनुभयो । गृहमन्त्री थापाले सरकारले विकासलाई तिब्र गतिमा अगाडि बढाउन पञ्च वर्षिय योजना निर्माण गरि कार्य अगाडि बढाइरहेको जानकारी दिनुभयो । अबको २५ वर्षमा अति नेपाल विकसित राष्ट्रका रुपमा रुपान्तरण हुने बताउनुभयो ।
यसका लागि एकिकृत प्रयास आवश्यक रहेको औल्याउँदै उहाँले नेपालको गौरबलाई स्थापित गर्न र विकासलाई तिब्र गतिमा लैजान शान्ति, शुसासन र स्थायित्व आवश्यक भएको भनाई राख्नुभयो ।
उहाँले चाँगुनारायण ईन्जिनियरिङ्ग कलेजको अनियमिततालाई नियन्त्रण गर्न र कलेजलाई सामुदायीक रुपमा संचालन गर्न सरकारले कार्य अगाडि बढाउने बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरमा सरकारको शून्य लगानीमा हनुमन्ते सफाई अभियान सुरु भएको बताउदै जनताको सेवा गाउँ गाउँमा पुर्याउन पनि भक्तपुरले अभियान संचालन गरेको बताउनुभयो ।
चाँगुनारायणमा सञ्चालित एकिकृत घुम्ति शिविरमा २४ जना विशेषज्ञ चिकित्सक सहितको सबै प्रकारको स्वास्थ्य सेवा, नागरिकता, राहदानी, नाबालक परिचय पत्र, आदिवासी जनजाति प्रमाणपत्र, अपाङ्गता परिचय पत्र, ज्येष्ठ नागरिक परिचय पत्र वितरण र अन्य सबै सरकारी सेवाहरु प्रदान गरिएको नगर प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो ।