हुमाकान्त पोखरेल
गुल्मी । इस्मा गाउँपालिका ६ अमरपुरकी हरिकला विक पाठेघरको समस्या लिएर शिविर आइन् । डाक्टरहरुले उनको स्वास्थ्य परिक्षण गरे । पाठेघरमा संक्रमण देखियो । बाँकी उपचार गर्न उनीसंग खर्च थिएन । कोषले उनको बाँकी उपचार निशुल्क गरिदिने निर्णय ग¥यो । बिपन्न हरिकला खुशी भएर घर फर्किइन् ।
विक मात्रै हैन । सोहि स्थानका सोब बहादुर कुमाल लामो समयदेखि हाइड्रोसिलको समस्याले पीडित छन् । गाउँमै निशुल्क उपचार सुनेपछि शिविरमा आए । डाक्टरले उनको अवस्था बिकराल देथेपछि थप उपचारको लागि बाहिर सिफारिस गरे । उनीसँग पनि थप उपचारमा आर्थिक समस्या देखियो । कोषले पाठेघर र हाइड्रोसिलको समस्या भएका हरिकला र सोब बहादुर जस्तै १२ जना महिला र चार जना पुरुषको तम्घास र पाल्पामा लगेर थप उपचार गर्ने निर्णय गरेको संस्थापक समेत रहेका कुलचन्द्र गौतमले बताउनुभयो ।
गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले हिमा गौतम स्मृति कोषको आयोजनामा इस्मा गाउँपालिका ६ अम्मरपुरमा शिविरको आयोजना गरिएको थियो । शिविरमा स्त्री रोग, हाडजोर्नी तथा नशा र अन्य बिभिन्न रोगका पाँच सय ५३ पुरुष र सात सय ४४ जना महिलाले उपचार गराए ।
संयुक्त राष्ट्रसंघमा पुर्वसहायक महासचिव कुलचन्द्र गौतम पछिल्लो समय कम्तीमा बर्षको एक पटक गाउँ आउँनुहुन्छ । त्यो पनि गाउँ र गाउँलेको लागि कोशेली बोकेर । अहिले पनि बिशेषज्ञ सहितको दुई दिने निशुल्क स्वास्थ्य शिविर लिएर गौतम गाउँ फिर्नुभयो । गरिव र असहाय गाउँलेले उपचार पाए, उहाँ गाउँलेको आर्शिवाद बोकेर काठमाण्डौ फर्किनुभयो ।
गत बर्ष पनि उहा स्वास्थ्य शिविर नै लिएर गाउँ फर्किनुभएको थियो । गाउँकै ६ सय ९७ महिला र २ सय ५३ पुरुष गरी ९ सय ५० नागरिकले स्वास्थ्य सेवा लिएको हिमा गौतम स्मृति कोषका सदस्य सुजन चन्द्र गौतमले बताउनुभयो । कुलचन्द्र गौतमले गाउँको शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनदै आउनुभएको छ ।
को हुन ? हिमा गौतम
कुलचन्द्र गौतमकी आमा हिमा गौतम । विस १९८५ सालमा जन्मिनुभएकी आमा हिमा गौतमको २०५३ सालमा देहावसान भयो । हिमा गौतम तत्कालिन समयमा महिलाहरु साक्षर हुनुपर्छ, छोरीहरुलाई विद्यालय पठाउनुपर्छ, समाजका दुखी गरिवलाई औषधी उपचार गर्नुपर्छ भन्ने प्रगतीशिल बिचारकी अभियान्ता हुनुहुन्थ्यो । त्यसैले आमाकै सपना साकार पार्न कुलचन्द्र गौतम परिवारले २०५३ सालमा हिमा गौतम स्मृति कोषको स्थापना गरे । जसले अमरपुर र आसपासका क्षेत्रको शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा अतुलनिय योगदान पुर्याइरहेको छ ।
शिक्षाको क्षेत्रमा जोड
हिमा गौतम स्मृति कोषको उदेश्य अम्मरपुर र छिमेकी गाउँका गरिव तथा असाहय महिला, बालबालिका र अन्य सिमान्तकृत जनसमुदायको विकास र कल्याणका सहयोग पु¥याउनु हो । हिमा गौतम स्मृति कोषले विद्यालयमा बिशेष गरेर छात्रा र बिपन्न बालबालिकाको भर्नादर बृद्धि गर्न बिभिन्न कार्यक्रम संचालन गरेको छ । जसका लागि अमरपुरका विद्यालयहरुमा छात्रछात्रालाई निशुल्क कापी कलम, पोशाक तथा खाजाको व्यवस्था गर्दै आएको छ ।
उत्कृष्ट पुरस्कारको व्यवस्था गरिंदा विद्यार्थीहरुको शिक्षामा आकर्षण बढ्दैगएको छ । त्यस्तै १५ लाखको अक्षय कोषको स्थापना गरि अमरपुर माविलाई ओमप्रसाद गौतम मावि नामकरण भएको छ । अहिले अक्षय कोषसँगै माविको भौतिक संरचना निर्माण, खानेपानी ट्याङकी तथा धारा निर्माण, मञ्च निर्माण लगायत सांस्कृतिक र अन्य शैक्षिक कार्यक्रममा करिव ३० लाख लगानी भइसकेको प्रध्यानाध्यापक तिलक पराजुलीले बताउनुभयो । इस्मा गाउँपालिका ६ अमरपुरका वडाध्यक्ष हिरा जिसीले हिमा गौतम स्मृति कोषले स्थापनादेखि शिक्षाको क्षेत्रमा मात्रै झण्डै एक करोड लगानी गरिसकेको बताउनुभयो ।
स्वास्थ्यमा पनि ठुलो देन
हिमा गौतम स्मृति कोषले २०५६ सालमा अमरपुर स्वास्थ्य चौकीको चारकोठे भवन निर्माणको लागि जग्गा उपलब्ध गराएको छ । पछि स्वास्थ्य चौकीको स्तरोन्नती भयो । त्यसलाई पनि जग्गा अभाव भएपछि भवन निर्माण गर्न कुलचन्द्र गौतम आफैले ५ रोपनी जग्गा प्रदान गरे । अहिले सुविधासम्पन्न भवन निर्माण भएको छ । कोषकै संस्थापक सदस्य सावित्रा गौतमले स्वास्थ्य चौकीलाई ४० वाटको सोलार सेट, सुत्केरी गराउन आवश्यक पर्ने टेवल, गर्भमा रहेको शिशुको मुटुको धडकन नाप्ने डोप्लर, भ्याकुम सेट, भोटो टोपी, स्याचुरेशन मेसिन, तौलने मेसिन तथा रक्तचाप जाँच्ने मेसिन प्रदान गरेकी छन् ।
जग्गा, शिविर, स्वास्थ्य सामग्री लगायतका अन्य व्यावस्थापनमा कोषले झण्डै ५० लाख सहयोग गरेको सदस्य सुजन चन्द्र गौतमले बताउनुभयो । साथै उहाँले आगामी बर्ष सबै महिलाको पाठेघरको समस्या समाधान कसरी गर्ने भन्ने बिषयमा योजना बनाइरहेको बताउनुभयो । त्यस्तै कोषले महिलाहरुको शसक्तीकरणको लागि हेफरमा आवद्ध महिलाहरुलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।