जोसेफ शाही
काठमाडौं । लामो कपाल, गहुँगोरो वर्ण, हेर्दै मिलनसार अपरिचित व्यक्तिसँग अनामनगरस्थित रेकर्डिङ स्टुडियोमा भेट भयो । ६–७ वर्षअघि जीवनकै पहिलो गीत रेकर्डिङक्रममा संयोगवश भेटिएका अपरिचित व्यक्तिको नाम सुमन केसी रहेछ । पहिलो गीत रेकर्डिङकाक्रममा भेटिएका सुमनले बातचितमा भन्नुभयो, ‘एरेन्ज पनि गर्छु, भर्खर शुरु गरेको हँु ।’ सामान्य चिनजानपछि बेलामौकामा भेटघाट हुनथाल्यो । एरेन्जर भन्नेबित्तिकै स्वभाविकरुपमा केही सिर्जनशील कार्यमा सहकार्य गरौँ भन्ने लागिरहेको थियो ।
२०७१ को बीचतिर अस्थिर राजनीतिक खिचातानीले विरक्त लागेर आफैँले ‘राजनीतिको आगोभित्र पोलिदैँछ देश’ भन्ने गीत लेखेँ, संगीत पनि भरेँ । गीतमा संगीत संयोजन गर्न कसलाई दिने भन्ने मनमा खेलिरहँदा सुमन मानस्पटलमा आए । पहिलो गीतको संगीत संयोजनक्रममा वरिष्ठ संगीत संयोजकबाट अचाक्ली दुःख पाइसकेकाले साथीसँग काम गर्दा अलि सहज होला कि भनेर सुमनलाई भेटेँ । गीतको डमी दिएँ । गायनप्रतिको असीमित भोकले सायद सुमनजीले केही लाइन आफैँ गाएर गीत एरेन्ज गर्नुभएछ । गीतको शुरुको आलाप उहाँले आफ्नै शैलीमा यति मीठो गाइदिनुभएछ कि, हामीले उहाँले गाउनुभएकै शैलीलाई पछ्याएर गायौँ । त्यतिखेरै लागेको थियो कि यति मीठो गाउने मान्छे किन गीत एरेन्ज गरेर बसिरहेको छ ?
मनभित्र कौतुहलता हुँदाहँुदै पनि नसोधेको कुरा सोध्दा सुमनजीले सबै बेलिविस्तार सुनाउनुभयो । प्यूठानको तत्कालीन पुँजा गाविस जन्मिएका सुमन बाल्यकालदेखिनै गीत गाउनुहुन्थ्यो । स्कुलमा हुने कार्यक्रममा गीत गाउँदा साथीभाइ र शिक्षकशिक्षिकाबाट हौसला बटुलिन्थ्यो । किशोरावस्थामा प्रवेश गरेपछि उहाँको पातलो मिठो आवाज एकैचोटि मोटो धोद्रो सुनिन थाल्यो । त्यसको चिन्ता सुमन केसीलाई छँदैथियो, त्यो भन्दा बढी चिन्ता उहाँको हजुरआमालाई भएछ, आवाज धोद्रो भयो, भोलि नातिले मीठो गीत गाउन सक्ला कि नसक्ला भन्ने चिन्ताले हजुरआमालाई पिरोलेछ ।
दिन बित्दै जाँदा गायक बन्ने सपना बोकेर प्यूठानबाट काठमाडौं छिरेका सुमनको शुरुको गायन यात्रा सोचेजस्तो हुनसकेन । काठमाडौंको महँगो बसाई त्यसमाथि शुरुमै स्टुडियोमा गीत रेकर्ड गर्न त्यति सहज नलागेपछि उहाँ संगीत सिक्दै विस्तारै संंगीत संयोजन गर्न थाल्नुभएछ । केही समय रेकर्डिस्टका रुपमा काम गरेपछि विस्तारै संगीत संयोजनमा व्यस्त हुन थाल्नुभयो । संगीत संयोजन गर्ने गीतमा आफैँ डमी हाल्दिँदा उहाँको आवाज मन पराउने संगीतकर्मीको जमात बढ्दै गयो । संगीत संयोजन गर्दा उहाँ आर्थिकरुपमा पनि सबल बन्दै जानुभयो र गीत गाउँदा ध्यान दिनुपर्ने प्राविधिक पाटो पनि ज्ञान हुँदा उहाँको गायकी थप निखारिँदै गयो । शुरुमै गायनमा नलागेर संगीत संयोजनमा लाग्दा पछुतो छैन सुमनलाई ।
त्यसयता उहाँसँग दर्जन बढी गीतमा काम गरिसकेँ । केही गीत सुमनसँगै गाएको छु । एउटा रमाइलो प्रसंग के छ भने, एक दिन सुमनसँगै हुँदा आँखा अकस्मात मेरो मोबाइलमा परे । उहाँको नाम एरेन्जर सुमन भनेर सेभ गरेको थिएँ । उहाँले हाँस्दै भन्नुभयो, ‘सरजी अब छिट्टै तपाईंले सिङ्गर सुमन लेखेर सेभ गर्नुहुन्छ ।’ उहाँको गायनप्रतिको असीमित झुकाव र समर्पण त्यतिखेर पनि अनुभूत भएको थियो ।
पछिल्लो २–३ वर्षयता सुमनको आवाजमा निकै मन छुने गीत बजारमा आएका छन् । सुमनजीले मेलिना राईसँग गाउनुभएको युगल गीत ‘मखमली चोली’ सर्वाधिक रुचाइएको गीत हो । यही गीतबाट उहाँले वर्षकै उत्कृष्ट गीत टाइटलमा कालिका अवार्ड जित्नुभयो । उहाँको आवाजमै रहेको ‘आदत बन्यौ’ तिमी सुनिरहँु झँै लाग्छ । यस्ता दर्जन बढी गीत गाइसकेका सुमनलाई अनमोल केसी अभिनित क्याप्टेन फिल्मको गीत ‘सक्दिनँ कि बाँच्न’ले प्ले ब्याक सिङ्गिङमा स्थापित गरिदिएको छ ।
क्याप्टेन फिल्ममा गीत गाउने अवसर कसरी जुर्यो भन्ने जिज्ञासामा सुमनजीले भन्नुभयो, ‘क्याप्टेनका निर्देशक दीवाकर भट्टराई र संगीतकार अर्जुन पोखरेलबीच कुरा हँुदा निर्देशकज्यूले मेरो आवाज मन पराउनु भएछ । प्रतिष्ठित ब्यानरको चलचित्रमा गाउने अवसर मिल्यो भनेर फोन आउँदा सरप्राइज भयो ।’ अहिले क्याप्टेनको गीत चौतर्फी रुचाइएको छ । अन्य चलचित्रमा पनि उहाँको आवाजमा गीत आउने क्रममा छन् । अहिले सुमन केसीको ‘मखमली आवाज’ सुनेर मन्त्रमुग्ध हुनेहरुको जमात अस्वाभाविकरुपमा बढ्दै गएको छ ।