रुपन्देही । बारा र पर्साका हावाहुरी प्रभावितलाई प्रदेश ५ सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । प्रदेश ५ मन्त्रिपरिषद् बैठकले हावाहुरी प्रभावितलाई उल्लेखित रकम दिने निर्णय गरेको हो । राहत रकम प्रदेश २ सरकारलाई पठाउने निर्णय भएको भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को बैठकले अस्वस्थ रहनुभएका कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको उपचारका लागि ५ लाख सहयोग गर्ने निर्णय गरेको छ । क्यान्सर रोगले ग्रस्त हुनुभएका पोखरेलको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
सरकारले प्रदेश सभाका सदस्यको जीवन बीमा गर्ने निर्णय समेत गरेको छ । एकजना बराबर १० लाखको स्वास्थ्य बीमा गर्ने निर्णय गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो । बैठकले प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँसभा÷नगरसभाको कार्यसञ्चालन कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय भएको छ ।
प्रदेशको आवधिक योजनाको आधारपत्र ०७६÷७७ —०८०÷८१ र प्रदेश अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन स्वीकृत गर्ने, कानून मस्यौदा तथा सुझाव आयोगको कार्यविधि थप गर्ने र आयोगका अध्यक्ष तथा सदस्यको म्याद थप गर्ने तथा प्रदेशको घरेलु सौर्य ऊर्जा प्रणाली अनुदान कार्यविधि स्वीकृति गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।
बैठकले बाँकेको खजुरा गाउँपालिकाको केन्द्र परिवर्तन गरी बागेश्वरीमा रहेको वडा नम्बर ३ स्थित बागमती नगरमा कायम गर्न गाउँपालिकाले गरेको प्रस्ताव सरकार समक्ष पठाउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।